समाजवादी केन्द्र भ्यागुताको धार्नी पुग्नु सरह हो
वि.सं.२०७९ साउन १२ बिहीवार १५:५६
shares

देवेन्द्र चुडाल
पछिल्लो समयमा राजनीतिक दलहरुले एकले अर्कोलाई विश्वास गर्न नसक्ने वातावरण स्वयम् दलहरुले नै सिर्जना गरेका छन् । सत्ता गठबन्धनमा रहेका पाँच दल मध्येका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी भित्र अविश्वास बढेको छ । त्यही अविश्वासको कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी केन्द्र बनाउने भन्दै वामदेव गौतमसहित डा. बाबुराम भट्टराईसमेतसँग वार्ता गरिरहेका छन् । अध्यक्ष दाहालले आउँदो मंसिरमा हुने भनिएको संघीय संसद र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गरेर भरिसक्य वामपन्थी पार्टीहरु एक हुनुपर्ने, एक हुन नसक्ने अवस्था आएका पनि एउटै निर्वाचन चिन्ह लिएर निर्वाचनमा जानुपर्ने प्रस्ताव अघि सारेका छन् ।
केही दिन पहिला गृहमन्त्री वालकृष्ण खाँणले आउँदो निर्वाचनमा दलहरु एक्लाएक्लै निर्वाचनमा गएको खण्डमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको कन्तविजोग हुने आँकडा कांग्रेसको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेपछि अध्यक्ष दाहाल र नेकपा एकीकृतका अध्यक्ष माधव नेपाललाई छटपट्टी बढेको छ । त्यही कारणले गर्दा र आफ्नो पार्टी र व्यक्तिगत स्वार्थलाई हेरेर दाहालले समाजवादी केन्द्र बनाउनुपर्ने प्रस्ताव भट्टराई, गौतम र नेपालसामू राखेका हुन् ।
मंसिरमा सम्पन्न हुने भनिएको संघीय संसद र प्रदेश सभाको निर्वाचनमा समेत सत्ता गठबन्धनमा रहेका दलहरु गठबन्धन नै गरेर निर्वाचनमा जाने निर्णय कांग्रेसको केन्द्रीय समितिको बैठकले गरिसकेको भएपनि दाहाल र नेपाललाई भने कांग्रेसको विश्वास नभएको जस्तो देखिएको छ । कतै कांग्रेसले आफूलाई बहमुत पुग्न सक्ने सिट राखेर अरुलाई थोरै सिटमा राख्छ कि भन्ने आशंका दाहाल नेपाललाई रहेको छ । त्यही कारणले गर्दा दाहाल नेपालले नेकपा एमालेलाई देखाएर कांग्रेसलाई तर्साउने खेलमा सक्रिय भएका छन् । नेपालका कम्युनिष्टहरु एकै ठाउँमा उभिनु भनेको भ्यागुताको धार्नी पुग्न हो ।
२०७४ सालमा भएको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रले तालमेल गरेर अघि बढ्ेका हुनाले उनीहरुले झण्डै दुई तिहाई मत ल्याएका थिए । तर तत्कालिन नेकपा धेरै टिक्न सकेन त्यसको एउटै कारण थियो धेरै लोभी पापीहरु एकै ठाउँमा बस्न नसक्नु र अर्को थियो सत्ताको स्वाद आफूले चाख्न नपाउनु । तत्कालिन नेकपामा रहेको सचिवालय सदस्यहरु नै त्यसबेला विभाजित भएर तत्कालिन प्रधानमन्त्री केपी ओलीको विरुद्ध खनिएका र ओलीलाई सरकार प्रमुख र पार्टी अध्यक्षबाट समेत हटाउने निर्णय सचिवालयका बहुमत सदस्यहरुले गरेकै कारण पार्टीभित्र विग्रह आएको थियो ।
अहिले त्यसबेला सचिवालयमा रहेकाहरु दाहाल, नेपाल, गौतम, झलनाथ खनाल एक ठाउँमा उभिनुपनि अर्को षड्यन्त्र हुन सक्छ । कांग्रेसले आफूहरुलाई विश्वास गर्न नसकेको र स्थानीय तहको निर्वाचनमा समेत उसले आफूहरुलाई धोका दिएको आरोप उनीहरुले कांग्रेसमाथि लगाउँदै आएका छन् । नेकपा एकीकृतका नेता झलनाथ खनालले त कांग्रेसलाई बहुमतमा पु¥याईदिन गठबन्धन किन आवश्यकता प¥यो भन्ने प्रश्न समेत सार्वजनिक रुपमै उठाउँदै आएका छन् ।
