चार महिनापछि खुल्योे मनकामना मन्दिर
वि.सं.२०७८ भदौ २३ बुधवार ११:५८
shares

काठमाडौँ ।
नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर चार महिनापछि खुलेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुल्ला गरिएको मन्दिरका मूल पुजारी इन्सानबहादुर थापामगरले बताएका हुन् । ।
मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वस्थ्य मापदण्डको पालना गर्ने गरी सर्वसाधारणका लागिसमेत पूजाआजा गर्न मन्दिर खोल्ने निर्णय गरेसँगै आजदेखि मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको उनले बताए । आज बिहान नियमितरूपमा गरिने नृत्य पूजा गरेर सर्वसाधारणलाई पनि पूजाआजाका लागि मन्दिरमा प्रवेश गराइएको छ, मूल पुजारी थापाले भने, पुजारी र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पूजा सामग्री पुजारीलाई दिने गरी व्यवस्था मिलाइएको छ ।
मन्दिरमा भाकल बुझाउन आउने भक्तजनका लागि बलि दिने स्थानमा समेत छुट्टै पुजारीको व्यवस्था मिलाइको उनले बताएका छन् । चार महिनापछि मन्दिर खुल्ला भएको पहिलो दिनमै सयौँ भक्तजन पूजापाठका लागि आएको मूल पुजारी थापाले जानकारी दिए । मन्दिरमा पुग्ने भक्तजनले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने लगायतका व्यवस्था समेत गरिएको छ




































