संसदीय छानविन समिति नौटंकीमात्र
वि.सं.२०७९ साउन १३ शुक्रवार ०९:३९
shares

काठमाडौ । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले करको दरमा हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएको सम्बन्धमा छानविन गर्न संसदले ११ सदस्यीय छानविन समिति बनाएको थियो ।
उक्त छानविन समितिले पछिल्लो समयमा अर्थ मन्त्रालयमा रहेको सीसीटिभी फुटेज उपलब्ध गराउन आग्रह गरेको भएपनि अर्थ मन्त्रालयले जेष्ठ १४ गतेको फुटेज डिलिट भएको भन्दै फुटेज उपलब्ध नगराएपछि डिलिट भएको भनिएको सीसीटिभी फुटेज रिकभर गरिएको भएपनि उक्त फुटेज प्रष्ट नभएकोले गर्दा छानविन समिति नै अन्योलमा परेको छ ।
रिकभर भएको फुटेज विज्ञहरुको सहयोगमा हेरिएको भएपनि प्रष्ट रुपमा दृष्य नदेखिएकोले गर्दा समितिले कुनै नयाँ प्रमाण भेट्टाउन सकेन । सत्ता पक्षमा सांसदहरुले कल डिटेल हेर्नु नहुने भन्दै संसदको बैठकमा नै आपत्ति जनाएका थिए ।
सरकारले तत्कालिन अर्थमन्त्री शर्मालाई बचाउनका लागि अर्थ मन्त्रालय र सिंहदरबार गेटको सीसीटिभी फुटेजहरु पहिला नै डिलेट गरेको हुनाले सरकारले समितिले माग गर्ने वित्तिकै फुटेज उपलब्ध गराउन आनाकानी गरेकाले स्वत प्रष्ट हुन्छ करको दरमा हेरफेर गर्न अर्थमन्त्रीले प्रधानमन्त्रीको सहयोगमै करको दरमा हेरफेर गरेका थिए ।
करको दरमा हेरफेर गर्दा खास व्यक्ति र केही उद्योगपति र केही व्यावसायीहरुलाई ठुलो मात्रामा फाइदा पुगेको छ ।
संसदीय छानविन समितिले जेष्ठ १४ गते मध्यरातमा अर्थमन्त्रालयमा प्रवेश गरेको कारको खोजविनै गरेन किन ? सिहदरबार गेटको सिसिटिभी फुटेज नपाएपछि त्यसलाई रिकभर गराउने प्रयास समेत गरिएन, सिंहदरबार गेटमा रहेका सुरक्षाकर्मीलाई बयानसम्म लिइएन ।
कल डिटेल अध्ययन र लोकेसन ट्रयाक समेत गरिएन भने आरोपित व्यक्तिहरुसँग बयानसम्म लिइएन । समितिले यी सबै कार्यहरु नगरेको हुनाले र करको दरमा हेरफेर गर्दा फाइदा पुगेका व्यावसायी उद्योगपतिहरुसँग बयानसम्म नलिएको हुनाले संसदीय समिति पनि नौटंकीमात्र भएको छ ।
संसदीय समितिले चाहेको भए धेरै कुरा पत्ता लाग्न सक्ने अवस्था रहेको भएपनि उक्त समितिले अधुरो र अपूरो प्रतिवेदन बुझाउने प्रायः निश्चित जस्तै रहेको छ ।





































