हिन्दुपरम्परागत अनुसार आज तीजको दर खाने दिन
वि.सं.२०७८ भदौ २३ बुधवार १२:१५
shares

काठमाडौं ।
हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन अर्थात आज दर खाने दिन रहेको छ । दर खाने दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने परम्परासमेत रहिआएको छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार व्रत बस्ने भएकाले त्यसका लागि शक्ति प्राप्त गर्न अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने गरिन्छ ।दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक रहेको छ ।
कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनी निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन रहेको छ ।






































