निजगढमा दुईवटा रनवे सहितको सुविधा सम्पन्न बिमानस्थल बनाउँछौं : प्रधानमन्त्री देउवा
वि.सं.२०७९ असार १८ शनिवार १५:१४
shares

बारा ।प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताउनु भएको छ । निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको निरीक्षणमा सत्ता साझेदार दलका अध्यक्ष सहित आउनु भएका प्रधानमन्त्री देउवाले सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको एकदमै खाँचो रहेको भन्दै सो जानकारी दिनुभएको हो ।
सत्ता गठबन्धनका शीर्ष नेताहरु सँग विमानस्थल निर्माण क्षेत्रको हवाई निरीक्षण गरेपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘दुइटा रनवे सहित विमानस्थल बनाउँछौं । त्यसका लागि विज्ञ सँग छलफल गरिरहेका छौं । कम क्षतिमा जसरी पनि विमानस्थल स्थापना गर्न थालेको क्षेत्रमा विमानस्थल निर्माण गर्छौं ।’
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालत बाट विमानस्थल निर्माणमा कुनै रोकावट गर्ने आदेश नआएको बताउनु भयो । ‘अदालत बाट विमानस्थल अवरुद्ध गर्ने कुनै आदेश छैन । विमानस्थल बन्छ । निजगढ एयरपोर्ट राष्ट्रिय गौरवको एउटा ड्रिम प्रोजेक्ट पनि हो,’ उहााल्े भन्नुभयो । काठमाडौं–निजगढ फास्टट्य्राकको डीपीआरमै पनि निजगढ विमानस्थलको आवश्यकतालाई मध्यनजर गरेर तयार पारिएको उहाँको भनाई छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि निजगढमा विमानस्थल बनाउनुपर्नेमा जोड दिनुभयो । नेपालले विमानस्थल बनाउन अदालत बाट पनि बाटो खुलेको पनि बताउनु भयो । ‘अदालत बाट यसको बाटो खुला भएको छ । प्राकृतिक स्रोत साधनको कम क्षति सहित विमानस्थल बनाउनुपर्छ,’ नेपालले भन्नुभयो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भविष्यलाई समेत हेरेर आयोजना निर्माण गरिनुपर्ने बताउनु भयो । निजगढमा रहेका पुराना बस्तीलाई जोगाएर आयोजना अगाडि बढाउनुपर्नेमा र आयोजना निर्माणमा सबैले सहयोग गर्नुपर्ने यादवको भनाई छ ।
भ्रमण टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव र खानेपानी मन्त्री उमाकान्त चौधरी पनि हुनुहुन्छ । शीर्ष नेताहरूलाई विमानस्थल निर्माण आयोजनाका प्रमुख विजय यादवले ब्रिफिङ गर्नुभएको थियो ।





































