सुन काण्ड सानालाई ऐन ठुलालाई चैन
वि.सं.२०८० साउन ११ बिहीवार १९:२४
shares

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको ८ महिना पुग्न लाग्दा पनि दाहाल सरकारले गति लिन सकेको छैन । पछिल्लो पटक मुलुक भ्रष्टाचारको जालोमा फसेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयबाट १ सय किलो भन्दा बढी सुन भन्सार पास भएर बाहिरिएको घटनाले सरकार फेरी नाङ्गिएको छ ।
दाहाल सरकारले ललिता निवास जग्गा काण्ड, नक्कली भुटानी शरणार्थी काण्डलाई टुँगोमा पु¥याउन नसकिरहेको बेला सुन काण्ड भएको छ । माओवादी केन्द्रका नेताहरुले केही समय पहिला केपी ओली प्रधानमन्त्री रहेका बेला पशुपतिनाथमा भएको जलहारी काण्डको जिम्मा तत्कालिन प्रधानमन्त्री ओलीले लिनुपर्ने संसदमै कुरा उठाएका थिए । तर अहिले उनीहरुको मुख बन्द भएको छ । आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री रहेका बेला सुनकाण्ड भएको छ । जलहारी काण्डको जिम्मेवारी ओलीले लिनुपर्दछ भन्ने सांसद अहिले किन सुन काण्डको जिम्मेवारी दाहालले लिनुपर्दछ भन्न सकिरहेका छैनन् ?
सुन काण्डमा माओवादीकै नेताहरुको संलग्नता रहेको समाचारहरु प्रकाशित र प्रसारित भएपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रीले पूर्व सभामुख कृष्णबहादुर महराको सुन काण्डमा संलग्नता नरहेको सार्वजनिक रुपमा नै उद्घोष गरेर सुन तस्करी काण्डको छानविनलाई प्रभावित पार्ने प्रयास भएको छ । सुन तस्करी काण्डको छानविन भईरहेको बेला महराको संलग्नता नरहेको सरकारका प्रवक्ताले नै बताएपछि अनुसन्धानलाई प्रभावित पार्ने कार्य भएको भन्दै सत्ता गठबन्धनको नेताहरुले नै आपत्ति जनाएका छन् ।
नेकपा एमालेले समेत सुन काण्डको अनुसन्धानलाई प्रभावित पार्ने प्रयास सरकारबाटै भएको र भरियाहरुलाई पक्राउ गरेर मालिकहरुलाई उम्काउने रणनीतिमा सरकार लागेको आरोप लगाउँदै आएको छ । विगतमा भएको यस्ता घटनाहरुलाई हेर्ने हो भने भरियाहरु पक्राउ परेका भएपनि मालिकहरुसम्म पुग्न सरकार असफल सावित भएको छ । अहिले सत्ता गठबन्धनमा १० दल रहेका र सुन काण्डको जरोमा पुग्न खोज्दा सत्ता गठबन्धन नै टुट्न सक्ने र दाहाल सरकार नै ढल्ने अवस्था आउन सक्ने भएकाले गर्दा यो काण्ड पनि नक्कली भुटानी शरणार्थी काण्ड जस्तै सानालाई ऐन ठुलालाई चैन भन्ने नेपाली उखान जस्तै बन्न सक्ने सम्भावना बढेर गएको छ ।





































