प्रधानन्यायाधीश जबरा विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव बारे संसदमा छिट्टै छलफल हुन्छ : कानुनमन्त्री बन्दी
वि.सं.२०७९ असार २० सोमवार २०:०७
shares

काठमाडौं ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव बारे संसदमा छिट्टै छलफल हुने बताएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सो महाअभियोग प्रस्ताव तत्काल छलफलमा ल्याउन सरकारलाई दबाव दिइरहेका बेला कानुनमन्त्री बन्दीले बजेट छलफलका कारण महाअभियोग प्रस्ताव छलफलमा ढिलाइ भएको दावी गरे ।
‘संसदको बजेट पारित गराउनुपर्ने पहिलो दायित्व थियो । अब त्यो पास भइसकेको छ । बजेट पास भइसकेपछि बाँकी रहेको विधेयकहरु आउँदैछ । साथ साथै महाअभियोगलाई पनि छिट्टै हामी संसदमा छलफल गराउँदैछौं । संसदमा छलफल गराउने कुरामा चाहिँ कार्य व्यवस्था परामर्श समितिमा छलफल पनि चलिराखेको छ । अब त्यो धेरैबेर रहन्न’ उनले भने ।
प्रधानन्यायाधीश जबरा विरुद्धको महाअभियोग प्रस्ताव संसदको यसै अधिवेशनमा छलफल भएर टुंगो लाग्ने मन्त्री बन्दीले बताए । ‘यही अधिवेशनमा त्यो छलफल भएर उहाँ विरुद्ध लगाएको आरोपहरु के–के हुन, त्यो आरोप सँग सम्बद्ध प्रमाणहरु के–के हुन् ? त्यस बारे संसदमा व्यापक छलफल हुन्छ ।’



































