सत्ता गठबन्धनको भविष्य सिट बाडफाँडमा निर्भर हुने
वि.सं.२०७९ साउन १९ बिहीवार १७:४९
shares

काठमाडौ । पाँच दलीय गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सरकारले आउँदो मंसिर ४ गते आइतबार एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउने मिति तोकेको छ ।
निर्वाचन आयोगले निर्वाचन गराउनको लागि आयोगलाई १ सय २० दिनको आवश्यकता पर्ने भन्दै निर्वाचनको मिति तोक्न सरकारलाई पटक÷पटक आग्रह गर्दै आएको थियो ।
आयोगको माग भन्दा १३ दिन कम समय दिएर सरकारले निर्वाचनको मिति तोकेको छ । पाँच दलीय गठबन्धनले आपसी सहमति गरेपछि सोही सहमतिलाई आधार मानेर सरकारले निर्वाचनको मिति तोकेको हो ।
निर्वाचनको मिति तोकिएपनि प्रतिनिधिसभालाई भने भङ्ग नगरी प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयनको अघिल्लो दिनसम्म प्रतिनिधिसभा र प्रदेशसभालाई जिवित राख्ने समझदारी अनुसार उम्मेदवारको अघिल्लो दिनसम्म प्रतिनिधिसभा र प्रदेशसभाहरुले निरन्तरता पाउने भएका छन् ।
निर्वाचनको मिति घोषणा भएपछि अब सत्ता गठबन्धनमा रहेका दलहरु तालमेल तिर लागेको छ । स्थानीय तहको निर्वाचनमा समेत सत्ता गठबन्धनका दलहरु गठबन्धन नै गरेर निर्वाचनमा गएका थिए । गठबन्धन गरेर निर्वाचनमा जाँदा कांग्रेसले सन्तोषजनक परिणाम ल्याएर सबै भन्दा ठुलो दल भएको थियो ।
सत्ता गठबन्धनमा रहेका दलहरु एक्लाएक्लै निर्वाचनमा जान सक्ने अवस्थामा देखिएका छैन । एक्लाएक्लै निर्वाचनमा जाँदा नेकपा एमाले नै ठुलो दल हुने विश्लेषण अनुसार सत्ता गठबन्धनमा रहेका दलहरु गठबन्धन नै गरेर निर्वाचनमा जाने रणनीतिमा लागेका छन् ।
संघीय संसद हुँदै प्राय सबै प्रदेशसभामा प्रमुख विपक्षी दल रहेको नेकपा एमालेलाई निर्वाचनबाटै हराउनु एक्लो रणनीति सत्ता गठबन्धनको रहेको भएपनि स्थानीय तहको निर्वाचनमा एमाले लोकप्रिय मतमा अघि रहेको हुनाले निर्वाचन हारिने डरले गर्दा सत्ता घटकहरु गठबन्धन गरेर अघि बढ्ने रणनीतिमा पुगेका छन् ।
कांग्रेसले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठकबाट निर्णय गरेर गठबन्धनकै बलमा फेरी सत्ताको नेतृत्व गर्ने निर्णय गरिसकेको छ भने माओवादी केन्द्रले समेत गठबन्धनकै बलमा दोस्रो ठुलो पार्टी हुने उद्घोष गरिसकेको छ ।
नेकपा एकीकृत समाजवादीले भने आफ्नो एकमात्र उदेश्य नेकपा एमालेलाई हराउनु हो भन्दै कांग्रेस र माओवादी केन्द्रलाई सघाउने र उनीहरुकै बलमा केही सिट हात पार्ने प्रयासमा रहेको छ ।
स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टी नराम्रोसँग पराजित भएको थियो । उसले ७ सय ५३ वटा स्थानीय तहमध्येमा २० वटामा मात्र जित हाँसिल गरेको थियो त्यो पनि कांग्रेस, माओवादी कै सहयोगमा ।
