linktrix Long Ad
Salt Trading Long Ad

आतंककारी अदानन् खसोगीजस्ता नेताहरु

1.27K
shares

राजन कार्की
अहिले टुसाएका रवि लामिछानेजस्ता एकाध नेता छाड्ने हो भने १७ वर्षदेखि नेपालको राजनीति प्रचण्ड, शेरबहादुर देउवा, केपी ओली र माधवकुमार नेपाल, यी चार नेताको वरिपरि चक्कर काटिरहेको छ ।
प्रचण्ड महान नेता, तर उनले महानता जोगाउन सकेनन् । सन २००५ सेप्टेम्बरको टाइम्स अफ इण्डिया १४५ अंकमा जनयुद्धका नायक प्रचण्डको अन्तर्वाता छापिएको थियो र त्यसमा प्रचण्डले भनेका थिए– हामीले नेपालको सामन्तवादको ढाड भाँचिसकेका छौं । ग्रामिण क्षेत्रलाई स्वतन्त्र पारिसक्यौं ।
आज नेपाल र नेपाली राजनीतिको स्थिति संकटापन्न छ । अस्तित्व मटियामेट हुने खतरामा छ । नारायणमान बिजुक्छे भन्छन्– जो जुनसुकै बेला जुनसुकै ठाउँमा मारिन सक्छन् । निश्चिन्त भएर निदाउन सक्ने अवस्था छैन ।
जनयुद्धका नायक प्रचण्ड ३ पल्ट प्रधानमन्त्री भइसके । वर्षको ३ पल्ट विश्वासको मत पनि पाएका छन् । तर नेपाली जनताको विश्वास आर्जन गर्न सकेनन् । कांग्रेसका देउवा अथवा एमालेका ओली अथवा ओलीसँग टुक्रिएका माधवकुमार नेपाल, यी दुबैको अवस्था पनि भिन्न छैन । आमनागरिकले घृणा गर्ने नेता हुन् यी चारैजना । निरंकूशता र राजनीतिको अपराधिकरण बढ्दो छ । स्वभाविक प्रश्न उठ्छ, लोकतन्त्र कता छ ? देश स्वतन्त्र छ कि छैन ?
सत्य हो, सतित्व र अस्तित्व गुमेपछि फिर्ता हुन्न । जन्तरमन्तरमा फूमन्तरले न नेता बलिया भइरहनछन्,न यिनको शासन र आसन नै सदाका लागि रहन्छ । दिल्लीले सिंहासनमै बसालेको होइन र लेण्डुपलाई ? स्वार्थ पूरा हुनासाथ खँगारिदियो त । नोरियगा हुन् कि ओसामावीन लादेन, मार्कोस हुन् कि सद्दाम हुसेन, सबै विदेशीले तैयार पारेका हतियार थिए । हतियारको काम मालिकले भनेजसरी काट्नु र मालिक फालेपछि खिला लागेर झर्नु, मर्नु र माटो हुनु हो ।
१० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनलाई महायज्ञ नै सम्झेका थिए नेपालीले । नेताहरुले समुद्र मन्थन गरेझैं नेपाली घरघर, मनमन मन्थन गरेकै हुन् । अमृत र विष दुबै निस्क्यो । नेताहरुले अमृत घट घट पिइरहेका छन्, विषको प्याला जनताको भागमा परेको छ, पिइरहेछन्, मरिरहेछन् । अन्ततोगत्वा राष्ट्रियता त्यही विषको असरले बिस्तारै बिस्तारै मर्न थालेको छ ।
नेताको आशन र यिनको शासनमा विष फैलिएको छ । खुशी कोही छैनन् ।
