kumari
stcnepal

दोलखाको लादुकमा पहिरो जाँदा सिंगटी बजार क्षेत्रका करिब ३० घर जोखिममा

काठमाडौं ।दोलखाको बिगु गाउँपालिका–४ लादुकमा पहिरो जाँदा सिंगटी बजार क्षेत्रका करिब ३० घर जोखिममा परेका छन् । अति जोखिममा परेका घरका बासिन्दाहरु त्यहाँ बाट विस्थापित भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

सोही ठाउँमा गत २३ गते पनि पहिरो जाँदा चार वटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए । गए रातिको वर्षा सँगै झरेको पहिरोले थप घरहरुमा क्षति पुगेको छ । ‘पहिरोले खोलि खोम एरियाका ३० वटा जति घर जोखिममा परेका छन् । हामीले जोखिममा परेकाहरुलाई त्यहाँ बाट सुरक्षित स्थानमा पठाइसक्यौं,’ जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी इन्सपेक्टर सानु तामाङले भने । उनका अनुसार इलाका प्रहरी कार्यालय सिंगटीको भवन पनि जोखिममा छ । उनका अनुसार बजारका घर र पसलहरुमा लेदो माटो छिरेको छ । बसाइ जोखिमपूर्ण भएपछि केही मानिसहरु वरपरका घर र आफन्तको बसेका छन् ।

पहिरोले बजार क्षेत्रको बाटो अवरुद्ध भएपछि पहिरो पन्छाएर खुलाउने काम भइरहेको इन्सपेक्टर तामाङले बताए । हालै बजार भन्दा माथि तिर बाट बाटो बनाइएको थियो । सो बाटो बनाए देखि पहिरोले दुःख दिन थालेको स्थानीय बताउँछन् ।

footer