kumari
stcnepal

सरकारकै कारण नेपालको प्रतिष्ठा र विश्वास गुम्दै

देवेन्द्र चुडाल
विगत एक वर्ष देखि मुलुकमा पाँच दलीय गठबन्धन रहेको छ । त्यही गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सरकार अहिले सञ्चालित भएको छ । पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । राष्ट्रिय जनमोर्चा संघीय सरकारमा सहभागि नभएको भएपनि केही प्रदेश सरकारमा सहभागि भएको हुनाले उ पनि अन्य दल जत्तिकै दोषी रहेको छ ।
पाँच दलीय गठबन्धन मुलुकको हित र विकासका लागि नभएर सत्ता हत्याउनैका लागि गठबन्धन भएको विस्तारै प्रमाणित हुँदै गएको छ । जनताका जल्लाबल्दा समस्याहरु समाधान गर्न देउवा सरकार असफल सावित भएको छ । तर देउवा सरकार त्यसलाई स्वीकार गर्न तयार देखिएको छैन ।
गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा पनि पाँच दलीय गठबन्धन नै गरेर निर्वाचनमा गएको र त्यसको सबैभन्दा बढी फाइदा नेपाली कांग्रेसले उठाएको हुनाले ऊ हौसिएको छ । नेपाली कांग्रसले सबैभन्दा बढी स्थानीय तह जितेर पहिलो ठुलो पार्टी बन्न सफल भएको छ ।
गठबन्धनमा रहेका अन्य दलहरु मध्येको माओवादी केन्द्रले समेत गठबन्धनको राम्रै फाइदा उठाएको भएपनि नेकपा एकीकृत समाजवादी लगायतका अन्य दलले गठबन्धनको फाइदा उठाउन सकेनन् । नेकपा एकीकृतलाई जनताले म्यान्डेट दिएर होइन प्रधानमन्त्री शेर बहादुर देउवाले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर देउवाकै सहयोगमा पार्टी गठन भएको हो ।
शेरबहादुर देउवा सरकारलाई पनि जनताले सरकार सञ्चालन गर्ने म्यान्डेट दिएका होइनन स्वयम् देउवा सर्बोच्च अदालतको सम्वैधानिक इजलासको २०७८ असार २८ गतेको पमारदेशका अनुसार प्रधानमन्त्री बनेका हुन् । त्यही कारणले गर्दा उनले जनतालाई विश्वास गर्न सकिरहेका छैनन् । स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेपनि त्यो कृत्रिम मात्र हो ।
गठबन्धन गरेर निर्वाचनमा गएको हुनाले कांग्रेसलाई पहिलो ठुलो पार्टी बनाउने सवालमा गठबन्धनमा रहेका दलहरुको पनि महत्वपूर्ण भूमिका रहेको छ । माओवादी केन्द्र र नेकपा एकीकृतको जितमा पनि कांग्रेसको भूमिका रहेकाले गर्दा कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अहिले आएर आ आफ्ना पार्टीले यति मत प्राप्त ग¥यो भन्नुको कुनै औचित्य देखिँदैन ।
पार्टीको अवस्था कस्तो छ ? जनताको पार्टीप्रतिको धारणा कस्तो रहेछ भनेर उनीहरुले जान्न चाहेका भए उनीहरु एक्लाएक्लै निर्वाचनमा जान्थे तर उनीहरु एक्लाएक्लै निर्वाचनमा जानै चाहेनन् किन कि उनीहरुलाई नेकपा एमालेको डर थियो । नेकपा एमालेको जनतामा राम्रो प्रभाव रहेकाले गर्दा नै उनीहरु गठबन्धन बनाएर निर्वाचनमा जानु उनीहरुको बाध्यता रहेको थियो ।
त्यही कारणले गर्दा उनीहरु गठबन्धन बनाएर निर्वाचनमा गएका हुनाले अहिले उनीहरुले नाक फुलाउने मौका पाएको सत्य वास्तविकता हो । यसलाई इन्कार गर्न सक्ने अवस्थामा उनीहरु छैनन् ।
गठबन्धनमा रहेका दलहरु पछिल्लो समयमा एकले अर्कोलाई गलाएर आफ्नो दलले बढी फाइदा लिने रणनीतिमा लागि परेका छन् । आउँदो कार्तिकको अन्त्य वा मंसिरको पहिला हप्तामा संघीय संसद र प्रदेशसभाको निर्वाचन हुने प्रायः निश्चित जस्तै रहेकाले गठबन्धनकारी दलहरु त्यहाँपनि गठबन्धन नै गरेर निर्वाचनमा जाने मनस्थितिमा पुगेका छन् ।