सम्प्रभूता बनाइदिएको, बचाइदिएको पुर्षाले हो । माटोप्रतिको मायाँ भयो भने सम्प्रभूता बाँच्ने पाठ पनि पुर्षाले पढाएर गएका हुन् । वर्तमान राजनीति त भष्मासूर बनेको छ, हामी नै सम्प्रभूता हौं भनेर संविधान लेखे, चुनाव गरे, आफैले जिते, जित्दै आएका छन् तर सम्प्रभूताका मामिलामा छानो बालेर खरानी बेचिरहेछन्, मुनाफा कमाइरहेछन् । सम्प्रभूता बेचेर सत्ता कमाउने यो कस्तो सम्प्रभूता हो ? शासन र सम्प्रभूता त मदारीले देखाउने बाँदरनाच जस्तो भयो ।
लोकतन्त्रमा ७ सय ६१ सरकार छन्, ३५ हजार ९ सय २४ जना जनताबाट चुनिएर जनप्रतिनिधि बनेका छन् । ती देश र जनताका लागि सेवा गर्छु भनेर आएका प्रतिनिधि हुन् । जनता कूशासन र राष्ट्रघात भयो भनेर कोलाहल गरिरहेका छन्, विदेशीले ७७ ठाउँमा सीमा अतिक्रमण गरेर ६० हजार हेक्टरभन्दा बढी नेपाली सीमा मिचिसक्यो । लिपुलेक, लिम्पियाधुरा, कालापानीको ३ सय ८७ बर्गकिलोमिटर भूभाग आफ्नो नक्सामा पारिसक्यो । देशको ह्याकुल्ला काटेर विदेशी रमाइरहदा, यी कस्ता जनप्रतिनिधि हुन्, जो जिब्रो तालुमा टाँसेर बसेका छन् ।
यस्ता घातक नेता रनेतृत्व लोकपद्धतिकासराप हुन् कि बरदान ?
राजधानीको सिंहदरवार र गाउँगाउँ पुगेको सिंहदरवार त हनुमान चौतारी बन्यो, जहाँ बाँदरहरु जुम्रा मारेर घाम तापिरहेका छन् । उनीहरुलाई देश भर्सेलै परोस् केही मतलव छैन । भ्रष्टाचारको भाङ खाएर मातिनु भनेको राजनीतिक प्राणीको मृत्यु होइन र ?
यस्तो राजनीति र यस्ता जनप्रतिनिधिहरुलाई विश्वले आधुनिक राज्यको सार्वभौम सिद्धान्त स्वीकार गरेको र एकले अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने स्थापित मान्यता पढाउने, सम्झाउने कसले ?
यस्ता राष्ट्रघातीहरुलाई देशभक्ति त मर्दैन चुत्थै देश भए पनि…भन्ने कविता सुनाउने को छ खोई विवेकीहरु ?
वर्षौ पालेको बाख्रो बेचेर पठाए पनि मालिक देखेपछि कराउँछ । जनताले साथ दिएका र जनमत पाएका नेताहरु जनताप्रति पुलुक्क पनि हेर्दैनन्, आफ्नै सुख सुविधा, तलव भत्ता र भ्रष्टाचारमा चुर्लुम्मै डबुल्की मारेर पौडी खेलिरहेकाछन् । नयाँ नेपाल बनाउँछु भन्ने नेपाली राजनीतिमा यतिसम्मको बेइमानी पनि देखियो ? जनताप्रति गरेको यो अपराध जनताले कहिले माफी दिनेछैनन् ।
बुद्धको देशमा बुद्धु नेता, राजनीतिलाई व्यवसाय पो बनाइरहेछन् । मुनाफाका लागि देश बेच्ने, जनता बेच्ने अदानन खसोगीजस्ता । सुपारी लिएर मान्छे मार्ने माफिया दाउद इब्राहिमजस्ता । जो माटो भनिरहेका छन्, तिनीहरु प्रतिगामी, जो देश विक्री गरिरहेछन्, ती अग्रगामी । तिनले चलाएको लोकतन्त्र ?
