घुस प्रकरणमा मुछिएका कानून व्यवसायी रुद्रप्रसाद पोखरेल सम्पर्क विहीन
वि.सं.२०७९ असार २० सोमवार २०:०४
shares

काठमाडौं । घुस प्रकरणमा मुछिएका कानून व्यवसायी एवं नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल सम्पर्क विहीन भएका छन् । नेपाल कानून व्यवसायी परिषदको सचिवालयले पटक पटक प्रयास गर्दा पनि उनको हातमा म्याद थमाउन सकेको छैन । परिषदको अनुशासन समितिले उनलाई स्पष्टिकरण सहितको म्याद थमाउने प्रयास गरिरहेको छ ।
‘हाम्रो कर्मचारी पटकपटक उहाँको अनामनगर स्थित कार्यालयमा जानुभएको रहेछ, कार्यालय बन्द छ’, नेपाल कानून व्यवसायी परिषदका एक सदस्यले भने, ‘फोन स्विच अफ भएको छ, उहाँ सम्पर्कमा हुनुहुन्न । केही नलागेपछि हामीले हुलाक बाट रजिष्टर्ड गरेर चिठी पठाएका छौं ।’ परिषदको सचिवालयले अहिले उनले कानून व्यवसायीको प्रमाणपत्र लिँदाको ठेगानामा चिठी पठाएको हो भने उनको इमेलमा समेत पत्राचार भइसकेको स्रोतले बतायो । हुलाक बाट पठाएको चिठी उनी वा उनको परिवारको सदस्यले बुझ्नुपर्ने हुन्छ । हुलाक बाट समेत चिठी फिर्ता आएमा सञ्चारमाध्यमहरु बाट सार्वजनिक सूचना निकाल्ने तयारी भएको परिषद स्रोतले जनायो ।
महान्यायाधीवक्ता खम्मबहादुर खातीको नेतृत्वमा रहेको नेपाल कानून व्यवसायी परिषदको अनुशासन समितिमा नेपाल बार एसोसिएसनका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ र वरिष्ठ अधिवक्ता डा. रजितभक्त प्रधानाङग सदस्य छन् । समितिले अधिवक्ता पोखरेल सँग स्पष्टिकरण सोध्ने निर्णय गरिसकेको छ ।
कानून व्यवसायीहरुका अनुसार, घटनापछि पोखरेल बहस पैरवीका लागि अदालतमा देखिएका छैनन् । घटना सार्वजनिक भए लगत्तै उनले आफूलाई स्वनिलम्बनमा राख्ने घोषणा गरेका थिए भने छानबिनमा सघाउने प्रतिबद्धता जनाएका थिए ।



































