kumari
stcnepal

कि राजीनामा कि पद रिक्तको घोषणा

 

काठमाडौ । जनताका समस्याका बारेमा छलफल गरी सरकारको ध्यान गराउने प्रमुख थलोको रुपमा रहेको प्रतिनिधिसभा अहिले बन्धक जस्तै देखिएको छ । प्रतिनिधिसभालाई बन्धक बनाउने काम पाँच दलीय गठबन्धन र प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले गरेका हुन् । नेकपा एमालेले गत भाद्र १ गते नै माधव नेपाल सहितका १४ सांसदले पार्टी हित विपरितको कार्य गरेको भन्दै उनीहरुलाई कारबाही गरी उनीहरुको सांसद पद रिक्त रहेको घोषणा गर्न संसद सचिवालयमा पत्र पठाएको थियो । तर सभामुख सापकोटाले १३ दिनसम्ममा पनि कुनै निर्णय नगरी माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि मात्र सभामुखले माधव नेपाल सहितका अन्य केहीले नयाँ पार्टी दर्ता गरी प्रमाणपत्र समेत पाइसकेका हुनाले उनीहरुलाई

कारबाही गर्नु परेन भन्ने फर्रमान जारी गरेपछि त्यही विवादले संसद बन्धक बनेको हो ।
केही महिना पहिला माओवादी केन्द्रले टोपबहादुर रायमाझी सहितका अन्य केही सांसदलाई कारबाही गरी त्यसको जानकारी संसद सचिवालयमा गराएकोमा सभामुख सापकोटाले २४ घण्टा नवित्दै उनीहरुको सांसद पद रिक्त रहेको घोषणा गरेका थिए । तर माधव नेपाल सहितका १४ सांसदहरु पाँच दलीय गठबन्धनमा लागेका हुनाले उनीहरुमाथी कारबाही भएन अहिले त्यही कारण नेकपा एमालेले संसद अवरुद्ध गरिरहेको छ भने सभामुख सापकोटा प्रमुख विपक्षी दललाई पेलेरै अघि बढ्ने मनस्थितिमा रहेपनि उनको त्यो प्रयासले सफलता पाउन सक्ने सम्भावना न्यून रहेको छ ।

अब सभामुख सापकोटासँग यी विकल्पहरुमात्र बाँकी रहेका छन् जस्मा माधव नेपाल सहितका सांसदहरुलाई नेकपा एमालेले कारबाही गरिसकेको हुनाले उनीहरुको सांसद पद रिक्त भएको सूचना टाँस गर्ने वा राजिनामा दिने अथवा महाअभियोगको सामना गर्ने, कि विपक्षीहरुलाई पेलेरै अघि बढ्ने । सरकार र सभामुख सापकोटा विपक्षी दललाई पेलेरै अघि बढ्ने पक्षमा रहेका हुनाले संसदलाई बन्धक बनाउन सरकार र सभामुख नै लागि परेको जस्तो देखिएको छ ।

नेकपा एमालेले कारबाही गरेका १४ सांसद माथिको कारबाही सभामुख सापकोटाले रद्दीको टोकरीमा फयाकिदिएपछि एमाले आगो भएर निस्किएको छ । संसदमा अप्रिय घटना घटेको खण्डमा त्यसको जिम्मेवारी सरकार र सभामुखले लिनुपर्ने उसले बताईसकेको हुनाले सभामुख सापकोटा पनि पाँच दलीय गठबन्धनको बलमा तत्काल झुक्ने अवस्था देखिएका छैनन् । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर नेकपा एमालेका माधव नेपाल समूहलाई पार्टी विभाजन गर्न सहज गरिदिएको थियो । त्यही कारण देउवा सरकारसँग पनि नेकपा एमाले रुष्ट बनेको छ ।

सभामुख सापकोटाले गत सोमबार सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा सरकारमा सहभागि भएका र पाँच दलीय गठबन्धनमा रहेका दलहरुका नेताहरु मात्र उपस्थित रहे । नेकपा एमालेले सभामुख सापकोटाले आफूहरु कुरा गर्नुपर्ने र मूल समस्या भनेको एमालेसँग रहेको हुनाले सरकारमा सहभागि भएका दलहरुको बैठकमा आफूहरु नगएको बताएका छन् । सभामुख सापकोटाले साँच्चिकै समस्याको समाधान चाहेका हुन् भने कित माधव नेपाल सहितका सांसदको पद रिक्त भएको घोषणा गर्न प¥यो कि राजिनामा दिएर सहज वातावरण बनाउनुप¥यो यो भन्दा अर्को विकल्प देखिँदैन ।

footer