नेपालको नेतृत्व, अन्धाको देशमा गाँडो तन्नेरी
वि.सं.२०८० असार ७ बिहीवार १५:५९
shares

राजन कार्की
अन्धाले हात्ती छाम्यो भने ठूलो पातजस्तो, अजङ्गको पहाडजस्तो, कस्तो कस्तो । देख्दैन, अनुभूति गर्ने न हो । उसले जे अनुभूति ग¥यो, त्यही बतायो ।
नेपालको लोकतन्त्र बोल्न खूब पाइन्छ, सुनवाई कतै हुँदैन । यहाँसम्म कि महालेखाले देखाएको बेरुजु फस्र्यौट हुँदैन, उठाउनुपर्ने उठाइदैन, भ्रष्टाचार भएकै हो भनेर किटानी तथ्य देखाइदिंदा छानबिन नै गरिदैन । बिगत १७ वर्षदेखि यही प्रकृया चलिरहेको छ ।
अन्धाले हात्ती छामेजस्तो छ लोकतन्त्र । कस्तो कस्तो ? यस्तो लोकतन्त्रले अग्रगामी परिवर्चन दिन्छ, शान्ति र समृद्धि ल्याउँछ भनेर आमनागरिक अझै प्रतिक्षा गरिरहेका छन् । आमनागरिकका लागि यी नेता र यो पद्धतिलाई समर्थन गर्नु भनेको हरेक दिन आकाशतिर फर्केर थुक्नुजस्तै भएको छ । अति भइसक्यो, अब अर्को परिवर्तन जरुरी छ ।
भन्छन्, समाज बुझ्नेहरु भन्छन्– श्रीलंकामा जसरी जनविद्रोह भयो, त्यसैगरी नेपालमा पनि विद्रोह हुनेछ । त्यो दिन धेरै टाढा छैन ।
जनता पनि उस्तै । यिनै नेताले सुख समृद्धि दिनेछन् भनेर पटक पटक यिनै नेतालाई चुनाव जिताउँछन्, सत्तामा पु¥याउँछन् । जनमत पाउने नेता फेरि सत्तामा जान्छन् र फेरि फेरि जनतालाई धोका दिन्छन् । जनताको इच्छा र अपेक्षा बुझ्दैनन् ।
अबुझ र हेपाह नेतालाई दण्ड दिने जनताले हो । दण्ड दिने विधि मतदान नै हो । हरेक मतदानमा असक्षम नेतृत्व पैसा छर्छन्, आश्वासन बाँड्छन्, अब त हामी जनताको इच्छाको संवोधनमात्र गर्छौं भन्छन्, चुनाव जितेपछि उही पार्टी पार्टीवीचको सेटिङ, नेता नेतावीचको लेनदेनमा रमाउँछन् । राजनीति व्यवसाय बन्यो, मुनाफा बाहेक केही हेर्दैनन् ।
यसकारण त राजनीति गर्नेहरु कुनै कामै नगरी हजारपछि, लखपछि, करोडपछिबाट अर्वपति बनेका छन् । हरेक नेता भ्रष्टाचारमा लतपतिएका छन् । हरेक नेता सिद्धान्तहीन, नैतिकहीन भएका छन् । सत्ता, शक्ति र सम्म्पत्तिको स्वार्थका लागि नेतृत्व जे जस्तोसुकै घात गर्न पनि डर मान्दैनन् ।
जनताले दण्ड दिनेछन् भनेर कुनै भय नै छैन नेतृत्वपंक्तिलाई । यसकारण बढेको छ खेलाँची, अनियमितता ।
१८ वर्ष भ्रष्टाचारको पोखरीमा भैंसी आहाल बसेजसरी बसेका छन् नेताहरु । प्रशासकहरु । लोकतन्त्र र गणतन्त्रका सामान्य लक्ष्यणहरुसमेत नदेखिएपछि प्रश्न उठ्नु स्वभाविक हो– यो लोकतन्त्र हो कि अन्धा धृतराष्ट्रतन्त्र ? हुन पनि नेपालमा अन्धो शासन छ, अन्धो शासनमा न्याय कम, अन्याय बढी हुन्छ, भइरहेको छ ।
