kumari
stcnepal

अब एक हातले सिन्दुर अर्कोले नेपाली नागरिकता

परमादेशको दाई कांग्रेस र भाई कांग्रेसको मिलेमतोमा प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित गरिएको छ । दुई वर्ष अघि संसदीय समितिले व्यापक छलपल र बहस गरी निर्माण गरेको नागरिकता विधेयक संसदमा दर्ता भएको भएपनि उक्त विधेयक सरकारले फिर्ता लिएर अर्को विधेयक संसदमा दर्ता गरेको थियो । सरकारले पछिल्लो पटक संसदमा दर्ता गरेको विधेयक माथि जनताको आवाज सुनिएन, नेपाली कांग्रेस, माआवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनको सरकारले नागरिकता विधेयक प्रतिनिधिसभाबाट फास्ट ट्रयाकबाट पारित गरि राष्ट्रिय सभामा पठाएको छ ।
राष्ट्रियसभामा पनि गठबन्धनको बहुमत रहेकाले उक्त विधेयक जस्ताको तस्तै पारित हुने सम्भावना रहेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको विधेयकलाई राष्ट्रपतिकहाँ पठाइने र राष्ट्रपतिको प्रमाणिकरण पछि नेपाल राजपत्रमा प्रकाशित भएपछि उक्त विधेयक कानुन सरह नेपालमा लागु हुनेछ ।
जन्मको आधारमा नागरिकता पाएका आमाबुवाका छोराछोरीले पनि नागरिकता पाउने बाटो खुलेको छ । संसदमा ४ वर्ष अघि दर्ता गरिएको नागरिकत सम्बन्धी विधेयक सरकारले फिर्ता लिएर नयाँ रुपमा प्रस्तुत गरेको विधेयक गत साउन ६ गते प्रतिनिधिसभाबाट बहुमतका आधारमा पारित गरिएको हो । नेपालमा जन्मिएका आधारमा अंगीकृत नागरिकता पाइसकेका बाबुआमाका सन्तानले अब बंशजको आधारमा नागरिकता पाउने भएका छन् ।
नेपाली जनताले नागरिकता विहिन हुनु हुँदैन तर नेपालमा केही समय बसोबास गरेका र अंग्रीकृत नागरिकता लिएका बाबु आमाका सन्तानले बंशजको नागरिकता पाउने विधेयक पारित गरिनु नेपाल र नेपाली जनताको हितमा छैन । विदेशी चेलीले नेपाली नागरिकता पाउन केही बाध्यकारी प्रावधानहरु राखिनुपर्नेमा केही प्रावधानहरु नराखिनुले गर्दा अब विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरेकै दिन एउटा हातले नेपाली नागरिकता र अर्को हातले सिन्दुर पाउने भएकी छन् । यो नै नेपाललाई फिजीकरण गर्ने पहिलो प्रयास हो ।
नेपाल र भारतबीचमा खुल्ला सीमा भएकाले गर्दा लाखौं भारतीय नेपाल भित्रिएर पहिला पनि लाखौं भारतीय नागरिकहरुले नेपाली नागरिकता पाईसकेका छन् । अबको केही समय पछि भारत विश्वमा सबैभन्दा बढी जनसंख्या हुने मुलुक बन्ने भएको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पर्ने र भारतीय चेलीहरुले नागरिकता पाउने सहज वातावरण बनेपछि उनीहरुलेनेपाली केटासँग विवाह गर्ने प्रायः निश्चित जस्तै रहेको छ । भारतीयहरुले फिजीमा त्यसैगरी नागरिकता लिएका थिए उनीहरु त्यहाँ जौं काट्न गएका र केही समयपछि फिजिलाई कब्जा गरेर सरकार प्रमुख समेत बनेका थिए ।
नेपालको संविधानले अंगीकृत नागरिकता पाएका व्यक्तिलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिश, सेनापति लगायतका पदमा पुग्न बन्देज गरेको छ । अब अंगीकृत नागरिकता पाएका बाबुआमाका सन्तानले बंशजको नागरिकता पाउने भएपछि संविधानले बन्देज लगाएका सबै पदमा अंगिकृत नागरिकता पाएका बाबुआमाका सन्तानले सम्वैधानिक पदमा पुग्ने बाटो समेत खुलेको छ । यसरी अबको केही वर्षपछि नेपालमा नेपाली जनता नै अल्पमतमा पर्ने गरी नागरिकता विधेयक पारित गरिनु नेपाललाई फिजीकरण गर्नु बाहेक अन्य कुनै उदेश्य देखिँदैन ।
माओवादी केन्द्रले पहिला नागरिकता सम्बन्धी लिएको अडानकै कारण संसदबाट नागरिकता विधेयक पारित हुन सकेको थिएन तर सत्ता गठबन्धनमै रहेको माओवादी केन्द्रले सत्ताको प्रलोभनमा परेर पहिला आफैँले लिएको अडान छोड्नुको एउटै कारण हुन सक्छ सत्तामा टिकिरहने प्रपन्च । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त आफ्नै कारणले गर्दा नागरिकता विधेयक पारित भएको र आफूले मधेशको माग पूरा गरेको अभिव्यक्ति समेत दिएका छन् ।
नागरिकता विधेयकलाई सत्तामा पुग्ने भ¥याङ्ग बनाइएको छ । नागरिकता जस्तो सम्वेदनशिल विषयलाई हचुवाका भरमा फास्ट ट्रयाकबाट पारित गरिनु मुलुककै लागि दुर्भाग्यको विषय मात्र होइन मुलुककै अस्तित्व माथि खेलवाड भएको हुनाले हामी त्यसको जोडदार विरोध गर्दै अव जनताले नागरिकता विधेयकको विरोधमा सडकमा उत्रन जनतालाई आह्वान गर्दछौँ ।

footer