बजेट वक्तव्यमा उल्लेख भए अनुसार वीरगञ्जमा चिनी मिल सञ्चालन भए आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने सांसद श्रीवास्तवको घोषणा
वि.सं.२०७९ जेठ १८ बुधवार १५:३३
shares

काठमाडौं ।लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद बिमल प्रसाद श्रीवास्तवले बजेट वक्तव्यमा उल्लेख भए अनुसार वीरगञ्जमा चिनी मिल सञ्चालन भए आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरेका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रीवास्तवले बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने उद्घोष हुनु स्वागतयोग्य भएको बताए । आगामी आर्थिक वर्ष भित्र वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन भएमा आफ्नो नाममा रहेको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरेका हुन् ।
‘यदि यो साल वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन हुन्छ भने म त्यति सम्पन्न व्यक्ति होइन, म सँग पैसा पनि छैन । तर यो दुईवटा सञ्चालन भयो भने मेरो नामको एउटा घर छ त्यो घर या त सरकारको नाममा पास गरिदिन्छु अथवा त्यो घर बेचेर भएपनि एक करोड, डेढ करोड जति पैसा हुन्छ म यो सरकारलाई वीरगञ्जको चिनी मिल र कृषि औजार सञ्चालनका लागि व्यक्तिगत रुपले सहयोग गर्ने प्रतीज्ञा गर्छु’ उनले भने ।
उनले आगामी आर्थिक वर्षको बजेटमा सत्तापक्षकै सांसदहरुको असन्तुष्टि रहेको उल्लेख गर्दै बजेट झारा टार्ने किसिमले मात्रै ल्याइएको बताए ।






































