kumari
stcnepal

अफगानिस्तानमा अमेरिकी ड्रोन हमलामा परी नेता जवाहिरीको निधन

काठमाडौं ।अमेरिकाले अल कायदाका नेता आयमान अल जवाहिरीको ड्रोन हमला गरी हत्या गरेको छ । अफगानिस्तानमा अमेरिकी ड्रोन हमलामा परी नेता जवाहिरीको निधन भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा आइतबार अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले आतंकवाद विरोधी अभियान सञ्चालन गरेको र त्यसमा परी अल जवाहिरीको मृत्यु भएको बाइडेनलाई उद्धृत गर्दै बीबीसीले खबर लेखेको छ ।

बाइडेनले भने, ‘जवाहिरीको हात अमेरिकी नागरिकहरू विरुद्धको हत्या र हिंसाको रगतले लतपतिएको थियो। अब जनताले न्याय पाएका छन् र यो आतंकवादी नेता अब जीवित छैनन् ।’ अधिकारीहरूका अनुसार जवाहिरी सुरक्षित घरको बालकोनीमा रहेका बेला ड्रोन बाट दुई वटा मिसाइल प्रहार गरिएको थियो । अमेरिकी अधिकारीहरूले जवाहिरीको परिवारका सदस्यहरू पनि घरमा रहे पनि कसैलाई चोटपटक नलागेको बताएका छन् । राष्ट्रपति बाइडेनले ७१ वर्षीय अलकायदा नेता विरुद्ध निर्णायक हमलालाई स्वीकृत गरेको बताए । सन् २०११ मा ओसामा बिन लादेन मारिएपछि अल–कायदाको नेतृत्व जवाहिरीले गरेका थिए ।

बिन लादेन र जवाहिरीले नै अमेरिकामा ९/११ आक्रमणको योजना बनाएका थिए । अमेरिकाले जवाहिरीलाई मोस्ट वान्टेड आतंकवादी मानेको थियो । बाइडेनले अल-कायदा नेताको हत्याले सन् २००१ मा भएको ९/११ आक्रमणका पीडित परिवारलाई राहत पुग्ने बताए। तालिबानले अमेरिकी कारबाहीलाई अन्तर्राष्ट्रिय नियम र सिद्धान्तको स्पष्ट उल्लङ्घन भनेको छ। तालिबानका प्रवक्ताले भने, ‘बितेको २० वर्षमा यस्ता कारबाहीहरू असफल अनुभवको पुनरावृत्ति हो । यो अमेरिकी हितको विरुद्धमा छ ।’

footer