राणाकालमा झेली जुवाडे दीव्यदेवको कौडा खाल नभए के हो यो ?
वि.सं.२०७९ फागुन २५ बिहीवार ११:५७
shares

राजन कार्की
लोकतन्त्र खाईसार कि लाइसार, मरेपछि लम्पसार भन्ने उखानभन्दा पनि अगाडि ज्यूँदै लम्पसार पर्नुपर्ने अवस्था पो आयो । खतिको बेला मति आउँदैन भन्ने उखान छ हाम्रो समाजमा लोकतन्त्रवादी नेताहरुले देशलाई त्यही नीयतिको भुङ्ग्रोमा होमिदिए । नेपाली राष्ट्रवाद, सुशासन र समृद्धि जुवाडेको थर्की बन्यो, राजनीति नेताहरुका लागि राणाकालको दीव्यदेवको चारै ठाडा, चौका हुन पुगेको छ ।
तत्कालीन राणाकालमा चारखालमा जूवा फुक्थ्यो । राणाका तर्फबाट दीव्यदेव कौडा हान्थे । दीव्यदेवको चमत्कारिक कौडा सकुनीको भन्दा खतरनाक हुन्थ्यो । दीव्यदेव कहिले हार्दैनथे । हार्न थाले भने कौडा हान्नासाथ राणाहरुले मार्रा… भनेर जीउ र टाउकाले थर्की छोप्थे र जनताको पैसा सोहोर्थे । लोकतन्त्र दीव्यदेवको कौडा बनेको छ । नेकपाका अरिंगालहरु हातले, खुट्टाले, सबै तरिकाले देशव्यापी भ्रष्टाचार गरिरहेका छन् । जनताको रगत पसिना सोहोरिरहेका छन् । यो राणाकालको दीव्यदेवको कौडा नभए के हो ?
राणाकालमा जुवा फुक्नु र लोकतन्त्रमा भ्रष्टाचार फुक्नु बराबर भएको छ । यिनलाई न कानुनले, न राज्यसञ्जालले, कसैले पनि छुन सक्दैन । त्यसैले त भ्रष्टाचारी र अपराधीहरु देशका शासकभन्दा बलिया देखिएका छन् ।
बरु राणाहरुले अंग्रेजलाई रिझाएर १८५७ मा नयाँ मुलुक फिर्ता लिएका थिए । सन १९५० मा मोहनशमशेरले भारतसँग सन्धि गरेर प्रतिगामी पाइला के चाले आजसम्म नेपाल त्यो दलदलबाट उम्कन सकेको छैन । १९५० मै भारतसँग सन्धि गर्ने सिक्किमले त राष्ट्र नै गुमायो । त्यसअघि नै १९४९ मा भारतसँग सन्धि गरेर परराष्ट्र र सुरक्षानीतिमा पराधीन बनेको भुटान आज नेपालभन्दा आर्थिक र कूटनीतिक पक्षमा दह्रिलो छ । एउटा चुङ्खा आयोजनाले भुटानी जनताको कायापलट नै गरिदिएको छ । राजनीतिको प्राथमिकता राष्ट्र भएको भए नेपालमा दशवटा चुङ्खा योजना बनिसकेको हुनेथियो । देशमा राजनीतिक इच्छाशक्ति सधैं खट्कियो । एउटा मेलम्चीका लागि ३२ वर्ष खर्चियौं, ३२ अर्वभन्दा बढी भ्रष्टाचार भइसकेको छ । तैपनि मेलम्चीको पानी पिउन पाइन्छ भन्ने ग्यारेण्टी छैन । देशको प्राथमिकताको योजनाको यो हाल छ, विकास आयोजना भनेका चाल्नो हुन्, चाल्नोबाट चुहिनेबाहेक अरु के नै हुन्छ र ? नेताहरुले समृद्धशाली देशलाई सुनको थालमा माँगेर बाँच्ने पिँध नभएको पुङमाङे बनाइदिए ।
पुङमाङे नेता भएको देशमा केको शान्ति, केको समृद्धि, के को सुखको कुरा ? राजनीतिमा राजनेता नभएकाले नै नाइजेरियाजस्तो बनेको हो नेपाल । नेपालमा राजनीति भनेको चुनाव हो, चुनाव जित्नुमात्र हो । जनमत भनेको खोलो त¥यो लौरो बिर्सियो भएको छ ।
आफ्ना नागरिकलाई कम्बल ओढाएर बाँकी दुनियासँग अलग राख्ने उत्तरकोरिया अमेरिकासँग आमनेसामने कुरा गर्ने हैसियतमा पुगिसक्यो । उत्तरकोरियामा लोकतन्त्र छैन तर राष्ट्रतन्त्र मजबुत छ । मजबुत राष्ट्रतन्त्रमा लोकले चाहेको कुनै पनि तन्त्र कुनै पनि बेला स्थापित गर्न सकिन्छ । स्वाभिमानको अभिमानले देश उठाउँछ । हामीसँग लोकतन्त्र छ, स्वाभिमान मैनबत्ती पग्लिएजसरी दिनदिनै पग्लिदै गएको छ । स्वाभिमानले देश बचाउने र बनाउने हो, स्वाभिमान नभएकाले नै देश भ्रष्टाचारतन्त्र बन्न पुगेको हो ।
