बुटवल उपमहानगर कार्यपालिकामा कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन विजयी
वि.सं.२०७९ जेठ २० शुक्रवार ११:१९
shares

बुटवल ।बुटवल उपमहानगरपालिकाको कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन विजयी भएको छ । ५ जना महिला तथा ३ जना दलित र अल्पसंख्यक सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई पराजित गर्दै आठै जना उम्मेदवार गठबन्धनका विजयी भएका छन् ।
यो सँगै बुटवल उपमहानगरको २९ सदस्यीय कार्यपालिकामा गठबन्धनको दुई तिहाइ बहुमत पुगेको छ । कार्यपालिकामा गठबन्धनका २३ जना र एमालेका ६ जना सदस्य रहेका छन् ।बिहीबार भएको निर्वाचन बाट महिला सदस्यहरुमा हेमा थामी मगर, निलम गौतम, बसन्ती विक, राधा पौडेल र रिना भुसाल निर्वाचित भएका छन् । उनीहरु सबै नेपाली कांग्रेसका हुन् ।
दलित र अल्पसंख्यक तर्फ नेकपा एकीकृत समाजवादीका यमबहादुर सुनार, जनता समाजवादी पार्टीका सुनिता खड्लुक र राष्ट्रिय जनमोर्चाबाट कृष्णबहादुर सुनार निर्वाचित भएका निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए ।
१९ वटा वडा रहेको बुटवलमा नेपाली कांग्रेसले नगर प्रमुख सहित ११ वटा वडामा वडाध्यक्ष जितेको छ भने नेकपा एमालेले उपप्रमुख सहित ५ वटा वडाध्यक्ष जितेको छ । नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र स्वतन्त्रले एक–एक वडाध्यक्ष जितेका छन् ।




































