एकीकृत समाजवादीलाई गठबन्धनकै भर गठबन्धनकै डर
वि.सं.२०७९ साउन २६ बिहीवार १७:०३
shares

काठमाडौ । पाँच दलीय गठबन्धनमा रहँदा आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा धोका पाएको बताउँदै आएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल फेरी त्यही गठबन्धनकै भरमा रहेका छन् ।
नेकपा एकीकृत समाजवादीले मंसिर ४ गते हुने संघीय संसद र प्रदेशसभाको निर्वाचनमा जानका लागि पाँच दलीय गठबन्धनभित्र वामपन्थीहरुको समाजवादी उपगठबन्धन बनाउने प्रयास गरेपनि त्यो असफल भएको छ । नयाँ वामपन्थी गठबन्धन बन्न नसके नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धनलाई विश्वास गर्न बाध्य भएको छ ।
स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीले तालमेल गरेर आफ्नो पार्टीलाई धोका दिएको आरोप एकीकृत समाजवादीले लगाउँदै आएको भएपनि अहिले उनीहरुलाई नै विश्वास गर्नुपर्ने र उनीहरुकै भरमा निर्वाचनमा जानुपर्ने अवस्था एकीकृत समाजवादीलाई आईपरेको छ ।
स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले उपगठबन्धन बनाएर आफूहरुलाई धोका दिएका आरोप एकीकृत समाजवादीले लगाएको थियो । सुरुमा सचिवालय त्यसपछि स्थायी कमिटी, पोलिटव्यूरो केन्द्रीय कमिटी हुँदै केन्द्रीय परिषद् बैठकले समेत आफ्ना उम्मेदवारले कम स्थानमा जित्नु गठबन्धनमा रहेका दलहरुले असहयोग गरेको आरोप लगाएको थियो ।
त्यसै विषयमा पार्टीले समिक्षा समेत गरेर आगामी दिनमा त्यसो नहोस् भनेर गठबन्धनभित्रै कुरा उठाएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको पाँच दलीय गठबन्धनलाई आठ दलीय गठबन्धनमा पु¥याउने प्रयास गरिरहेकाले गर्दा नेकपा एकीकृत पार्टी झस्किएको छ ।
लोसपा, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र वामदेव गौतम समेतलाई गठबन्धनमा राख्दा गठबन्धना रहेका दलहरुले कम सिट पाउने भएकाले र माधव नेपालले बढी सिट मागि रहेको खण्डमा उनलाई गठबन्धनबाट र बाहिरबाट पनि अप्ठ्यारो अवस्था आउने परिस्थिति सिर्जना हुने भएकाले माधव नेपाल चेपुवामा परेका छन् ।
पाँच दलीय गठबन्धन रहेका दल र अन्य तीन दललाई गठबन्धनमा लिँदा कांग्रेसका धेरै नेताहरुले टिकट पाउन नसक्ने अवस्था आउन सक्ने भएकाले पार्टीको संस्थापन पक्ष र संस्थापन इतर पक्षका नेताहरुले बरु एक्ला एक्लै निर्वाचनमा जाऔं भन्ने सुझाव सभापति देउवालाई दिएका छन् ।
संघीय संसदको प्रत्यक्षतर्फ जम्मा १ सय ६५ सिटमात्र रहेकाले गठबन्धन रहेका दलहरुलाई सिट बाँडफाँड गर्न सकस पर्ने निश्चित जस्तै रहेको छ । कांग्रेसले अन्तिम समयमा बढीमा ८०÷८५ सिटमात्र पाउन सक्छ ।
अहिले नै कांग्रेसमा ३०÷३५ जनाले टिकट पाउने निश्चित जस्तै रहेको र बाँकी रहेको ४०÷४५ सिटमा कांग्रेसले संस्थापन पक्ष र इतर पक्षबीचमा पनि टिकट बाँडफाँड गर्नुपर्ने भएकाले टिकट वितरण पछि कांग्रेसभित्रको लडाई सडकमै छताछुल्ल हुन सक्छ ।