हाम्रा आदरणीय नेताहरु विदेशीका तोक आदेशमा चल्ने विश्वासिला खजाञ्ची, खरदार बनेका छन् । परिवर्तन भयो भनेर मूलाजत्रो नाक फुलाएर के गर्ने ? लोकतन्त्र आयो भनेर धक्कु लगाएर के गर्ने ? कुन दिन नेपालको दण्डहीनता जेनेभाको मुद्दा बन्नसक्ने खतरा बढेको छ । सोझा जनतालाई झुक्याएर त्रिदेव– ब्रम्हा, विष्णु, महेश्वर हामी नै ह्वौ भनेर गुड्डी हाँक्नेहरु नेताहरुको जनताको सेवक हुनुपर्ने हो, विदेशी मालिकका भरिया पो बनिरहेका छन् ।
लोकतन्त्र अगाडि छ, नेतृत्व पछाडि हेर्छ । लाटोकोसेरो अँध्यारोमा देख्छ, हाम्रा नेता उज्यालोलाई अँध्यारो पाछनर्् । छातीमा देश र नेपाली भेष भएको भए, मुखमा लोकतन्त्र र व्यवहारमा शक्तिको भोकतन्त्र नदेखाएको भए, भाषणमा क्रान्तिकारिता र कृयाकलापमा दासता प्रदर्शन नगरेको भए, नेताहरु दक्षप्रजापतिको बोको टाउकेजस्तो बन्ने थिएनन् । जनताले श्रीखण्ड भनेर टीका लगाए, नेताहरुले जनता, जनमत, जनबल र जनअपेक्षालाई कुल्चिए । चम्कने बस्तु सबै हीरा हुँदैनन् भनेको सही साबित भएको छ ।
हाम्रो नेतृत्व खोटा सिक्का हुन् ।
अब्राहम लिंकनले भनेका थिए– कुशल शासक भविष्यको चिन्ता गर्छन् राजनीतिज्ञ आगामी चुनावको मात्र चिन्ता गर्छन् । हाम्रो राजनीति र नेता राजनीतिमात्र गरिरहेका छन् । यिनलाई भविष्यको चिन्ता छैन । जसरी पनि लुट्न पाए भविष्य उज्यालो हुन्छ भन्ने भ्रममा बाँचेका छन् । गणतान्त्रिक लोकतन्त्र आएपछि देशले कोल्टे फेर्ने जनआशा असफल हुनुको कारण यही हो ।
लोकतन्त्रको विश्वसनीयता सत्तलसिंह महाराजको कथा बनिसक्यो । लोकतन्त्रले देश बेच्यो कि बेचेन भन्ने यक्ष प्रश्न खडा छ । नासिर र नासूरमा अन्तर नदेख्ने अझै भ्रमको सदबिज छर्दैछन् । जनताले थाहा पाइसकेका छन्– वीरका सन्तान नेताहरु खाँटी भूमिपुत्रसम्म बन्न सकेनन् । नेपाली मारेर आफू धनाध्ये हुने, शक्तिशाली बन्ने र विदेशी पोस्ने यिनको नीति रह्यो ।
लोकतन्त्र भएर के गर्ने, जीवन छैन । यो बर्तमानको मूर्दा राजनीति हो ।
देश मै हुँ भन्छन् नेताहरु, पार्टीहरु । घटनाक्रमले देखायो, यी देश होइनन् देशका दशा हुन्, सराप हुन् । दलीय स्वार्थभन्दा माथि उठ्न नसक्नेहरु सपनामा छन् । यिनीहरुको अनुहारमा छर्लङ्गै देखिन्छ– गणतान्त्रिक लोकतन्त्रको भ्रष्टाचारी क्यान्सर लागेको ख्याउटे र मरञ्च्याँसे अनुहार । मृत्युनिकट पुगिसकेको यो चरित्रले हाँकेको लोकतन्त्रले न स्वर्गको सुख दिन्छ, वर्तमानलाई नै सुख दिनसक्छ ।
विश्वको राजनीतिक पुस्तकमा १५ हस्तीका नाम स्वर्णाक्षरले लेखिएका छन् । यो सूचीमा लिङ्कन, मार्टिन लुथर किङ्, देङ्सियाओ पिङ, आङ्साङ् सुकीदेखि थाइलैण्डका राजा भूमिबलसम्मको नाम छ तर यति ठूलो परिवर्तन ल्याउने नेपालका कुनै नेताको नाम सूचीकृत छैन । गिरिजाप्रसाद कोइरालालाई भारतले ‘दक्षिण एसियाका आदरणीय राजनेता’ भनिदियो, यिनै कोइरालालाई कार्टरले नेपाल आएर ‘मेरो हिरो’ भनेर सम्मान दिए, उनी मर्दा कुनै सरकार प्रमुखसम्म आएनन् । विश्व समाचार बनेका प्रचण्डसमेत आजकल झिंगा भन्काएर चाउरिएका छन् । जनयुद्धका पीडितले न्याय चाहियो भन्दा प्रधानमन्त्रीको पदबाटै प्रतिकार गरिन्छ भनेर उभिन पुगेका छन् । उनका क्रान्तिकारी दस्ता कसैलाई छाडिन्न भनेर तर्साउन थालेका छन् । पदमा बस्ने, न्याय नदिने, उल्टो उम्लने, अति भएन र ?