स्थानीय तहको निर्वाचनमा गठबन्धन र नेकपा एमाले बीचमै प्रतिस्प्र्धा रहेको थियो । एकातिर पाँच दलीय गठबन्धन रहेको थियो भने अर्कोतिर नेकपा एमाले एक्लै निर्वाचनमा गएको थियो । पाँच दलीयगठबन्धन भएपनि नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उत्साहजनक नतिजा निकालेको थियो । गठबन्धनमा रहेको कांग्रेसले ७ सय ५३ वटा स्थानीय तह मध्येका ३ सय २९ मा विजयी हाँसिल गरेको थियो भने नेकपा एमालेले २ सय ६ स्थानमा विजयी हाँसिल गरेको भएपनि गठबन्धनमै रहेको माओवादी केन्द्रले १ सय २० स्थानमा मात्र विजयी हाँसिल गर्न सकेको हुनाले संघीय संसद र प्रदेशसभाको निर्वाचनमा पनि कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा रहन सक्ने अवस्था देखिएपनि सत्ताको भोका रहेका पुष्पकमल दाहालले सत्ता हत्याउनका लागि अनेक पासा फ्याक्न सक्ने सम्भावना रहेको छ । गृह प्रशासनले गोप्य रुपमा गरेको मत सर्वेक्षणमा समेत कांग्रेस र माओवादीले तालमेल गरेर निर्वाचनमा गए उनीहरुकै बहुमत आउन सक्ने सम्भावना रहेको देखाएको छ भने माओवादी केन्द्र र एमालेले गठबन्धन गरेर अघि बढेमा पनि उनीहरुकै बहुमत आउन सक्ने र त्यसबेला कांग्रेसको नराम्रो पराजय हुन सक्ने सर्वेक्षणले देखाएको छ ।
पुष्पकमल दाहालले समेत त्यो गोप्य मत सर्वेक्षण हात पारेका हुनाले अहिले उनी समाजवादी केन्द्र बनाएर अघि बढ्नुपर्ने रणनीतिमा लागेका छन् । समाजवादी केन्द्र बन्यो र त्यसमा एमालेलाई बाहिर राखियो भने त्यसबेला कांग्रेस र एमालेले तालमेल गरेर अघि बढेको खण्डमा समाजवादी केन्द्रको नराम्रो पराजय हुने निश्चित जस्तै देखिएको छ । कांग्रेस र एमाले मिलेर निर्वाचनमा गएको खण्डमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायतका महत्वपूर्ण पदहरुमा उनीहरुले नै चाहेका व्यक्ति पुग्न सक्ने भएकाले गर्दा अध्यक्ष दाहालले कुनै हालतमा पनि कांग्रेस र एमालेलाई मिल्न नदिने बरु आफूहरु एमालेसँग मिल्न सक्ने भन्दै कांग्रेसलाई तर्साएर संघीय संसदको र प्रदेशसभाको निर्वाचनमा धेरै सिट हात पार्ने रणनीतिमा लागेका छन् । त्यसैको उपज हो समाजवादी केन्द्रको निर्माण भनेको ।
नेपालमा आ आफ्नो स्वार्थ अनुसार २५÷३० वटा कम्युनिष्ट नामधारी पार्टीहरु रहेका छन् । ती पार्टीहरु एकजुट हुन सक्ने अवस्था नै देखिएको छैन । आ आफ्नो स्वार्थ अनुसार उनीहरुले आ आफ्ना खुद्रे पसलहरु सञ्चालन गरिरहेका छन् । वामदेव गौतमले समेत आफ्नो खुद्रे पसल सञ्चालन गर्न सकेको इतिहास छैन, त्यही कारणले गर्दा अहिले उनले निर्माण गरेको खुद्रे पसल समेत वन्द हुने अवस्थामा पुगेकोले उनीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सहयोगमा समाजवादी केन्द्र बनाउने भन्दै नेकपा एमाले बाहेकका कम्युनिष्ट पार्टीहरुलाई समाजवादी केन्द्र बनाउनुपर्ने बताइरहेका छन् । तर मुलुकको सबैभन्दा ठुलो कम्युनिष्ट पार्टीलाई बाहिर राखेर उसलाई घेराबन्दीमा पार्ने प्रमुख उदेश्यका साथ समाजवादी केन्द्र बनाइने भन्नु भ्यागुताको धार्नी पु¥याउन खोज्नु बाहेक अन्य केही हुन सक्दैन । अहिले पनि विभिन्न पार्टीहरु परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरुको क्रम रोकिएको छैन ।
