kumari
stcnepal

सामाजिक सुरक्षा भत्ता अब तिन / तिन महिनामामा वितरण हुने

काठमाडौं । सामाजिक सुरक्षा भत्ता अब त्रैमासिक (तीन/तीन महिनाको फरक) रुपमा वितरण हुने भएको छ । यसअघि सामाजिक सुरक्षा भत्ता चौमासिक रुपमा वितरण हुँदै आएको थियो ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ ले चालु आर्थिक वर्ष २०७८÷७९ देखि सामाजिक सुरक्षा भत्ताको निकासा त्रैमासिक रुपमा हुने व्यवस्था गरेको छ । सोही नियमलाई चालु आवबाट कार्यान्वयनमा ल्याइने भएको हो । विभागले सबै स्थानीय तहलाई यस प्रकारको व्यवस्था मिलाउन भनेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार अहिले देशभर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ३४ लाख ६५ हजार ७ सय १३ जना रहेको छ । सरकारले सामाजिक सुरक्षामा वार्षिक १ खर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ ।

अब बुझ्दा बढेको भत्ता पाइने
सरकारले चालु आर्थिक वर्षको बजेट अध्यादेशबाट सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो किस्ता बुझ्ने नागरिकले बढेको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने छन् ।

बजेटमार्फत सरकारले वृद्धभत्ता ४ हजार र अन्य सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतको वृद्धि गरेको हो । बढेको सामाजिक सुरक्षा भत्ता अनुसार अब ७० वर्ष पुगेका सबै जेष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ प्राप्त गर्छन् । साविकको कर्णाली अञ्चलका जिल्ला र देशभरका दलित समुदायका ६० वर्ष उमेर पुगेका सबै नागरिकले मासिक २,६६० रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै विवाह नगरी बसेका ६० वर्ष उमेर पुगेका महिला, सम्बन्ध विच्छेद वा न्यायीक पृथकीकरण गरी बसेका ६० वर्ष उमेर पुगेका र पतिको मृत्यु भएका ६० वर्ष माथिका महिलाले समेत मासिक २,६६० रुपैयाँ भत्ता पाउनेछन् । पतिको मृत्यु भएका जुनसुकै उमेरका महिलाले समेत २,६६० रुपैयाँ मासिक प्राप्त गर्छन् ।

सम्बन्धित निकायबाट ‘क’ वर्ग (रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका सबै उमेरका नागरिक)ले मासिक ३,९९० रुपैयाँ भत्ता पाउने गरी वृद्धि भएको छ । अतिअशक्त (सम्बन्धित निकायबाट ‘ख’ वर्ग अर्थातः निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका सबै नागरिकले २,१२८ रुपैयाँ भत्ता पाउने गरि तोकिएको छ ।

कुसुण्डा, बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया, पत्थरकट्टा, सिलकट, कुशवधिया र कुचबधिया जातिका नागरिकलाई समेत सरकारले मासिक ३,९९० रुपैयाँ भत्ता दिने गरेको छ ।

नेपाल सरकारले तोकेका क्षेत्र र देशभरका दलित परिवारमा ५ वर्ष उमेर ननाघेका एक आमाबाट जन्मिएका बढीमा दुई सन्तानले समेत मासिक ५३२ रुपैयाँ पाउने गरी सामाजिक सुरक्षा भत्ता वृद्धि भएको छ ।

 

footer