पुनः निर्वाचन गर्नका लागि बाजुरामा सीडीओ सहित सुरक्षाकर्मीको नेतृत्व फेरियो
वि.सं.२०७९ जेठ २३ सोमवार १२:०१
shares

काठमाडौं ।बाजुराको बुढीगंगा नगरपालिकामा यही जेठ महिना भित्र निर्वाचन सम्पन्न गर्ने गरी तयारी थालेको निर्वाचन आयोगले जनाएको छ । पुनः निर्वाचन गर्नका लागि नयाँ निर्वाचन अधिकृत तोकिएको छ भने प्रमुख जिल्ला अधिकारी सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व पनि नयाँ पठाइएको छ ।
पहिलेका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको सट्टा प्रकाशचन्द्र अधिकारीलाई बाजुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । यसैगरी नेपाल प्रहरीको डिएसपी सूर्यबहादुर थापा र सशस्त्र प्रहरीको डीएसपी गंगादत्त पन्तलाई बाजुरा पठाइएको छ । निर्वाचन अधिकृतको रुपमा लक्ष्मण बहादुर कडायतलाई पठाइएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले भने, ‘निर्वाचन आयोगले तोकेको मितिमा निर्वाचन सम्पन्न गर्ने गरी हामी पूर्ण तयारीका बसेका छौं ।’
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यही जेठ महिना भित्र निर्वाचन सम्पन्न गर्ने तयारी अनुसार नयाँ सुरक्षा टोली, नयाँ निर्वाचन अधिकृत लगायत निश्चित भइसकेको जानकारी दिए । यसैगरी निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका लगायतका सामग्री समेत बाजुरा पठाइसकिएको उनले बताए ।
बूढीगंगामा गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन विवादित भएपछि पुनः निर्वाचन गर्न लागिएको हो । बूढीगंगाका केही वडाहरुमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि मतगणना हुन सकेको थिएन । स्थिति असहज भएपछि त्यहाँका निर्वाचन अधिकृत नै फिर्ता भएका थिए ।





































