गद्दारीमा प्रचण्डले सवैलाई उछिने : प्रभु साह
वि.सं.२०७८ कात्तिक २१ आइतवार १७:३९
shares

गौर । एमाले नेता तथा पूर्वमन्त्री प्रभु साहले प्रचण्डले गद्धारीमा सवैलाई उछिनेको बताउनु भएको छ । दीपावली तथा छठ पर्वको अवसरमा शनिबार रौतहटको कटहरीया नगरपालिका १, भसेढवामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता साहले यस्तो बताउनु भयो ।
उहाँलेकांग्रेसको पुच्छर बनेर प्रचण्डले जनयुद्ध र शहिद समेतको अपमान गरेको बताउनु भयो । उहाँले विगतमा कांग्रेसी फाँसीवादको विरुद्ध युद्ध गरेर किसान मजदुरको रगत बगाएर प्रचण्डले अन्तिममा कांग्रेसकै लंगौटी बनेर केशरजंग रायमाझीको नयाँ रुप देखाएको टिप्पणी गर्नुभयो । नेता साहले सर्वहारावर्गको मत लिएर प्रतिक्रियावादी शरणमा पुगेर प्रचण्डले आफ्नो पतनको दिशा आफै चयन गरेको बताउनु भयो ।
‘हिजो कांग्रेसी फाँसींवादको विरुद्ध भीषण युद्धमा किसान मजदूरको रगत पसिनाबाट नेता बनेका प्रचण्ड गत निर्वाचनमा कांग्रेसको विरुद्ध जनताको मत लिएर आज त्यही कांग्रेसीको लंगौटी बनेको छ । प्रचण्डको यो गद्दारीको कदम नेपाली ईतिहासमा नौलो होईन, केशरजंग रायमाँझी प्रवृतिको पुनरावृत्ति हो’ साहले भन्नुभयो ।
उहाँले माओवादी केन्द्र एउटा पसलमा सिमित भएको पनि साहले बताउनु भयो । ‘अहिले तपाईहरुलाई लाग्न सक्छ प्रचण्ड नै माओवादी हो भनेर । तर, नेकपा माओवादी केन्द्र एउटा नाम मात्र हो, खास अर्थमा भन्ने हो भने एउटा पसलको रुपमा मात्र बाँकी रहेको छ । प्रचण्ड त्यसको एउटा व्यापारी बनेको छ । माओवादी विचार, विरासत, मुद्दा र महान शहिदहरुको सपना बेचेर अहिले प्रचण्डले जनतालाई धोका दिएको छ’ साहले भन्नुभयो ।
































