प्रतिनिधिसभाका सांसदहरुको एसपीपी बारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग
वि.सं.२०७९ साउन १३ शुक्रवार १४:२२
shares

काठमाडौं। प्रतिनिधिसभाका सांसदहरुले एसपीपी बारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् । परराष्ट्रमन्त्री डा.नारायण खतिवडाले एसपीपी अगाडि नबढाउने सरकारको निर्णय अमेरिकालाई पठाइएको बताएपछि सांसदहरुले त्यो पत्र माग गरेका हुन् ।
‘नेपाल सरकारले अमेरिकालाई पठाएको पत्र यो गरिमामय सदनमा पढेनर सुनाउनुपर्छ’, सांसद पवित्रा निरौला खरेलले माग गरिन् । उनले त्यो पत्र अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई समेत बुझाउन माग गरिन् । ‘समितिले बारबार पत्राचार गरेको छ । समितिलाई छायाँ कपी प्रदान गरिनुपर्छ’, निरौलाले भनिन् । अर्का सांसद सूर्यप्रसाद पाठकले पनि एसपीपी बारे पठाइको पत्र सार्वजनिक गर्न माग गरे ।
‘परराष्ट्रमन्त्रीले पत्र पनि सरर बाचन गर्नुहुन्छ भन्ने अनुमान थियो । तर गर्नुभएन’ उनले भने, ‘जवाफ दिन जाँदै हुनुहुन्छ पत्र पनि पढेर सुनाउनुहुन्छ भन्ने विश्वास गर्छु । माग गर्छु ।’ सांसद घनश्याम खतिवडाले पनि सार्वभौम संसदले पत्र बारे पनि जानकारी पाउनुपर्ने बताए । ‘के शब्दहरु लेखेर पठाउनुभयो । जनताको सार्वभौम सम्पन्न संसदले त्यो जानकारी राख्न पाउनुपर्छ कि पर्दैन ?’, उनले प्रश्न गरे ।





































