वीरगञ्जको विकासमा संघीय सरकारले सौतेनी व्यवहार गर्यो : मेयर राजेशमान सिंह
वि.सं.२०७९ जेठ २१ शनिवार १५:१९
shares

पर्सा ।वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जको विकासमा संघीय सरकारले सौतेनी व्यवहार गरेको आरोप लगाएका छन् । वीरगञ्जमा शनिवार भएको उद्योग वाणिज्य संघको ४६ औं साधारणसभामा बोल्दै उनले केन्द्र सरकारले अघिल्लो वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि ५ करोड बजेट कम पठाएको बताए ।
उनले वीरगञ्ज बाट केन्द्रले धेरै राजश्व लिएर जाने तर बजेट भने कम दिएकोमा अचम्म लागेको बताए । उनले सो व्यवहारमा परिवर्तन आउनुपर्ने बताए । साथै सिंहले वीरगञ्जमा चिनी कारखाना रहेको, कृषि औजार कारखाना रहेकोले त्यसलाई चालू गर्न आग्रह गर्दै वीरगञ्जका युवाहरुलाई रोजगारी दिन अर्थमन्त्रीलाई आग्रह गरे ।
उनले एक जना सांसदले वीरगञ्जमा चिनी मिल चल्यो भने आफ्नो घर नै पास गरेर दिने चुनौती दिएको बताउँदै वीरगञ्जका उद्योगी व्यापारीलाई मिल चलाउनका लागि आग्रह गरे । वीरगञ्जमा औद्योगिक करिडोरहरु रहेपनि उद्योग सञ्चालनका लागि सहयोग नगरि सरकारले राजस्व उठाउने काम मात्र गरेको आरोप लगाए ।






