महाभारतको कथामा धृतराष्ट्रले पुत्रमोह र सत्तालिप्सामा यसरी अन्धो बने कि उनको शारीरिक र विवेकको दृष्टिसमेत बन्द भयो, जसको परिणाम महाभारतको युद्ध हो । अन्धाले राष्ट्र चलाउने, शासन दुर्गणी दुर्योधनले गर्ने, नीति र सिद्धान्तले मिलेन भन्ने भीष्म, विदुरको चिच्याहट कसैले सुनेनन र परिणाम महाभारतको युद्ध हुनपुग्यो । जुन युद्धले कुरु बंश नै समाप्त हुनपुग्यो । अनैतिकताको नाली कति डरलाग्दो हुन्छ, शिक्षा लिन कोही अग्रसर छैनन् ।
महाभारतको युद्धमा छोरा दुर्योधनले जित्छ कि जित्दैन भनेर सुन्न मन गरेर धृतराष्ट्रले सञ्जयलाई साक्षीका रुपमा उभ्याए । सञ्जयले नै १८ दिने महाभारतको वयान सुनाएका थिए । धृतराष्ट्र कहिले खुशी हुन्थे, कहिले दुखी । उनको मनले पाण्डवपंक्तिलाई सराप्थ्यो, तर नियतिमा धृतराष्ट्रको हार लेखिएको थियो ।
नेपालमा ठूलै जनयुद्ध, जनआन्दोलन भयो । २०६३ को परिवर्तनपछि समाजवादी, सर्वहारावादी, प्रजातन्त्रवादी, लोकतन्त्रवादी, अनेकवादीहरुले सिद्धान्तहीन गठबन्धन गरेर देश र दुनियाँलाई लुटिरहे । न सिद्धान्त रह्यो, न नीति, न नैतिकता नै बाँकी छ । यो मिलेन, भएन भन्नेहरुले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमबाट र सडकबाट आलोचना गरिरहेका छन्, यो आलोचना धृतराष्ट्रले पुत्र र सत्ता मोहमा अन्धो भएझैं वर्तमान नेतृत्व अन्धो बनेर सत्ता र शक्ति लिप्सामा मग्न भइरहेका छन् । उनीहरुलाई के सही र के गलत, के लोकतन्त्रवादी, के अलोकतन्त्र भइरहेछ भन्नेसम्मको हेक्का समेत हुन छाडेको छ । यसकारण त प्रश्न उठेको हो– यो लोकतन्त्र हो कि अन्धा धृतराष्ट्रतन्त्र ? नेपालको शासन प्रशासनमा कसी लगाउने हो भने जंगलराज छ, अन्धतन्त्र छ ।
१८ वर्षे अवसरवादी राजनीति गाईजात्रे बनेको छ । आमनागरिक भोक, रोग, वेरोजगारी, अन्याय, अत्याचार, विभेदबाट प्रताडित भइरहेका छन् । स्वार्थले बसिभूत बनेका धृतराष्ट्र र नेपाली नेताहरुमा भिन्नता देख्न सकिदैन । नेतृत्वको नियत खराव छ, खराव नियत भएका नेताहरुले सञ्चालन गरेको लोकतन्त्र, गणतन्त्रको परिणाम खराव नै निस्किरहेको छ ।
राज्यका हरेक तह र तप्का, सञ्जालमा भ्रष्टाचार व्याप्त छ । विश्वले नेपालको विश्वसनीयतामा समेत प्रश्न उठाइसकेको छ । यसको ताजा उदाहरण हो– नेपाली ध्वजाबाहक विमानलाई युरोपले लगाएको बन्देज अर्थात कालोसूचीमा नेपाल परेको १० वर्षपछि पनि प्रतिवन्धलाई निरन्तरता । शासन राजनीतिमा अपराधिकरण भएर भइरहेको छ । यसकारण त सुशासन छैन, कुशासन व्याप्छ छ । यसको अर्थ जति सरकार बने, तिनले नेपाल एयरको मात्र होइन, सेवाग्राही जनताको र नेतृत्वले गर्नैपर्ने कर्तव्यको गुणस्तरमा कुनै