नेपाल–भारत बीच भएको १९५० को सन्धि र ईपीजीको समस्या कूटनीतिक माध्यम बाट समाधान गर्नुपर्छ : प्रचण्ड
वि.सं.२०७९ असार ३२ शनिवार १६:०४
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारत बीच भएको सन् १९५० को सन्धि, सीमा समस्या र प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनको विषय कूटनीतिक माध्यम बाट समाधान गर्नुपर्ने बताएका छन् । भारत भ्रमणमा रहेका उनले शनिबार फाउन्डेशन फर पब्लिक अवार्नेस एण्ड पोलिसीले नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा उनले यी समस्यालाई असल छिमेकीको भावना बाट समाधान गर्न सकिने बताए । ‘सन् १९५० को सन्धि, सीमा समस्या र प्रवुद्ध व्यक्ति समूहको प्रतिवेदनको विषय कूटनीतिक संवादबाट समाधान गर्नुपर्ने आवश्यकता छ । असल छिमेकीको भावना बाटै हामीले समस्या समाधान गर्न सक्छौं’ उनले भनेका छन् ।
पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल–भारत बीचको सम्बन्ध परापूर्वकाल देखिनै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्याम बाट समाधान गर्न सकिने बताए । नेपाल र भारत बीच भएको सन् १९५० को सन्धि पुनरावलोकन लगायतका विषयमा सुझाव दिन दुई देशकै प्रतिनिधिको सहभागितामा प्रवुद्ध व्यक्ति समूह गठन भएको थियो । उक्त समूहले तयार पारेको प्रतिवेदन अहिले सम्म नेपाल र भारत दुबै तर्फको सरकारले बुझेको छैन । पहिले भारतीय प्रधानमन्त्रीले र त्यसपछि नेपालका प्रतिनिधिले बुझ्ने भनिए पनि भारतीय प्रधानमन्त्रीले अहिले सम्म समय दिएका छैनन् ।
अध्यक्ष प्रचण्डले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारत सँग आग्रह गरे । उनले नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको पनि बताए । सत्तारुढ भारतीय जनता पार्टीको निमन्त्रणामा प्रचण्ड भारत भ्रमणमा गएका हुन् । यस क्रममा उनले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकर सँग भेट गरेका छन् । उनले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेट गर्नेछन् ।





































