kumari
stcnepal

मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको निधन

मेक्सिकोसिटी ।मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको निधन भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा परेर उनीहरूको निधन भएको हो ।लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा परेको मेक्सिकोको नौसेनाले आज जनाएको छ ।

दुर्घटनामा एक जना भने बाँच्न सफल भएका छन् । नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा एकदिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो ।

दुर्घटनामा ज्यान गुमाएकाहरू प्रति नौसेनाले शोक व्यक्त गरेको छ । दुर्घटनाको कारण अज्ञात छ । कथित लागूऔषध तस्करको गिरफ्तारीका कारण उक्त दुर्घटना नभएको नौसेनाले जनाएको छ ।

राफेललाई संयुक्त राज्य अमेरिकाले आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको हत्या गरेकाले निजलाई अमेरिका समक्ष सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ । यसै विषयलाई लिएर मेक्सीको र अमेरिका बीचको सम्बन्ध केही समय तनावपूर्ण भएको थियो ।

 

 

footer