यिनीहरु अझै चेतेका छैनन्, राजनेता बन्ने चाह यिनमा पलाएको देखिदैनन् । कस्तो राजनीतिको जरा मरेको रुख हुन् नेपाली नेता, पार्टीहरु । यस्ता नेताहरुको चिरफार गर्ने हो भने यिनको पेटमा लोकतन्त्र होइन, भ्रष्टाचारको कन्टेनरमात्र फेला पर्नेछ । देशमाथि यति ठूलो गद्धारी ? तैपनि जनता यिनलाई नै जनप्रतिनिधि मानिरहेका छन् ।
नेपालभन्दा कान्छो अमेरिका, विश्वशक्ति हो । जेठो नेपाल, कहिल्यै उपनिवेश नबनेको नेपाल भिखारीबाट माथि उठ्न सकेको छैन । नेपालभन्दा धेरै पछिमात्र खुलापनको बाटोमा हिंडेको स्वीट्जरलैण्ड कहाँ पुग्यो ? चमत्कारको प्रतिक्षालय भेट्न नेपाल बामे सर्दैछ । कहिले पुग्छ, यस्तो लोसे र बदनाम अग्रगमनको सवार गरेर ।
लिम्पियाधुरा, लिपुलेक, कालापानी क्वाप्प खाइसकेको भारत नेपाली सीमामा गाउँ बसाल्न, बाँध बाँध्न र राजमार्ग निर्माण गर्न थालेको छ । सीमाबारे एउटै बुद्धिनारायण श्रेष्ठ, बिधिबारे भीमार्जुन आचार्य, संविधानबारे थुप्रै संविधानविद, नागरिकताबारे बालकृष्ण न्यौपाने, मानवाधिकारबारे गौरी प्रधान, सुशासनबारे उमेश मैनालीको प्रश्नको जवाफ दिने क्षमता राज्यसञ्चालकहरुसँग देखिन्न । ब्राजिलपछिको जलसम्पदाको धनी देशमा किन जलविद्युत विकास हुनसकेन ? आन्दोलन र जनयुद्ध उचाल्न सक्ने हातले भ्रष्टाचार उचाले, देश उचालेनन् भन्ने प्रमाण हो यो । राजतन्त्रको अन्त्यपछि ‘जुबिलियन’ हुनुपर्ने शक्तिहरु निचोरेको कागती अनुहारमा देखिन्छन् । नेताहरु देख्दा दया लाग्छ । घृणा लाग्छ ।
एकथान राजा फालेर हजारौं महाराजा बनाउनुको मूल्य नेपाल र नेपालीले चुकाइरहेका छन् । विनोवाभावेले जो उपकार गर्नेलाई नीच मान्दछ, त्योभन्दा नीच अर्को कोही हुँदैन भनेको नेपालमा साबित हुनपुग्यो । जनता सोझा भएकाले भ्रष्ट नेताले हेपेका हुन् । जनता अव सालिक बन्नुहुन्न । बुझकीहरु भन्छन्– जनता जुन स्तरका छन्, तिनले त्यही स्तरको नेता पाउनेछन् । नेपाली जनता सोझा भएकाले नेताहरु राजनीतिलाई व्यवसाय बनाउन सकेका हुन् । जनता सचेत छन्, बुझ्छन् तर प्रतिवाद गर्दैनन् । यसकारण पनि जनतामाथि राजनीतिले अत्याचार दिनदिनै बढाउँदै लगेको छ ।
मानौं, लोकतन्त्रमा जुवा फुकेको छ । राणाका तर्फबाट दीव्यदेवले कौडा हानेझैं दलका नेता र कार्यकर्ता भ्रष्टाचार गरिरहेका छन् र भ्रष्टाचार सदाचार बन्दै गएको छ । राजनीतिसँग जनताले जुझारुपन नदेखाउँदा नेपाल र नेपाली आफै जोखिममा पर्दै गएका छन् ।
अव बहस हुनुपर्छ– राजनीति नीति हो कि दिव्यदेवजस्ता झेली जुवाडेको कौडा ? अव पनि बहस हुनसकेन र जनताले राजनीतिक उच्छृङ्खलतालाई छाडा साँडेसरह छाडे भने योभन्दा बढी मूल्य चुकाउनु पर्नेछ । देश संकटमा छ, जनताले संकटसँग लड्ने दिन आयो ।
जनता लड्छन् कि सहेर मर्छन् ? जनताले नै निर्णय गरुन् ।


































