kumari
stcnepal

साफ च्याम्पियनसिप : पहिलो पटक च्याम्पियन बन्ने नेपालको लक्ष्य

 

काठमाडौं । शुक्रबारदेखि माल्दिभ्समा १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल सुरु हुँदैछ । २८ वर्षको इतिहास बोकेको साफ च्याम्पियनसिपको उपाधि नेपालले अहिलेसम्म जित्न सकेको छैन । उपाधिको कुरा छाडौं, नेपाल अहिलेसम्म फाइनलमा पनि पुग्न सकेको छैन ।

यसपटक च्याम्पियन बन्ने लक्ष्यसहित किरण कुमार लिम्बु (चेम्जोङ) को कप्तानीमा नेपाली टोली सोमबार माल्दिभ्स पुगिसकेको छ ।
साफकै लागि भनेर नेपालले करिब ३ महिनादेखि निरन्तर तयारी गरिरहेको थियो । नेपालले पछिल्लो दुई साता र केही दिन भने कतारमा बन्द प्रशिक्षण गरेको थियो ।

माल्दिभ्स जानु अघिल्लो दिन नेपालले गल्फ राष्ट्र ओमानसँग कतारमा मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो । तर कतार युनिभर्सिटीको मैदानमा भएको खेलमा नेपाल ७–२ ले पराजित भयो । नेपालका लागि आयुष घलान र अनन्त तामाङले गोल गरेका थिए ।
फिफाको मान्यता नभए पनि नेपाललाई साफ अघि उक्त खेल आफ्नो कमजोरी थाहा पाउने अन्तिम अवसर थियो ।
कतार जानुअघि नेपालले काठमाडौंको दशरथ रंगशालामा छिमेकी भारत विरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा अग्रता लिएर पनि १–१ को बराबरीमा रोकिएको नेपाल दोस्रो खेलमा भने भारतसँग २–१ ले पराजित भएको थियो ।
साफअघि नेपालले लगातार प्रशिक्षण गर्दै आएको छ भने मैत्रीपूर्ण खेल समेत खेलेको छ । नेपालले जस्तै माल्दिभ्स र श्रीलंकाले पनि कतारमा क्लोज क्याम्प राखेको थियो । बंगलादेशले भने थ्री नेशन्स कप खेलेको थियो ।

माल्दिभ्ससँग पहिलो खेल

नेपालले घरेलु टोली माल्दिभ्ससँस असोज १५ गते (१ अक्टोबरमा) खेल्दै साफ च्याम्पियनसिपको यात्रा सुरु गर्नेछ । माल्दिभ्स साविक विजेता समेत हो । सन् २०१८ मा बंगलादेशमा भएको साफमा उपाधिको दाबेदारको रुपमा रहेको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँगै पराजित भएको थियो । अन्तिममा माल्दिभ्सले भारतलाई हराएर उपाधि जित्यो ।

 

साविक विजेता र आयोजक टिमसँग पहिलो खेल खेल्दा गाह्रो हुने नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बुझेका छन् । पहिलो खेल कठिन हुने उनले यसअघि नै बताइसकेका छन् ।

कुवेती प्रो लाइसेन्स प्रशिक्षक अलमुताइरीको प्रशिक्षणमा रहेको नेपालले श्रीलंकासँग असोज १८ गते ( ४ अक्टोबरमा) दोस्रो खेल खेल्नेछ । त्यसपछि नेपालले भारतसँग असोज २४ गते (१० अक्टोबरमा) खेल्नेछ भने बंगलादेशसँग असोज २७ गते (१३ अक्टोबरमा) खेल्नेछ ।

यस पटक पाँच टिम मात्र सहभागी रहेकाले सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिमले असोज ३० गते (१५अक्टोबरमा) फाइनल खेल्नेछन् ।
आयोजक माल्दिभ्ससँगै नेपाल, भारत, बंगलादेश र श्रीलंकाले १२औं संस्करणको साफ खेल्दैछन् । भुटानले कोभिड–१९ का कारण ट्राभल रेस्ट्रिक्सनले गर्दा सहभागिता जनाएन भने पाकिस्तान फिफाको प्रतिवन्धमा रहेकाले खेल्न पाएन ।

सिंगल राउण्ड रोविनको खेलपछि शीर्ष दुई टिमबीच फाइनल हुनेछ । यसअघि समूह चरण सेमिफाइनल हुँदै फाइनल खेल हुन्थ्यो । यस पटक फाइनल पुग्नका लागि कम्तीमा पनि तीन टिमलाई पछि पार्नुपर्ने छ ।

footer