सत्ता गठबन्धनलाई भागवण्डा मिलाउनै महाभारत
वि.सं.२०७९ मंसिर २२ बिहीवार १२:०६
shares

काठमाडौ । निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भईसकेको छ । सत्ता गठबन्धनले सरकार निर्माणको लागि आवश्यक बहुमत पु¥याउन नसकेपछि उसले केही स्वतन्त्र सांसद र एउटा पार्टीको समर्थन लिनुपर्ने बाध्यता उसलाई आइपरेको छ ।
अहिले सत्ता गठबन्धनसँग नेपाली कांग्रेसका ८९ माओवादी केन्द्रका ३२ नेकपा एकीकृत समाजवादीका १०, राष्ट्रिय जनमोर्चाका १, लोसपाको ४ सांसद रहेका छन् । अब सत्ता गठबन्धनको ध्यान स्वतन्त्र सांसद र जनमत पार्टीतर्फ गएको छ ।
सत्ता गठबन्धनमा १ सय ३६ सांसद रहेका छन् । त्यसमा पनि लोकतान्त्रिक समाजवादी पार्टी सत्तामा सहभागि हुने कि नहुने भन्ने निर्णयमा पुगेको छैन । संघीय संसदको २ सय ७५ सांसदको बहुमत भनेको १ सय ३८ हुने भएपनि सत्ता गठबन्धनसँग १ सय ३६ सांसद मात्र रहेका छन् ।
सत्ता गठबन्धनमा रहेका दुई दल नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीले समानुपातिक तर्फको सिट संख्या पाउन नसकेका हुनाले सत्ता गठबन्धनलाई स्वतन्त्र सांसद र एउटा सानो पार्टीलाई आफ्नो समर्थनमा ल्याउनुपर्ने बाध्यता रहेको छ । त्यही कारणले गर्दा सत्ता गठबन्धनको ध्यान जनमत पार्टीतर्फ गएको छ ।
जनमत पार्टीले प्रत्यक्षतर्फ १ सिटमा जित हाँसिल गरेको छ भने उसले जम्मा खसेको सदर मतको ३ प्रतिशत ल्याएको हुनाले समानुपातिक तर्फबाट ५ सिट पाएको छ । जनमत पार्टीले सत्ता गठबन्धनलाई सहयोग र समर्थन गरेको खण्डमा सत्ता गठबन्धनसँग १ सय ४२ सिट हुन्छ ।
नेकपा एकीकृत समाजवादीले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेपछि उ राष्ट्रिय पार्टी बन्नबाट बञ्चित भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीले गण्डकी प्रदेशमा समेत १.५ प्रतिशतको थ्रेस होल्ड कटाएपनि उसले गण्डकी प्रदेशमा समानुपातिक तर्फको सिट पाउन सकेन ।
सत्ता गठबन्धनले निर्वाचनको पूर्वसन्ध्यामा जसरी भएपनि बहुमत ल्याउने अभिव्यक्ति गठबन्धनका नेताहरुले दिएका भएपनि जनताले उनीहरुलाई पत्याई नदिएका हुनाले सत्ता गठबन्नले स्वतन्त्र सांसद र अन्य पार्टीको सहयोगमा सरकार निर्माण गर्नुपर्ने बाध्यता रहेको छ ।
निर्वाचनको परिणाम सार्वजनिक भई नसक्दै सत्ता गठबन्धन रहेका दलहरु सरकार निर्माणको क्रममा जुटेका थिए । सत्ता गठबन्धनभित्र कांग्रेसले पहिला प्रधानमन्त्री लिने कि माओवादी केन्द्रलाई दिने भन्नेमा विवाद रहेको छ ।
कांग्रेसभित्र सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धनको बलमा छैठौँ पटक प्रधानमन्त्री बन्न चाहिरहेका भएपनि उनलाई संसदीय दलको नेता बन्नबाट रोक्न महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा सहितको रामचन्द्र पौडेल, डा. शेखर कोइराला लागि परेका छन् । शशांक कोइराला भने देउवाकै पक्षमा भएकाले उनी मन्त्री बन्ने पक्कापक्की भएको छ ।
गगन थापाले निर्वाचनको बेला आफू प्रधानमन्त्रीको उम्मेदवार रहेको भन्दै आफ्नो निर्वाचन क्षेत्रमा मत मागेका थिए भने शर्माले थापाको प्रस्ताव आफू रहेको बताएका थिए ।
कांग्रेसले एक्लै बहुमत पु¥याउन नसकेको हुनाले सत्ता गठबन्धनमा रहेका दलहरुले देउवा बाहेका अन्यलाई सहयोग गर्न नसक्ने वातावरण मिलाउन देउवाले पुष्पकमल दाहाल र माधव नेपाललाई आग्रह गरेका हुनाले गठबन्धनको सहयोग विना कोही पनि प्रधानमन्त्री बन्न सक्ने अवस्था नरहेको र दाहाल र नेपालले देउवालाई नै सहयोग गर्ने भएकाले गर्दा देउवा नै प्रधानमन्त्री बन्न सक्ने सम्भावना देखिएको छ ।
सत्ता गठबन्धनभित्र पनि माओवादी र कांग्रेस मध्ये को पहिला प्रधानमन्त्री बन्ने भन्नेमा सामान्य विवाद रहेको छ । सत्ता गठबन्धनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र ७ प्रदेशका प्रमुखहरुमा भागवण्डा लगाएर अहिले नै आलोपालो प्रधानमन्त्री बन्ने सहमति गर्ने प्रयास गरिरहेको हुनाले कांग्रेसले प्रधानमन्त्री लिएमा राष्ट्रपति माओवादीले पाउनुपर्ने माग माओवादीबाट हुँदै आएको छ ।
कांग्रेसले प्रधानमन्त्री र सभामुख लिने भए राष्ट्रपति र उपसभामुख आफूले पाउनुपर्ने र माधव नेपालको पार्टीलाई उपसभामुख र लोकतान्त्रिक समाजवादी पार्टीलाई उपराष्ट्रपति दिन सक्ने सम्भावना समेत रहेको छ । जे होस् सत्ता गठबन्धनले महत्वपूर्ण पदहरुमा भागवण्डा गरेर ‘टाला टुली बटुली कति राम्री पुतली’ भने झैँ गरेर सरकार निर्माण र्ने प्राय निश्चित रहेको छ ।
निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपतिले संसदको बैठक आह्वान गरेपछि संसदबाटै प्रधानमन्त्रीको चयन हुने र राष्ट्रपतिले प्रधानमन्त्रीलाई नियुक्त गर्ने सम्वैधानिक व्यवस्था रहेको छ ।
राष्ट्रपतिले निर्वाचनको परिणाम बुझेको ३० दिन भित्रमा संसदको बैठक बोलाउनुपर्ने हुन्छ त्यही कारणले गर्दा पुसको १५–२० गते भित्रमा नयाँ सरकार गठन हुन सक्छ । तर त्यो सरकार पनि विभिन्न दलको भएको हुनाले अब बन्ने सरकार पनि जनताको लागि वेल पाक्यो हर्ष न विस्मत जस्तै हुने प्रायः निश्चित रहेको छ ।





