उनीहरु संघीय संसद र प्रदेशसभाको निर्वाचनमा पनि एक्ला एक्लै निर्वाचनमा जान सक्ने अवस्थामा देखिएका छैनन् । अर्थात उनीहरुलाई जनताको विश्वास नभएकै कारण एमालेसँग भिड्न पाँच दलीय गठबन्धन नै लागि परेको छ । तर पछिल्लो समयमा गठबन्धनमा रहेका दल मध्येको नेकपा एकीकृत समाजवादीले आफूहरुलाई कांग्रेस र माओवादी केन्द्रले धोका दिएको बताउँदै आएको भएपनि ऊ फेरी गठबन्धनकै पक्षमा रहेको बताईरहेको छ । त्यसको एउटै कारण हो चुनावमा जाँदा नराम्रो पराजय भोगिने डर ।
स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई धुलो चटाउने अभिव्यक्ति दिँदै आएका नेकपा एसका अध्यक्ष माधव नेपाल आफैँले धुलो चाटेका छन् । ७ सय ५३ वटा स्थानीय तह मध्येका २० वटामा मात्र गठबन्धनको सहारामा निर्वाचन जितेका नेपालले एक्लै निर्वाचनमा गएको अवस्था थियो भने उनको पार्टी शुन्य अवस्थामा रहने निश्चित जस्तै भएको स्थानीय तहको परिणामले देखाएको छ ।
पाँच दलीय गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो वा दोस्रो हुने उद्घोष गर्दै आएका भएपनि उनको पार्टी भने तेस्रो स्थानमा रहन बाध्य भयो । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा समेत माओवादी केन्द्र तेस्रो स्थानमा रहेको थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन अघि भनेको थिए, स्थानीय तहको निर्वाचन पछि नेकपा एमालेलाई वत्ती बालेर खोज्नुपर्ने हुन्छ भनेर तर दाहालको अभिव्यक्ति ठीक विपरित नेकपा एमालेले सबैभन्दा बढी पपुलर मत ल्याएको र पार्टीगत हैसियतमा समेत माओवादीको भन्दा झण्डै दोब्बर स्थानीय तहमा जित हाँसिल गरेका हुनाले दाहालको झुठो अभिव्यक्तिको पोल खुलेको छ ।
माओवादी केन्द्र एक्लै निर्वाचनमा जान सक्ने अवस्थामा नरहेकोले गर्दा ऊ समेत कांग्रेसको पिछलग्गु भएर निर्वाचनमा जान चाहिरहेको छ । नेपाल र नेपाली जनताको लागि पाँच दलीय गठबन्धन बनेको होइन यो गठबन्धन सत्ता हत्याउनका लागि मात्र निर्माण गरिएको हुनाले पाँच दलीय गठबन्धनको निर्माण पछि मुलुकको राष्ट्रियता कमजोर भएको छ भने परराष्ट्रनीति समेत असफलताको मार्गतर्फ उन्मुख हुँदै आएको छ ।
नेपालले अंगालेको परराष्ट्र नीतिको विरुद्ध देउवा सरकार अघि बढेको छ । नेपालको भूराजनीतिक अवस्थाको ख्यालै नगरि देउवा सरकारले परराष्ट्र नीति सञ्चालन गरेको हुनाले विश्वसामू नेपालको साख गिरेको छ । पाँच दलीय गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले समेत पछिल्लो समयमा पाँच दलीय गठबन्धन निर्माण पछि र देउवा सरकारको कारण राष्ट्रियतामाथि खतरा झनै बढेको बताएका छन् ।
नेता खनालले आफ्नै दलको सरकारमा सहभागि भएको भएपनि गठबन्धन बनेपछि राष्ट्रियतामाथि खतरा बढेको ठोकुवा समेत गरेका हुनाले ढिलै भएपनि खनालको आँखा खुलेको जस्तो देखिएको छ । यदि खनाललाई मुलुक प्यारो छ भने तत्काल उनको पार्टी सत्ताबाट बाहिर आएर राष्ट्रियतालाई बलियो बनाउने पक्षमा अघि बढ्न सक्नुपर्दछ ।
यदि खनालले साँच्चिकै खतरा देखेका हुन् भने र उनलाई जनतामाथि विश्वास छ भने उनको पार्टीले तत्काल गठबन्धन तोडेर एक्लै निर्वाचनमा जाने हिम्मत गर्नु आजको आवश्यकता हो । यदि त्यसो हुन सक्दैन भने खनालपनि व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि मात्र त्यस्तो बोलिरहेको छन् भनेर जनताले किन नभन्ने ?
