kumari
stcnepal

असमान तलव बृद्धिको कर्मचारीको बिरोध, नासुहरूले सिंहदरवारमा गरे पेन डाउन

काठमाडौंं ।अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरुको तलबमान लागू हुने बताएका छन् । बजेट घोषणा विपरीत कर्मचारीहरुको तलब असमान ढंगले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीहरुका नेताहरुले आज अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाव दिएका थिए । उनीहरु सँगको भेटमा मन्त्री शर्माले तत्कालको लागि बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने बताएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।

५ कर्मचारी संगठनका अध्यक्षहरु सँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र नमिलेका विषय ‘पे कमिसन’गठन गरेर मिलाउने प्रतिबद्धता व्यक्त गरेको पोखरेलले बताए । पोखरेल सहित निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि बहादुर रावल, मधेसी कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरी, एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरेले अर्थमन्त्री शर्मालाई भेटेका थिए ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रावलले पनि मन्त्री शर्माले अहिले १५ प्रतिशत तलब वृद्धि लागू गर्ने बताएको जानकारी दिए । साथै मन्त्री शर्माले निजामती सेवा भित्र र बाहिर नमिलेको मर्यादाक्रम लगायतका विषयहरु पनि मिलाउने बताएको रावलको भनाइ छ ।अर्थमन्त्री शर्माले गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा सबै राष्ट्र सेवक कर्मचारीहरुको तलब १५ प्रतिशत वृद्धि गर्ने उल्लेख थियो ।

तर साउन १ गतेदेखि लागु हुने कर्मचारीहरुको नयाँ तलबमान १५ देखि २४ प्रतिशत सम्म वृद्धि भएको विवरण सहितको एक डकुमेन्ट सार्वजनिक भएको छ । अर्थ मन्त्रालयको छाप सहितको सो विवरण अनुसार शाखा अधिकृतहरुले यही साउन महिना देखि २४ प्रतिशत, उपसचिवहरूले २३.३ प्रतिशत, सहसचिवहरूले २३.३ प्रतिशत र सचिवहरूले १८.४ प्रतिशत बढी तलब पाउने छन् । यसको आधिकारिकता भने पुष्टि भइसकेको छैन ।

तर चालकको भन्दा आफूहरुको तलबमान कम भएको भन्दै नासुहरु यसमा असन्तुष्ट छन् । असमान ढंगले तलब वृद्धि गरिंदा आफूहरु मर्कामा परेको भन्दै नासुहरुले आज सिंहदरबा रभित्र ‘पेन डाउन’ गरेका छन् । असमान तलवृद्धिको विरोधमा भोलि (मंगलबार) विदा बस्ने घोषणा समेत उनीहरुले गरेका छन् ।

 

footer