kumari
stcnepal

सिट बाँडफाँड गर्न कांग्रेसलाई सकस, एकीकृत समाजवादी रुष्ट

 

काठमाडौ । पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा पाएको सफलतालाई मध्यनजर गरेर आउँदो कार्तिकको अन्तिम हप्ता वा मंसिरको पहिलो हप्तामा हुन सक्ने प्रदेशसभा र संघीय संसदको निर्वाचनमा समेत गठबन्धन नै गरेर जाने सहमति गरेका भए पनि भागवण्डा गर्न गठबन्धनलाई महाभारत हुने अवस्था देखिएको छ ।
सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले कम्तिमा ६० प्रतिशत अर्थात प्रतिनिधिसभाको प्रत्यक्षतर्फ रहेको १ सय ६५ सिट मध्ये घटीमा ९९ सिट लिएर बाँकी सिट गठबन्धनमा रहेका दलहरुलाई दिने मनसाय देखाएपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी झस्किएका छन् ।
कांग्रेसका नेताहरुले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवालाई ६० प्रतिशत भन्दा कम सिटमा सहमति नगर्न दबाब दिईरहेका हुनाले सिटको बाँडफाँड गर्न फलामको च्युरा पाउनु सरह हुन सक्छ ।
गठबन्धनमा रहेका दलहरु मध्येको जसपा विभाजनको अवस्थामा पुगेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय अध्यक्ष डा. बाबुराम भट्टराईबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । जसपा विभाजित भएको अवस्थामा जसपा गठबन्धनमा रहने कि नरहने र डा. भट्टराईले नेतृत्व गर्ने दलको अवस्था कस्तो हुने ?
त्यो एकिन हुन सकेको छैन । माओवादी केन्द्रले अहिले आफुसँग भएको संख्या भन्दा ३ सिट बढी बढाएर ५२ सिट आफ्नो पार्टीले पाउनपर्ने अडानमा रहेको छ भने नेकपा एकीकृत समाजवादी पार्टीले समेत आफ्नो पार्टीले घटीमा ३० सिट पाउनुपर्ने बताइरहेको छ ।
यी दुवै पार्टीले मागेको संख्या ६५ भन्दा बढी भएको र गठबन्धनमा रहेका जता समाजवादी र राष्ट्रिय जनमोर्चालाई समेत केही सिट दिनुपर्ने भएकाले सिट बाँडफाँड गर्न सहज अवस्था देखिएको छैन ।
माओवादी र एकीकृत समाजवादीले भने पहिला आ आफूँले जितेका निर्वाचन क्षेत्रलाई यथावत राखी नेकपा एमालेले जितेका क्षेत्रहरु बाँडफाँड गर्नुपर्ने बताइरहेका छन् तर कांग्रेसले भने त्यस विषयमा केही प्रष्ट पारेको छ । सिट बाँडफाँका विषयमा छलफल गर्न कांग्रेसले यही असार २० गते केन्द्रीय समितिको बैठक बोलाउने भएको छ ।
कांग्रेसको केन्द्रीय समितिले गर्ने निर्णयले सिट बाँडफाँडको अवस्था प्रष्ट हुन सक्छ । निर्वाचन आयोगले सरकारलाई तत्काल निर्वाचनको मिति घोषणा गर्न आग्रह गरिरहेका भएपनि प्रधानमन्त्री देउवा भने मधेशवादी दलहरुलाई खुसी पार्न यहि अधिवेशनबाट नागरिकतासमबन्धी विधेयक पारित गराउन चाहिरहेका छन् ।
संसदबाट नागरिकता विधेयक पारित भएपश्चात् संसदको अधिवेशन बन्द गराउने रणनीतिमा देउवा लागि परेका छन् । केही दिन पहिला लोकतान्त्रिक समाजवादीका नेताहरुले प्रधानमन्त्रीलाई भेटेर नागरिकता विधेयक तत्काल पारित गराउन ज्ञापनपत्र नै बुझाएका थिए ।