पाँच दलीय गठबन्धनको सरकार रहेकै बेला एमसीसीलाई पारित गराउने रणनीतिमा दाहाल–नेपालले प्रधानमन्त्री देउवालाई सहयोग गरेका थिए एमसीसीमा सही गर्ने व्यक्ति अहिले पनि मन्त्री रहेका छन् । जनताको व्यापक दबाब पछि जनतालाई झुक्याउनका लागि व्याख्यात्मक घोषणाको नौटंकी गरियो, व्याख्यात्मक घोषणालाई अमेरिकी सरकारले समर्थन गरेको सूचना जनतालाई दिन सरकार असफल रहेको छ ।
अमेरिकी सरकारले व्याख्यात्मक घोषणालाई अस्वीकार गरेर एसपीपी नामक अर्को जाल नेपालमाथि फ्याक्यो त्यसको पनि व्यापक विरोध भएपछि त्यसलाई अस्वीकार गर्ने निर्णय गर्न सरकार बाध्य भयो । एमसीसीकै अभिन्न अङ्ग एसपीपी भएकाले त्यो अस्वीकार गर्न सरकार बाध्य भएको छ त्यो पनि जनताकै दबाबमा । एमसीसी नेपालको हितमा छ, अमेरिकी सेना नेपाल आएमा मलाई मुडेर काठमाडौबाट बाहिर पठाइयोस्, सम्पत्ति सरकारीकरण गरियोस्, नेपाली नागरिक खोसियोस् भन्ने व्यक्ति आज कुन दुलोमा पसेका छन् ?
एसपीपी पारित गरिएको भए अमेरिकी सेना नेपालको उच्च भूभागमा परेड खेल्न आउने निश्चित जस्तै रहेको एसपीपीको मस्यौदामा नै उल्लेख भएको छ । एसपीपीकै अभिन्न अङ्गका रुपमा इन्डोप्यासिफिक अन्र्तगत एसपीपी परियोजना ल्याइएको प्रष्ट हुँदाहुँदै त्यसलाई व्याख्यात्मक घोषणाको नौटंकी गरियो । एसपीपीमा हस्ताक्षर गर्ने व्यक्ति अहिले पनि मन्त्री रहेकाले आफूले सही गरेको सम्झौतालाई व्याख्यात्मक घोषणाको नौटंकी गर्दा मन्त्रीले नैतिकताका आधारमा किन राजिनामा दिएनन् ?
पछिल्लो समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो कारणले एमसीसीमा व्याख्यात्मक घोषणा गरिएको र एसपीपीमा सहभागि नहुने निर्णय गरिएको भन्दै आफ्नो बचाउमा लागेका भएपनि दाहालको भनाईमा कुनै सत्यता छैन । यसरी पाँच दलीय गठबन्धन र देउवा सरकारको पालामा राष्ट्रघात गर्ने धेरै प्रयास गरिएका छन् ।
जनताको दबाब थेग्न नसक्ने अवस्था भएपछि पाँच दलीय गठबन्ध र देउवा सरकार पछि हट्न बाध्य भएका हुन् । यी सबै तथ्यहरुले प्रमाणित हुन्छ देउवा सरकार आएपछि नेपालको विश्वसामू प्रतिष्ठामा कमी आएको र राष्ट्रियतालाई कमजोर पार्ने प्रयास भईरहेको छ । सावधान नेपाली जनता पाँच दलीय गठबन्धन र देउवा सरकार नेपाल र नेपाली जनताको हितमा छैन, सजग रहौँ, राष्ट्रियता बचाऔं ।

 

footer