मधेशमा कहालीलाग्दो नागरिकता लिनेको लाइन
वि.सं.२०८० साउन ११ बिहीवार १९:२१
shares

राजन कार्की
जसले आमाको महिमा बुझ्छ, उसलाई देशको गरिमाको चिन्ता हुन्छ । जसलाई आफ्नो अस्तित्वप्रति गर्व हुन्छ, उसले देशको माटोको रक्षा गर्छ ।
हाम्रा नेताहरुलाई सत्ताको महिमा थाहा छ, माटोको होइन । हाम्रा नेताहरुलाई स्वार्थको गरिमा थाहा छ, आमाको होइन । त्यसैले त देशमा बृद्धाश्रम बढी खोलिएका छन्, नेपालको अस्तित्व मटियामेट पार्न विदेशीका लागि नागरिकता आलुप्याज जसरी बितरण भइरहेको छ । मानौं नेपालमा नागरिकता बितरण गर्ने ढोका खोलिएको छ ।
त्यसैले त नागरिकता विधेयक के प्रमाणीकरण भयो, मधेसमा नयाँ नागरिकता लिनेको भीडमभीड चलिरहेको छ । कतिपय भारतीयहरु ‘चलो नेपालमे नागरिकता खरिदने’ भनेर दौडादौड गरेर नेपाल भित्रिरहेका छन् । मधेशका सिडियो कार्यालयहरुमा नागरिकता लिनेको भीड कम होला भनेको त झन झन बढ्न थालेको छ ।
संसद छ, सरकार छ, बुद्धिजीवी छन्, नागरिक समाज पनि छ, कसैले नागरिकता वितरणमा किन यसरी खेलाँची भयो भनेर न चिन्ता गर्छन्, न चिन्तन नै ?
यसरी खुला रुपमा नागरिकता वितरण गर्नु भनेको नेपाल फिजी उन्मुख हुनु हो । कम्युनिष्टहरू गोर्कीलाई आदर्श मान्छन् तर कांग्रेससँग मिलेर कम्युनिष्टले देशलाई सिंहसत्तल बनाइदिए । नेपाल धर्मशाला बन्न थाल्यो ।
कम्युनिष्टको देश हुँदैन, कम्युनिष्टहरु अन्तर्राष्ट्रियवादी हुन्छन् भनेको नेपालमा त्यसको उदाहरण देखिन थालेको छ । नेपाली कम्युनिष्ट कसरी पतनोन्मुख भएर कमाउनिष्ट बनेपछि देश बर्बाद हुनु स्वभाविक थियो । भइरहेको छ । लोकतन्त्रले देश बलियो पार्नुपर्ने हो, देश यसरी नासवान बन्दैछ, लोकतन्त्रलाई खोरिया बनाएर फाँड्ने छाडा साँढेहरू कम्युनिष्ट र कांग्रेस नै बन्न थालेका छन् ।
जनयुद्ध, जनआन्दोलनलाईन्यायका लागि, राष्ट्राधिकारका लागि जनयुद्ध धर्मयुद्ध भनियो । नागरिक मेर, मारियो ।सत्ताको बरदान पाए कांग्रेस, कम्युनिष्टले । प्रचण्ड तेजवान सूर्यजस्ता थिए, निस्तेज भइसके । ओली जाज्वल्यमान भए र निभ्दै गएका छन् । कांग्रेसले २०१७ सालको बाटो समातेको छ । गोलीजस्ता ओली, समाजवादी कांग्रेस, सर्वहारावादी माओवादी राष्ट्रवादमा टेकेर यसरी अग्लिए कि राष्ट्रघातको खाल्डोमा पुरिन थालेका छन् । न सम्मान आर्जन गर्नसके, न अस्तित्व बचाउन । नेपालीत्व के हो भन्ने गर्वको इतिहास कलंकित पारिदिए ।
जुनसुकै देशका हुन् विवाह गरेर भित्रिएका सबैलाई अनअराइभल भिसाजस्तै प्राप्त हुनेछ, नेपालको नागरिकता । यिनीहरुबाट जन्मेका सन्तानले बंसजका आधारमा नागरिकता प्राप्त गर्नेछन् । १० दलीय गठबन्धनले देशलाई कमजोर पार्दै लगेको छ ।
यो सबै देशेपछि सबैले बुझेका छन्– जनयुद्ध र जनआन्दोलन छलकारा थियो, शेरबहादुर, प्रचण्ड, ओलीहरू त हलकारामात्र रहेछन् । जतिसुकै सर्वहाराको भाषण गरे पनि, जनआन्दोलन र गणतन्त्र घोषणा धर्मयुद्ध थिएन ।संसदमा एकजना नेताले प्रश्न गरे– हाम्रा ठूला नेताहरूलाई नेपालको सीमा ठ्याक्कै कति हो, कहाँसम्म हो, साँध कुन हो थाहा नै छैन ।जसलाई आफ्नो, देशको सीमा थाहा हुन्न, तिनीहरू नागरिकता बेच्छन् । यी कसरी राष्ट्रवादी ?