ध्यान दिएनन् । हुन त वाइड बडी र न्यारोबडी दुई विमान खरिद गर्दा अरवौं भ्रष्टाचार गरेको रिपोर्ट युरोपलाई थाहा छ । सरकारी निकाय महालेखाले नै ४ अर्व ३५ करोड भ्रष्टाचार भएको प्रतिवेदन बुझाएको हो । महालेखाले दिएको प्रतिवेदनमा समेत कुनै छानबिन भएन । संसदीय छानबिन समिति बन्यो, कुनै छानबिन नै नगरी बेवास्ता गरियो । जनताको स्वास्थ्यमा खेलबाड छ, शिक्षामा नेतृत्वको व्यवसाय चलिरहेको छ । मानव तस्करीमा समेत नेतृत्व फस्न पुग्यो । यस्तो देशको सुरक्षामा समेत प्रश्न उठ्नु स्वभाविक हो । यो परिदृश्य राष्ट्र बिघटन हुनसक्ने खतराको संकेत पनि हो ।
नेपाल एयरकै कुरा गरौं । स्वार्थमा बसिभूत नेतृत्वका कारण सरकारको कमजोरी छ । नेपालको कानुन र विमानमा अपनाउनु पर्ने सुरक्षा मापदण्डमा समेत खेलाची छ । १० पछि समेत युरोपले कालोसूचीमा नेपालको विमानलाई राख्नु भनेको नेपाल सरकारप्रतिको अविश्वसनीयता पनि हो । यो कालोसूचीका कारणले नेपालको छवि धमिलिएको छ । कुनै दिन नेपालको विमान सिधै लण्डन, जर्मनसम्म जाने गथ्र्यो । आज त्यो अवस्था छैन, नेपाल एयरको उडान खुम्चिएर टाक्सिएको अवस्था छ । पञ्चायतकालमा २८ भन्दा बढी विमान उडाउने गरेको नेपाल वायुसेवा यतिबेला राजनीतिक भ्रष्टाचार र नैतिकहीन काम गर्ने, अपराधी अखण्डा बन्नपुगेको छ । जुन संस्थामा पनि राजनीतिकरण, कार्यकर्ता भर्तिकेन्द्र बनाइदा संस्थानहरू घाटामा गएका छन्, समाप्तै पारिएका छन् । जसरी उद्योगधन्दा समाप्त पारियो र पराबलम्बी बनाइएको छ देशलाई, अब बाँकी एकाधमात्र संस्थान छन् । यसमा नेपाल वायुसेवालाई धरासायी पार्ने षडयन्त्र भएको लामो समय भइसक्यो । यसको मूलकारण व्यवस्थापनमा राजनीतिकरण र हस्तक्षेप नै हो । जुन संस्थामा व्यवसायिक ल्याकत भएका व्यक्तिभन्दा बढी थैली बुझाउने र कार्यकर्ता भर्ती गर्ने गरिन्छ, त्यस्ता संस्थाहरू निर्वल हुन्छन्, अस्तित्व समाप्तितिर जान्छन् । नेपाल वायुसेवालाई यही महारोग लागेको छ । यस्तो महारोग नेपालको शासन प्रशासनमा व्याप्त सल्केको छ ।
राजनीतिक दुर्घटनाबाट चेत फिरेन । अर्को दुर्घटना हुनसक्ने खतरा बढेको छ । असन्तोष यसरी फैलिएको छ कि श्रीलंकामा भएकोजस्तो नागरिक विद्र्रोह हुनसक्ने वातावरण बन्दै गएको छ । यदि छिटै नेतृत्व सुध्रिएन, शासन प्रशासनमा सुधार ल्याइएन भने धमिलिएको इज्जत झन धुमिल हुनेछ । यो लोकतन्त्र हो कि अन्धा धृतराष्ट्रतन्त्र ? मिमांसा गरिहालौं, सुधारतिर लागिहालौं । तारेभीमा पुगिसकेको नेपालको लोकतन्त्र दुर्घटनाग्रस्त भएर खगारिने छ । सबैमा चेत रहोस् ।


