कांग्रेसले ८०÷८५ सिटमा चित्त बुझाएको खण्डमा पनि गठबन्धनमा रहेका दलहरु मध्येका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीचमा भागवण्डा हुँदा माओवादी केन्द्रले २५÷३० नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले बढीमा १५÷१५ र राष्ट्रिय जनमोर्चाले ३ सिट पाउन सक्ने सम्भावना देखिन्छ ।
अहिले दलहरुसँग रहेको प्रत्यक्षतर्फका सांसदहरुको संख्यालाई हेर्दा पनि उनीहरुले अहिले रहेको संख्या बराबरको सिट संख्याकै वरिपरिको सिट संख्या पाउने भएकाले गर्दा गठबन्धनमा रहेका दलहरुको सिट संख्या प्रत्यक्षतर्फ खासै बढ्न सक्ने अवस्था देखिँदैन ।
अहिले जुन दलले जुन जुन निर्वाचन क्षेत्रमा चुनाव जितेका छन् त्यही क्षेत्र उनीहरुले नै पाउने निर्णय गर्नुपर्ने माओवादी र नेकपा एकीकृतको मागलाई कांग्रेसले स्वीकार गर्न सक्ने अवस्था देखिँदैन । कांग्रेसको वरिष्ठ नेताहरुले २०७४ को निर्वाचनमा पराजित भएका क्षेत्रमा नेकपा एकीकृतका नेताहरुले निर्वाचन जितेका हुनाले ती क्षेत्र कांग्रेसले लिनुपर्ने आवाज कांग्रेसको बैठकमा उठेको छ ।
रामचन्द्र पौडेल नेकपा एकीकृत किसान श्रेष्ठसँग पराजित भएका थिए । त्यो क्षेत्रमा पुनः पौडेल उम्मेदवार हुने पक्कापक्की भएपछि सिट संख्या र क्षेत्र मिलन गर्न पनि गठबन्धनलाई फलामको च्युरा चपाउनु सरह भएको छ ।
स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठुलो पार्टी भएको नेपाली कांग्रेसलाई अहिले गठबन्धन नै घाँडो सावित हुँदै गएको छ । गठबन्धनबाट ऊ बाहिर आउने सक्ने अवस्थामा उ छैन भने सिट बाँडफाँड कसरी र्ने र आफैँ पार्टीका नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा ऊ रणभुल्लमा परेको छ ।
पार्टीका पुराना र वरिष्ठ नेताहरुमा होइन मन्त्रीहरुकै उम्मेदवारी समेत प्रष्ट नभएकाले गर्दा कांग्रेसभित्रको संकट गरिरिने सम्भावना देखिएको छ । नेपाली कांग्रेस एक्लै निर्वाचनमा जाँदा पनि घटीमा ९०÷९५ सिट जित्ने अवस्थामा कांग्रेस रहेको भएपनि ऊ किन एक्लै निर्वाचनमा जान चाहँदैन ? कांग्रेसका सभापति शेरबहादुर देउवा पुनः अर्को पटक पनि प्रधानमन्त्री बन्ने चाहना राखेर गठबन्धनकै बलमा प्रधानमन्त्री बन्ने दाउमा रहेकाले गर्दा बरु पार्टीलाई कमजोर अवस्थामा पु¥याएरै भएपनि आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न लागि परेका छन् ।
उनलाई पुष्पकमल दाहाल र माधव नेपालले सहयोग गरिरहेको बाहिरी देखिएपनि उनीहरु दुवैजना कांग्रेसलाई एक्लै बहुमत पु¥याउन नदिने रणनीतिको साथ अघि बढेका छन् । जसरी भएपनि उनीहरु कांग्रेसलाई कमजोर पारेर आ आफ्नो पार्टीको सहयोग र समर्थनमा मात्र देउवा प्रधानमन्त्री बन्ने सक्ने अवस्था रहनु भने चाहनामा उनीहरु रहेको छ ।






































