बजेट कार्यान्यन हुनै सक्दैन : अर्थविद्हरू
वि.सं.२०७९ जेठ १९ बिहीवार ०७:३०
shares

काठमाडौँ – अर्थविद्हरुले सरकारले कार्यान्वयन हुनै नसक्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन्। अर्थविद्हरु प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेल, डा. गोविन्द नेपाल, डा. पोषराज पाण्डेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोतको अभाव हुने औंल्याएका हुन्।
बजेट कार्यान्वयनका लागि स्रोतको सुनिश्चितता नभएको र त्यसका लागि काम गर्ने तौरतरिका पनि मुलुकमा मिलिनसकेको अर्थविद् प्याकुरेलले बताए। सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट बारे बुधबार काठमाडौँमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले दलहरुले आफ्नो पपुलारिटीका लागि बजेट ल्याउन सक्ने तर त्यसको पनि सीमा हुनुपर्ने बताए। अर्थविद् प्याकुरेलले भने, ‘यो बजेट कार्यान्वयनका लागि स्रोत सुनिश्चितता पनि छैन। काम गर्ने तौरतरिका पनि हाम्रो मिलिसकेको छैन।’
१८ खर्ब यो बजेट कार्यान्वयनका लागि केही पनि नभएको अर्का अर्थविद् डा. गोविन्द नेपालले बताए। उनले बजेट महत्वकांक्षी भएको उल्लेख गर्दै त्यसका लागि रकम ज्यादै न्यून भएको बताए। अर्थविद् नेपाल भने, ‘१८ खर्ब यो बजेट कार्यान्वयनका लागि केही पनि होइन। यो बजेटमा देखाइएका जति पनि विषयहरु छन्। १८ खर्बले काम लाग्दैन। यो कार्यान्वयन हुने देखिँदैन। बजेट महत्वकांक्षी छ। रकम अत्यन्तै न्यून छ।’
अर्थविद् डा. पोषराज पाण्डेले बजेटमा स्वदेशी बस्तुको प्रवर्द्धनको कुरा गरिए पनि त्यो के हो भन्ने नखुलेको बताए। उनले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने कुरा बजेटमा आए पनि त्यसको वेआउट नभएको भन्दै असन्तुष्टि व्यक्त गरे।
पाण्डेले भने, ‘स्वदेशी बस्तु र आत्मनिर्भर अर्थतन्त्रको विषयलाई खुला नराखौँ है। कुन सेक्टरमा कसरी हुन्छ? भन्ने कुरालाई चाहीँ डिफाइन हुनुपर्यो। यसको वे निर्धारण गरेर ज्यादा मात्रै स्वदेशी बस्तुको प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिन्छ।’ अर्थविद् पाण्डेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा खर्च धान्ने क्षेत्रहरुको उल्लेख नगरिएको समेत बताए।




































