जसपामा बाबुराम भट्टराई र उपेन्द्र यादवले बोलाए छुटा छुटै बैठक
वि.सं.२०७९ असार २६ आइतवार १५:१३
shares

काठमाडौं ।जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन्।बाबुराम पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् भने उपेन्द्र पक्षले असार २९ र ३० मा वीरगञ्जमा केन्द्रीय समिति बैठक बोलाएका छन्।
बाबुराम निकट नेता विश्वदीप पाण्डेका अनुसार असार २८ र २९ मा बस्ने केन्द्रीय समिति बैठकमा आन्तरिक विषय, स्थानीय चुनाव समीक्षा, संगठन बारे छलफल र आगामी कार्ययोजना बारे छलफल हुनेछ। छलफलका एजेन्डा पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद सदस्यलाई पठाइएको उनले बताए।
बैठकमा बाबुरामले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने तयारी छ। यस्तै उपेन्द्र पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक बस्ने र काठमाडौंमा हुने बैठक वैधानिक नभएको दाबी गरेको छ। केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार वीरगञ्जमा बस्ने बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूलाई सूचना पठाइसकिएको छ। ‘काठमाडौंमा सोही दिन पार्टीको यस प्रकारको कुनै पनि आधिकारिक बैठक नरहेको’ भन्दै उनले विज्ञप्ति जारी गरेका छन्।
जसपा विभाजन उन्मुख छ। संघीय परिषद अध्यक्ष बाबुराम र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र पक्ष बीच सौहार्यपूर्ण वातावरणमा अलग हुने सहमति भएका थिए। जसपाले हालै तीन मन्त्री फिर्ता गरी नयाँ मन्त्री पठाउँदा पनि बाबुराम सँग परामर्श नगरिएको नेताहरू बताउँछन्।




































