kumari
stcnepal

आफ्नो असफलतालाई गणतन्त्रसँग किन जोडियो ?

 

प्रधानमन्त्री पुष्पकमल दाहालको एकवर्षे कार्यकालमा जनतालाई आशा जगाउने कुनै काम देखिएन । सत्ता गठबन्धनमा रहेका दलका नेता र कार्यकर्ताहरुलाई विभिन्न अपराधबाट उन्मुक्ति दिने कार्यले गर्दा जनतामा एक प्रकारको आक्रोश बढ्दै गएको छ । दाहाल सरकारका मन्त्रीहरुको मात्र होइन प्रधानमन्त्री दाहालको व्यवहारमा समेत कुनै सुधार नआएको र प्रधानमन्त्री दाहाल आफ्नो कुर्सी बचाउने खेलमा नै सक्रिय रहेर एक वर्ष विताएका छन् । आफूँ प्रधानमनत्री भएपछि केही उल्लेखनीय कार्य गरेको आत्मरतिमै उनी रमाउन थालेका हुनाले जनतामा दाहाल सरकारप्रतिको विश्वास दिन प्रतिदिन घट्दै गएको छ । त्यही कारणले गर्दा जनताले विकल्प खोज्न थालेका छन् । जनता सडकमै आएर दाहाल सरकारको राजिनामा समेत माग्न बाध्य भएको छ । जनताको भान्सा महंगो भएको छ ।
दाहाल सरकारको एकवर्षे कार्यकाल विवादमुक्त हुन सकेन । दाहाल सरकारले नै ललिता निवास जग्गा काण्डमा मुछिएका पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराई सहित पूर्व मुख्यसविच लिलामणि पौडेललाई समेत उन्मुक्ति दिने कार्य गरे भने सुन तस्करी काण्डमा आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरुको संलग्नता रहेको भएपनि कृष्ण बहादुर महरासहितका नेताहरुलाई उन्मुक्ति दिने कार्य समेत भयो । सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसका कार्यकर्ता रिगल भनिने यज्ञ ढकाललाई अदालतले जन्मकैदको फैसला गरेको भएपनि अदालतको अन्तिम आदेशलाई उल्टाउँदै उनलाई आममाफी दिने कार्यसमेत भयो । त्यसैगरी कैलालीमा जघन्य अपराधमा संलग्न रहेका रेशम चौधरीलाई समेत आममाफी दिएर दाहाल सरकारले अदालतलाई एक प्रकारको च्यालेन्ज नै दिएको छ ।
रेशम चौधरीलाई सर्बोच्च अदालतले समेत दोषी ठहर गर्दै आजिवन काराबासको सजायँलाई सदर गरेको थियो । यी त केही पात्र मात्र हुन् दाहाल सरकारले गरेका यस्ता धेरै निर्णयहरु सर्बोच्च अदालतले उल्टाईदिएको भएपनि त्यसको नैतिक जिम्मेवारी लिएर राजिनामा दिनुको बदला गणतन्त्र विरुद्धका कदम भन्दै दाहाल आफूँ पन्छिँदै आएका छन् । पुस १३ गते ललितपुरको बालकुमारीमा भएको जघन्य हत्यामा समेत प्रधानमन्त्री दाहालले गणतन्त्र विरुद्धको प्रहार हुन सक्छ भन्दै आफूँ र आफ्नो नेतृत्वको सरकारलाई बचाउने प्रयास गरेका छन् ।
आफ्नै गृहमन्त्री र नेपाल प्रहरीका महानिरीक्षक (आइजी)ले समेत पुस १३ गतेको बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायात मन्त्रीकै कारण भएको बयान राज्यव्यवस्था तथा सुशासन समितिलाई पुस १६गते दिएका छन् तर प्रधानमन्त्री भने २ जना युवाको ज्यान जाने गरि भएको घटनालाई समेत सामान्य लिएर गणतन्त्र विरोधीहरुको हर्कत हुन सक्ने भन्दै आफ्नो असफलता र अकर्मण्यता लुकाउन तल्लिन रहेका छन् । प्रधानमन्त्रीकै भनाई पत्याउने हो भने किन उनले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई कानुनी दायरामा ल्याउन सकेनन् । किन उनीहरुले मन्त्री प्रकाश ज्वालाकै कारण अप्रिय घटना घटेको हो ? भनेर संसदीय समितिलाई बयान दिए ? त्यसको रहस्य के हुन सक्छ त ?
यतिबेला दाहाल सरकार चौतर्फी आलोचनाको पात्र रहेको छ । दिनप्रतिदिन जनताले दाहाल सरकारको विरोध गर्दे आएका छन् तर प्रधानमन्त्री दाहाल भने त्यस्तो विरोधलाई गणतन्त्रको विरोध भन्दै पन्छिने गरेका छन् । प्रधानमनत्री दाहालले गत महिना मेलम्चीको पानी एक महिना भित्रमा काठमाडौ उपत्यकाभित्र उपलब्ध हुने र काठमाडौबासीको घर घरमा पुग्ने उद्घोष गरेका थिए तर पुस अन्त्य सम्ममा पनि पानी आउन सकेको छैन भने कहिले आउँछ भने भन्न सकिने अवस्था समेत छैन । अब प्रधानमन्त्री दाहाल कहिँकतै गएर फेरी भाषाण गर्न सक्छन् मेलम्चीको पानी गणतन्त्र विरोधहरुले गर्दा नै उपयत्यकाबासीले खान पाएनन् भनेर । यसरी आफ्नो सत्ता स्वार्थलाई गणतन्त्रसँग जोडेर कहिलेसम्म सत्तामा बसिरहने प्रधानमन्त्री ज्यू ?
प्रधानमन्त्री ज्यू युवावर्गलाई रोजगारी दिन नसकेका हुनाले प्रत्येक दिन बैदेशिक रोजगारमा जाने युवायुवतीको लाइन त्रिवुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा तपाईले देख्नु भएकै छ । युवायुवती पनि गणतन्त्र विरोधीकै कारण बैदेशिक रोजगारमा गएका हुन् कि ? तपाईको एकवर्षे कार्यकालमा ११ लाख ४० हजार युवायुवती बैदेशिक रोजगारमा गएका छन । बैदेशिक रोजगारीमा जाने क्रम दिन प्रतिदिन बढ्दै गएको छ । युवावर्गलाई स्वदेशमै रहने वातावरण तपाईको नेतृत्वको सरकारले किन गर्न सकेन ? त्यो पनि गणतन्त्र विरोधीकै कारण हो कि ? सत्ता गठबन्धनमा रहेका दलका भातृ संगठन र केन्द्रीय नेताहरुले नै तपाईको राजिनामा माग गरिरहेका छन् । के उनीहरु पनि गणतन्त्र विरोधी नै हुन् कि ?
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला लगायतले तपाईको राजिनामा माग गरिरहेका छन् अब तपाई नेता कोइराला लगायतलाई पनि गणतन्त्र विरोधीकै दर्जामा राख्नु हुन्छ कि ? यी सबै कारणहरुले गर्दा प्रष्ट हुन्छ आफ्नो असफलता र अकर्मण्यता लुकाउनकै लागि गणतन्त्रलाई तपाईले हतियारको रुपमा प्रयोग गर्दे आउनु स्वयम् तपाईको हितमा हुन सक्दैन । गणतन्त्र भनेको एउटा हतियार मात्र हो, त्यो हतियार भोली तपाईकै विरुद्धमा आउन सक्छ त्यसैले हामी भन्दछौँ यो अति भो अब जनतालाई झुक्याउने प्रसाय नगरेकै बेश भनेर ।

footer