ज्ञापनपत्र बुझ्दै प्रधानमनत्री देउवाले यहि अधिवेशनबाट नागरिकता विधेयक पारित गराउने आश्वासन लोसपाका नेताहरुलाई दिएका थिए । प्रधानमन्त्रीको बुझाईमा नागरिकता विधेयक यहि अधिवेशनबाट पारित गराएपछि लोसपा पनि सरकारमा सहभागि हुने भएकाले निर्वाचन जित्न सहज हुने र नेकपा एमाले पराजित हुने ठहर उनले गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समेत कम्तिमा ६० प्रतिशत सिट लिएर चुनावमा तालमेल गर्नुपर्ने बताउँदै आएका छन् । ६० प्रतिशत भन्दा तल झरेर कांग्रेसले सहमति गर्नै नसक्ने उद्घोष उनीहरुले गर्दै आएका छन् ।
माओवादी केन्द्रले भने कांग्रेसलाई ठीक साइजमा राख्ने भन्दै यदि आफूले माग गरेको सिट संख्या नदिएको खण्डमा आफ्नो पार्टीले नेकपा एमालेसँग गठबन्धन गर्न सक्ने भन्दै कांग्रेसलाई धम्क्याईरहेको छ । त्यही कारणले गर्दा कांग्रेसले गठबन्धनमा रहेका अन्य दलहरुलाई वेवास्ता गर्न थालेको छ । कांग्रेस सूत्रका अनुसार गठबन्धनमा रहेका दलहरुबीचमा सिट बाँडफाँडमा कुरा नमिलेको खण्डमा कांग्रेसले माओवादी केन्द्रसँग मात्र सहमति गरेर निर्वाचनमा जान सक्छ ।
कांग्रेसले आफ्नो पार्टीलाई खासै वास्ता नगरेको भन्दै माधव नेपालले कार्यकर्ता भेलामा आफ्नो पार्टीले सबै १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने बताईसकेका छन् त्यो पनि कांग्रेसलाई तर्साउने एक प्रकारको रणनीति नै हो । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई धुलो चटाउने उद्घोष गरेका माधव नेपाल आफैँ धुलो पिठो भएका छन् ।
गठबन्धनको सहयोगमा २० स्थानीय तहको निर्वाचनमा जित हाँसिल गरेको नेकपा एकीकृतले आफूले एक्लै निर्वाचन लडेको भए २० लाख मत ल्याइने रहेछ भन्ने अभिव्यक्ति समेत नेपालले दिएका छन् । पाँच दलीय गठबन्धन गरेर गठबन्धनको सहयोगमा केही मत ल्याएको एकीकृत पार्टीले २० लाख मत ल्याउनु भनेको आकाश खस्नु सरह हो ।
संसदमा १ सय २१ सिट रहेको नेकपाबाट विभाजित हुँदा जम्मा २४ सांसद लिएर गएका माधवले कांग्रेस–माओवादी केन्द्रको रणनीति बुझेर २० लाख मतको कुरा उठाएका हुन सक्छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी अहिलेकै अवसमा सरकारमा जाने सम्भावना न्यून देखिएको छ । उसले जनता समाजवादी पार्टीसँग एकीकरण गर्न सक्ने सम्भावना समेत नरहेकोले प्रदेशसभा र संघीय संसदको निर्वाचनमा लोसपाले नेकपा एमालेसँग तालमेल गर्न सक्ने सम्भावना समेत रहेको छ भने अन्य केही साना दलहरुले समेत एमालेसँग तालमेल गर्न सक्ने अवस्था देखिएको छ ।
कांग्रेस र माओवादी केन्द्रले मात्र सहमति गरेर चुनावमा गएको खण्डमा माधव नेपालले पार्टी, जसपा र राष्ट्रिय जनमोर्चा धुलो पिठो हुन सक्ने सम्भावना जिवितै रहेको छ ।

footer