यदि अहिले पनि एक्लाएक्लै निर्वाचनमा गएको खण्डमा नेकपा एकीकृत समाजवादीले कुनै क्षेत्रमा पनि निर्वाचन जित्न सक्ने अवस्था छैन । त्यसैले उसलाई गठबन्धन बाध्यात्मक रहेको छ भने माओवादी केन्द्रलाई समेत त्यस्तै बाध्यता रहेको छ ।
स्थानीय तहको निर्वाचनको परिणामलाई विश्लेषण गर्दा नेपका एमाले नै दोस्रो ठुलो पार्टी बन्न सक्ने अवस्था देखिएको भएपनि उसलाई रोक्न सत्ता गठबन्धन लागि परेका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ रहेको १ सय ६५ सिट मध्येका सिटहरुबीचमा पाँच दलीय गठबन्धनले भागवण्डा गर्नु नै उनीहरुका लागि फलामको च्यूरा चपाउनु सरह भएको छ ।
स्थानीय तहको मत परिणामलाई आधार मानेर भागवण्डा गरिएको खण्डमा माओवादीले ११ प्रतिशत मात्र भाग पाउन सक्छ भने नेकपा एकीकृत समाजवादीले करिब ५ प्रतिशतमा चित्त बुझाउनु पर्ने हुन्छ, त्सो गर्दा माओवादीले भागवण्डामा बढीमा २० सिट र नेकपा समाजवादीले बढीमा ८ सिट मात्र पाउँछन् के त्यसमा यी दुवै दलले चित्त बुझाउन सक्लान् त ?
स्थानीय तहको निर्वाचनमा कांग्रेसले करिब ३४ प्रतिशत मत पाएको छ भने नेकपा एमालेले समेत झण्डै ३४ प्रतिशत मत पाएको छ । वडाध्यक्षको मतमा भने नेकपा एमाले निकै अगाडि रहेकाले गर्दा त्यसको फाइदा संघीय संसद र प्रदेश सभाको निर्वाचनमा एमालेले लिन सक्छ ।
नेपाली कांग्रेसले १ सय ६५ सिट मध्येको घटीमा ९० सिट लिनुपर्ने आवाज कांग्रेसको केन्द्रीय समितिमै उठेको र कांग्रेसको संस्थापन पक्ष इतरले पनि ९० सिट भन्दा तल सहमति नगर्न सभापति देउवालाई दबाब दिईरहेका हुनाले भागवण्डा सहज हुन सक्ने अवस्था छैन ।
कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले अर्को पटक पनि प्रधानमन्त्री बन्ने उदेश्यका साथ आफूलाई सहज रुपमा प्रधानमन्त्री बन्न सक्ने संख्या पुग्ने गरी सिट लिन चाहेका छन् ।
कांग्रेसका अनुसार प्रत्यक्षतर्फ ९० सिट लिने र समानुपातिकतर्फ घटीमा ४५ सिट आउने उसको आंकलन रहेको छ । अर्कोतर्फ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समेत कांग्रेसलाई एक्लै बहुमत पु¥याउन नदिने रणनीति लिएका छन् ।
कांग्रेसले एक्लै बहुमत पाएमा आफूहरु सरकारमा सहभागि हुन नपाउने अवस्था आउन नदिने रणनीतिका साथ पुष्पकमल दाहाल र माधव नेपाल अघि बढेका हुनाले गठबन्धनको भविष्य सिट बाँडफाँडमै भर पर्ने सक्ने अवस्था देखिएको छ ।
नेकपा एमालेले समेत अन्य केही साना दलहरुसँग गठबन्धन गरेर सत्ता गठबन्धनलाई रोक्ने रणनीति लिएको हुनलो सिट बाँडफाँड पछि कसको भविष्य कस्तो हुने भन्ने प्रष्ट हुन सक्छ । सत्ता गठबन्धले जति प्रयास गरेपनि नेकपा एमाले नै दोस्रो ठुलो दल बन्ने प्रायः निश्चित जस्तै देखिएको छ ।




































