सिट बाँडफाँड पछि कांग्रेसमा विद्रोह
वि.सं.२०७९ साउन २६ बिहीवार १७:११
shares

काठमाडौ । पाँच दलीय गठबन्धनमा रहेका दलहरुले गठबन्धनमा नै रहेर संघीय संसद र प्रदेशसभाको निर्वाचनमा जाने सहमति गरेपश्चात् सत्ताको प्रमुख घटक नेपाली कांग्रेसलाई संकट परेको छ ।
सत्ता गठबन्धनमा डा. बाबुराम भट्टराई र वामदेव गौतम पनि सहभागि भएर आ आफ्नो राजनीति बचाउने खेलमा लागेका हुनाले कांग्रेसका धेरै नेताहरुले आ आफ्नो निर्वाचन क्षेत्र यस पटक गुमाउनुपर्ने अवस्था देखिएको छ ।
संघीय संसदको प्रत्यक्षतर्फ जम्मा १ सय ६५ सिट रहेकोमा कांग्ेसले बढीमा ८०÷८५ सिट मात्र पाउन सक्ने अवस्था देखिएको छ । सत्ता गठबन्धनले सिट बाँडफाँड गर्न कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित रहेको कार्यदल निर्माण गरेको छ ।
सो कार्यदलले तयार पारेको खाकामा पार्टीका वरिष्ठ नेताहरुले सहमति गरेर सिट बाँडफाँडलाई अन्तिम रुप दिने भएका छन् ।
कार्यदलमा रहेका एक नेताका अनुसार कार्यदलले २०७४ सालमा जितेका स्थानमा पहिला जित हाँसिल गरेकै पार्टीहरुलाई सिट दिने र नेकपा एममालेले जितेका क्षेत्रमा मात्र गठबन्धनका दलहरुले सिट बाँडफाँड गर्न सक्ने अवस्था रहेको बताएका छन् ।
यदि त्यसो हुने हो भने कांग्रेसका नेता रामचन्द्र पौडेलले टिकट पाउने सम्भावना न्यून रहेको छ भने त्यसैगरी अन्य नेताहरु मोहन बहादुर बस्नेत, वीर बहादुर बलायर, दिल बहादुर घर्ती, चीनकाजी श्रेष्ठ, रामशरण महत, दीप कुमार उपाध्याय, रावि विक्रम शाह, रामजनम चौधरी, मदनबहादुर अमात्य, उमेशजङ्ग रायमाझी, अमृत अर्याल, बलबहादुर केसी लगायत धेरै नेताहरुले टिकट पाउन नसक्ने अबस्था देखिएको छ ।
अहिले कांग्रेसमा टिकट पाउनेहरुमा २५÷३० जना निश्चित जस्तै रहेका छन् । बाँकीमा पनि कांग्रैसको संस्थापन इतर पक्षलाई पनि समेट्नुपर्ने भएकाले संस्थापन पक्षका धेरै नेताहरु मात्र होइन महामन्त्री विश्वप्रकाश शर्माले समेत टिकट नपाउन सक्छन् ।
उनी २०७४ सालमा माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए । हाल पाँच दलीय गठबन्धनमा प्रत्यक्षतर्फका ८० सांसद रहेका छन् । जसमा कांग्रेसका २३, माओवादीका ३६ रहेकोमा ४ जना एमालेमा प्रवेश गरिसकेका छन् भने नेकपा एकीकृत समाजवादीका १२, जनता समाजवादीका १३ र राष्ट्रिय जनमोर्चाका १ जना प्रत्यक्षतर्फ जितेका सांसद रहेका छन् । यसरी पहिला जितेका ८० स्थानमा उनीहरुलाई छोड्दा र ५ स्थानमा मात्र भागवण्डा लगाउनुपर्ने हुन्छ ।
त्यसमा पनि कांग्रेसका २५÷३० जना निश्चित जस्तै भएकाले गर्दा कांग्रेसले पाउने टिकटमा ८÷१० जनाको व्यवस्थापन मात्र हुने भएकाले कांग्रेस भित्र ठुलो संकट आउने र विद्रोह हुन सक्ने सम्भावना समेत देखिएको छ ।




