सेवा थियो राजनीति, व्यापार बन्यो । अधर्मीमा धर्म हुँदैन, धर्म नहुनेले कसरी धर्मयुद्ध लड्न सक्छ ? धर्मयुद्ध लड्न अर्कै आँट, अर्कै हौसला, माटोप्रतिको मायाँ र देशप्रतिको गौरव चाहिन्छ । ठूलै छाती, ठूलै त्याग, बलिदान हुने जोश र तातो मुटु चाहिन्छ । आजका हाम्रा नेताहरूमा स्वार्थमात्र छ । स्वार्थीहरू कायर हुन्छन्, कायरहरू पल पल मर्छन् र मरेपछि कलंक बन्छन् । जनयुद्ध र जनआन्दोलनको आगोमा खारिएर निस्केका नेताहरू त देशका, जनताका गहना हुनुपर्ने हो, फलामको सुइरो बनेर देश र जनताको कोखा कोखामा घोचिरहेका छन् ।
फलाम हतियार हो, फलाम विष पनि हो । फलाम जनता र देशको घाउमा मलम होइन । अराजकबाट हामी शान्ति पाइन्छ भन्ने आशा लगाएर बसेका छौं । हाम्रा नेता त राजनीतिलाई व्यापार बनाएर पार्टीको हाटबजार खोलेर मुनाफाको व्यवसाय चलाइरहेका छन् । यसैले त राजनीतिमा लाग्नेहरू दिनदिनै धनी भइरहेका छन् । सर्वहारा, सिमान्तकृत र गरीवहरू झन झन थपिदैछन् । देशको माटो र देशवासीको पहिचान समाप्त पारिदैछ ।
स्वाभिमानका लागि केजर बिलियम्सको जस्तो धर्मयुद्ध लड्ने ताकत चटके र उखानेहरूमा हुन्न, नेपाली राजनीति यस्तै चटकेको हातमा छ । कुशासनको पहिलो कारण निष्ठाहीनता र नैतिकहीनता हो । भ्रष्टाचार भनेको मृत्यु हो, नेपाल मृत्युको मुहान बनेर दिनदिनै मर्दैछ । नेताहरु मृत्युलाई जीवन सम्झेर अँगालीरहेका छन् । यो स्थितिमा नेताले नखोजे इमान जनताले खोज्नुपर्छ । जनताले विद्रोह गर्नुपर्छ । अन्यथा मृत्यु अवश्यम्भावी छ ।
देशमा चोरलाई चौतारो, साधुलाई सुली भइरहेछ । कानुन छ काम गर्दैन्, संविधान छ समाधान छैन । शासन छ, शास्ती छ । प्रशासन छ अनियमितता बढ्दो छ ।नीति छ नैतिकता छैन । नेपाल छ, ऐंजेरू बनेका नेताले लुटिरहेछन् ।जनता जाग्न जरुरी छ ।
१६ वर्ष अघि पत्रकार सम्मेलन गरेर जनताको नासो जनतालाई बुझाएर राजदरवारबाट नागार्जुन जंगलतिर लागेका राजा ज्ञानेन्द्र कहिले दिल्ली, कहिले बैंकक, सिंगापुर कहिले बेइजिङ पुगिरहेका छन् । जनसमर्थन छ, मान्यता दिने अन्तर्राष्ट्रिय शक्ति स्पष्ट छैनन् । राजतन्त्र र हिन्दुराष्ट्र जसले फाल्यो, उसले आफ्ना अभिष्ट पूरा कसले गर्छ भनेर हेरिरहेको छ । नेपाल बचाउने हो, नेपाली भएर बाँच्ने हो भने नेपालबारे नेपालीले सोच्नुपर्छ ।
पूर्वराजाले बुझाएको जनताको नासो केही नेताहरूका लागि बक्सिसमा पाएको मौजा भएको छ, यही खान्की खाएर डकारिरहेका छन् । जनता यस्तो दुर्गन्धित शासनको मृत्यु होइन, जिवन्त मुलुक र जीवन खोजिरहेका छन् । दिने कसले ? नेपाललाई लुट्न सबै तैयार छन्, जीवन दिन कोही तैयार देखिदैनन् ।
वर्तमान शासक देश हित हेर्न सक्दैनन् भने इमानमा टेक्नुप¥यो र राजसंस्था व्यूँतनुप¥यो ।
१० वर्षे भयानक जनयुद्ध भयो, डरलाग्दो जनआन्दोलन पनि भयो । यी दुवै क्रान्तिमा नेपाली आवरणमा देखिए, अहिले आएर थाहा भयो, साधन र स्रोत त विदेशीको पो रहेछ । जसले लगानी ग¥यो, १६ वर्षदेखि लगानीकर्ता सावाँव्याजसहित उठ्ती गरिरहेको छ । यो सत्ता जनताकालागि युटोपिया हो । विश्लेषकहरूले नेपालको परिवर्तनलाई समुद्री जीव अक्टोपसजस्तै शासक, प्रशासकको मानव आवरण पनि भनेका छन् । आठ खुट्टे अक्टोपसको ३२ वटा मुटु र ९ वटा दिमाग हुन्छ । स्वार्थ पूरा गर्न सेकेण्ड सेकेण्डमा रङ बदल्न सक्छ । नेपालको राजनीतिमा १६ वर्षमा देखिएको यस्तै छेपारे चरित्र न हो । देश र जनता यी छेपारोहरूलाई बेहोर्न अभिशप्त छन् ।
जनयुद्धकाघाउ आलै छन् । संक्रमणकालीन कानुनी उपचारबाट किनारा लागेनन् । पीडितहरूले पीडकलाई दण्ड मागिरहे । पीडकहरु सत्तामा बसेर पीडितमाथि पीडा थपिरहेका छन् । बेपत्ता र सत्य निरूपण तथा मेलमिलाप आयोगमा रहेका ६४ हजार पीडितले उजुरी गरे । न्याय सम्पादन होइन, राजनीति र राज्य चलाइरहेका ठूला दलहरूले षडयन्त्र गरिरहे । नेपाल सत्ता सेटिङ र षडयन्त्रको थलो बनेको छ ।
अपराधमा देखिने यो कस्तो लोकतन्त्र हो ? भ्रष्टाचार र अनियमिततामात्र भोग्नुपर्ने यो कस्तो गणतन्त्र हो ?


































