माधव नेपाल रौतहट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने
वि.सं.२०७९ साउन ३१ मंगलवार १३:२४
shares

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् । लामो समय रौतहट र काठमाडौं बाट चुनाव लड्दै आएका नेपालले एउटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार हुन पाउने भएपछि २०७४ मा काठमाडौं–२ रोजेका थिए ।
तर अहिले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाएका नेपालका लागि काठमाडौं–२ भन्दा रौतहट सुरक्षित मानिएको छ । नेपाल स्वयंको गृह जिल्ला बाटै चुनाव लड्ने चाहना पनि रहेको उनको निजी सचिवालयले जनाएको छ ।
चुनाव लड्ने तयारीका साथ नेपालले रौतहटमा आउजाउ पनि बढाएका छन् । १६ साउनमा मात्र उनले गौर सभाहल र रामजानकी मण्डप लगायतका योजनाको शिलान्यास गरेका थिए । भदौमा पनि उनी जाने तयारी छ ।
एकीकृत समाजवादीका रौतहट अध्यक्ष कमल राय यादवले पनि नेता नेपाल रौतहट आउने संकेत गरे । उनले भने, ‘हामीले उहाँलाई रौतहट १ मा आउन अनुरोध गरेका छौं । उहाँले पनि आउनसक्छु भन्नुभएको छ ।’ अध्यक्ष नेपाल उम्मेदवार भए सहज जित्ने उनको दाबी छ । भन्छन्, ‘एक्लै प्रतिस्पर्धा भयो भने पनि उहाँले जित्नुहुन्छ । गठबन्धन भयो भने अझ सहज हुन्छ ।’




































