प्रतिनिधिसभा र प्रदेशसभा चुनावी तालमेल बारे छलफल गर्न जनता प्रगतिशील पार्टीले बनायो वार्ता समिति
वि.सं.२०७९ साउन ७ शनिवार १७:४६
shares

काठमाडौं ।जनता प्रगतिशील पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन र तालमेलका लागि छलफल गर्न वार्ता समिति गठन गरेको छ । पार्टीको शनिबार बसेको केन्द्रीय पदाधिकारीको विस्तारित बैठकले वरिष्ठ उपाध्यक्ष डा. शिवजी यादवको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा उपाध्यक्ष साविर हुसेन र बाबा सरकार श्रेष्ठ रहेका छन् ।
अध्यक्ष हृदयेश त्रिपाठीका अनुसार समितिले आगामी निर्वाचनमा चुनावी गठबन्धन र तालमेलका विषयमा अरु राजनीतिक दल सँग वार्ता गर्नेछ । आफूहरुले अहिले पार्टी एकताको तयारी नगरेको त्रिपाठीले बताए । जनता प्रगतिशील पार्टीले प्रतिनिधिसभा बाट शुक्रबार नागरिकता विधेयक पारित भएकामा खुशी व्यक्त गरेको छ । यो विधेयकलाई राष्ट्रियसभा बाट पनि यथाशीघ्र पारित गर्नुपर्ने उसले बताएको हो ।
जनता प्रगतिशील पार्टीले कैलाली बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीको रिहाइ गर्न पनि माग गरेको महासचिव डा. भरतकुमार थापाले जानकारी दिए ।





