भाषणमा यति मीठो बोल्छन्, देश बनाउने कालिगड यिनै हुन्जस्तो लाग्छ । जब व्यवहार देखिन्छ, यिनीहरुभन्दा कमसल त विश्वमै कोही छैनन् जस्तो लाग्छ । राजनीतिमा निष्ठा, प्रशासनमा आचारसंहिता र नेतामा नैतिकता नरहेपछि जे हुन्छ, त्यो वर्तमान नेपालको राजनीतिको कुरुप तस्वीर हो ।
‘इम्परर न्यूक्लोथ’का बादशाहजस्ता छन् नेताहरु । दिल्लीले चलाउँछ, दिल्लीले सुमसुम्याउँछ र दिल्लीले हकार्छ । नेपालको राजनीतिक भविष्यको १२ बुँदे खाका दिल्लीमै गरिन्छ । नेपाल त्यही दिल्लीको सम्झौताको गाँड बोकेर गाँडलाई लोकतन्त्र भनिरहेको छ । गाँडतन्त्र लोकतन्त्र हुनसक्ने थिएन, त्यसैले देशका भूभाग गुम्दासमेत गाँड बोकेर नेता पल्टेकाहरु बोल्न सक्दैनन् । बोल्न त स्वाभिमान चाहियो । स्वाभिमान बन्दकीमा राखेपछि कसरी बोल्ने ? हाम्रा नेताहरुले कृष्णलालको मकैको खेती कहिले पढे ? रुस्दीको सटानिक भर्सेसभन्दा कम छैन मकैको खेती । कम्तिमा डम्बरशमशेर थापाले श्री ३ पद्मशमशेरलाई लेखेको प्रजातन्त्रको बाढीले राणा शासन बगाउन सक्छ भनेर लेखेको पत्र पढिदिए यिनको बुद्धिबंगारो पलाउन सक्थ्यो । यिनमा साहस र अस्तित्ववोध हुनेथियो ।
माओवादी, कांग्रेस र नेकपाका नेताहरुलाई के भ्रम छ भने हामी नै लोकतन्त्र हौं, हामी नै देश हौं, हामीले जे गरे पनि जनताले मान्नुपर्छ । यिनलाई ज्ञात होस्– पहिलो डन कन्र्योलको नालीमा टाउको जोतेर मरे । बाहुबलीतन्त्रले जनताको मन जित्दैन, झन बढी घृणा फैलाउँछ । चुनाव त हुन्छ, बिकल्प नभएपछि जित्ने यिनै दुई पार्टीले हो । चुनाव जित्दैमा लोकतन्त्र आउने होइन, चुनाव जित्नेहरु नरसंहारकर्ता बनेका दर्जनौं तथ्याङ्क छन् ।
शासन गर्ने अधिकार पाएकाहरुलाई देशमाथि घात गर्ने र जनतालाई शासना दिने अधिकार हुन्न । देश र जनताका लागि काम गर्ने सपथ खाएर गलत काम गर्नु भनेको राजनीतिलाई अपराधिकरण गर्नु हो । यही भइरहेको छ ।
के हुन्छ नाम नेत्रबहादुर भएर, विवेकी आँखा देख्दैन भने । चुनाव चिन्ह सूर्य भए पनि कालरात्रिको अन्धकार पो छ गाँठे । न हिमाल हाँसेको देख्न पाइयो, न पहाडमा गुराँस फुलेझैं सामाजिक जीवन फुल्यो, न त तराईमा सहलेश फक्रेजस्तो रमाइलो नै छ । सिंगो मुलुक शोकमा देखिन्छ, लोकतान्त्तिक शोकमा । संविधान छ, संविधानले संवैधानिक शासनको प्रत्याभूति गर्दैन भने, देश र जनता जोखिममा पर्छन । परेका छन् । व्यवस्था होइन, व्यवस्था हाँक्ने नेतृत्व जिम्मेवार र जवाफदेही हुनुपर्ने रहेछ । सबै गैरजिम्मेवारको झुण्ड राजनीतिमा छ ।
राजतन्त्रलाई किनारा लगाउने शक्ति यिनै हुन् । यिनीहरु नवराजा, बास्सा बनेकाले यिनलाई डम्बर शमशेरले श्री ३ राणा शासनको अन्त्यका लागि डमरु बजाएझैं जनताले डमरु बजाउन थालिसकेका छन् । चेतना छ भने यिनले आफूलाई सुधारुन् । अन्यथा श्रीलंकामा जे देखियो, त्यो घटना नेपालमा पनि दोहोरिन सक्छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports