kumari
stcnepal

मनाङमा २३ करोडको यार्सागुम्बा बिक्री

लमजुङ – हिमाली जिल्ला मनाङ बाट कम्तीमा २३ करोड ५५ लाख रुपैयाँ बराबरको यार्चागुम्बु बिक्री भएको छ। मनाङमा बाह्य र स्थानीयले संकलन गरेर व्यापारीलाई यार्चागुम्बु बिक्री गरिन्छ। आर्थिक वर्ष ०७८/७९ मा मनाङमा व्यापारीले सरकारलाई प्रतिकिलो ३१ हजार रुपैयाँका दरले राजस्व बुझाउँछन्। यार्सा बाट मात्रै ३६ लाख २९ हजार ५ सय १ रुपैयाँ राजस्व संकलन भएको छ।

संकलकले व्यापारीलाई प्रतिकिलो यार्सा नराम्रो १५ लाख देखि १६ लाख रुपैयाँ सम्म र राम्रोको २५ लाख देखि ३० लाख रुपैयाँ सम्म बिक्री गर्छन्। व्यापारी यार्सागुम्बा संकलनस्थलमै पुग्छन्। धादिङको रि–गाउँका एक्का तामाङका अनुसार व्यापारीले प्रतियार्सा ४ सय देखि ५ सय रुपैयाँमा संकलनस्थलमै किन्छन्। एक किलोमा ठूलो मात्राका ३ हजार २ सय हाराहारीका यार्सा अट्ने उनले बताए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले काठमाडौं लगेर चिनियाँ व्यापारीलाई प्रतिकिलो यार्सा ५० लाख रुपैयाँ सम्म बिक्री गर्ने जानकारी आएको बताए।

एक्याप द्वारा गठित संरक्षण क्षेत्र व्यवस्थापन समितिले सेवा दस्तुर बापत प्रतिकिलो यार्साको १० हजार रुपैयाँ लिने गरेका हुन्। सरकारलाई तिर्ने राजस्व भने उनीहरूले एक्याप मार्फत डिभिजन वन कार्यालयमा जम्मा गर्छन्। वित्तीय आयोगको खातामा जम्मा हुने उक्त राजस्व संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले २५ प्रतिशत र स्थानीय तहले २५ प्रतिशत पाउँछन्।

एक्यापका अनुसार मनाङमा गत वर्ष कुल यार्चागुम्बु ४० दशमलव ५ किलोग्राम यार्सा संकलन भएको थियो। यस बाट १३ लाख ९७ हजार २ सय ५० रुपैयाँ राजस्व संकलन भएको थियो।

footer