तल्लो तहसम्म एमालेको राम्रो प्रभाव रहेकाले गर्दा स्थानीय तहको निर्वाचनमा ऊ एक्लै पाँच दलीय गठबन्धनका विरुद्ध निर्वाचन लडेको थियो । नेकपा एमालेलाई स्थानीय तहको निर्वाचनमा धुलो चटाउने भन्दै पाँच दलीय गठबन्धनमा रहेर चुनाव लडेको नेकपा एकीकृत समाजवादी आफैं धुलो भएको छ ।
नेकपा एमालेलाई स्थानीय तहको निर्वाचनमा धुलो चटाउने भन्दै पाँच दलीय गठबन्धनमा रहेर सरकारमै बसेर निर्वाचनमा गएको नेकपा एकीकृत समाजवादी पार्टीले नराम्रो पराजय भोग्नु परेको छ । यदि दलहरु एक्लाएक्लै स्थानीय तहको निर्वाचनमा गएको भए नेकपा एमाले नै सबैभन्दा ठुलो पार्टी बन्ने स्थानीय तहको निर्वाचनको परिणामले देखाएको छ ।
माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धनको सहयोगमा २० स्थानीय तहमा निर्वाचन जितेको थियो । तल्लो तहमा उसको संगठन नै नभएको र माधव नेपाल पक्षमा लागेका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमै फर्किरहेका हुनाले संघीय संसद र प्रदेश सभाको निर्वाचनमा माधव नेपालको पार्टीको हालत कन्तविजोग हुने निश्चित रहेपछि धेरै नेता तथा कार्यकर्ताहरु एमालेमै फर्किने मनस्थितिमा पुगेका छन् ।
गृहमन्त्री बालकृष्ण खाँणले त एक्लाएक्लै निर्वाचनमा जाँदा कांग्रेसको ९०, एमालेको ७०, माओवादीको ८, नेकपा एकीकृत समाजवादीको १ र सबै मधेशवादीहरुको गरी १६, राप्रपा जनमोर्चा र नेमकिपाले १÷१ स्थानमा निर्वाचन जित्न सक्ने गोप्य प्रतिवेदन आफूले पाएको भन्दै कांग्रेसको केन्द्रीय समितिको बैठकमा जानकारी गराएका थिए । यसरी सत्ता गठबन्धनमा रहेका दलहरुको अवस्था समेत हेर्दा उनीहरु एक्लाएक्लै निर्वाचनमा जान सक्ने अवस्था नै देखिँदैन ।
एक्लाएक्लै निर्वाचनमा गएको खण्डमा नेकपा एमाले नै ठुलो पार्टी बन्ने प्रायः निश्चित रहेको गृह सूत्रको दाबीले गर्दा गठबन्धनकारी दलहरु तर्सिएका छन् । नेकपा एमालेलाई एक्ल्याउने उनीहरुको रणनीति असफल सावित हुने भएपछि माओवादी केन्द्रका अध्यक्षसहित वामदेव गौतमले समाजवादी केन्द्र बनाएर निर्वाचनमा जाने प्रयास गरेपनि नेकपा एमाले बाहेक समाजवादी केन्द्र भ्यागुताको धार्नी नपुगेजस्तै बन्ने निश्चित जस्तै रहेको छ । यदि एमाले सहितको समाजवादी केन्द्र बन्न सकेको अवस्थामा कांग्रेसको कन्तविजोग हुन निश्चित रहेको छ ।
त्यही कारणले गर्दा कांग्रेसले नै समाजवादी केन्द्र बनाउन तगारो हाल्न सक्छ । बरु माओवादी र नेकपा एकीकृतलाई केही बढी सिट दिएर आफ्नै समूहमा राख्ने उसको रणनीति बन्न सक्छ । माओवादीका अध्यक्षले एमालेलाई देखाएर कांग्रेसलाई तर्साउने र कांग्रेसलाई देखाएर एमालेलाई गलाउने रणनीति लिएका छन् । यस्तो रणनीतिमा उनी सफल हुनु भनेको भ्यागुनाको धानी पुग्नु सरह हो ।


































