सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्छ : शेखर कोइराला
वि.सं.२०७९ असार ३२ शनिवार १४:४१
shares

चितवन ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनले शनिबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल जारी रहेको बताए । ‘गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ, गठबन्धन गर्दै गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी जानुपर्छ’ उनले भने ।
स्थानीय तहको निर्वाचनमा आफ्ना कार्यकर्ता भन्दा पनि मतदाता कति हुन् भन्ने बुझ्न कठिन भएको उनले बताए । ‘स्थानीय निर्वाचनमा हामीले रुखमा, हसिया हथौडामा, कलममा, छातामा मतदान गर्न भन्यौँ, तर आफ्ना मतदाता कति हुन् भन्ने बुझ्न सकिएन’ नेता कोइरालाले भने ।फरक प्रसङ्गमा उनले नेपाली कांग्रेस कुनै समूहको पार्टी नभएको बताए । पार्टी सभापतिले सबैलाई मिलाएर हिँडाउनुहुन्छ भन्ने आफ्नो चाहना रहेको बताउँदै उनले आफू भागबण्डाका पक्षमा नरहेको जिकिर गरे ।
आफू सँग विचार मिल्ने साथी सँग छलफल गर्दा भाग खोज्यो भन्ने हल्ला रहेको पनि उनको भनाइ थियो । कांग्रेस कम्युनिष्ट प्रवृति बाट जान नहुने भन्दै कोइरालाले सरकार र सभापतिले गरेका नकारात्मक कुराको खण्डन गर्दै पार्टी बलियो बनाएर लैजानुपर्ने बताए । कांग्रेसको नेतृत्वमा सरकार छ भन्दैमा सरकारले गरेका गलत कामको खण्डन गर्नु हुँदैन भन्ने नरहेको उनको भनाइ छ ।





































