प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा बीच भेटवार्ता, सरकारका काम अझ प्रभावकारी बनाउने बारे छलफल
वि.सं.२०८१ भदौ २४ सोमवार ०७:१५
shares

काठमाडौँ । सत्तारुढ दलका दुई शीर्ष नेताबिच भेटवार्ता भएको छ । केही मन्त्रीसहित प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको हो । भेटवार्तामा सरकारका कामकारबाहीबारे छलफल भएको बताइएको छ ।
आइतबार साँझ बालुवाटारमा भएको शीर्ष नेताको भेटवार्तामा सरकारले गरिरहेका कामकारबाहीबारे समीक्षा गर्दै अझ प्रभावकारी बनाउने उपायबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली र सभापति देउवासँगको भेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल तथा गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु देउवा राणा समेत सहभागी रहेका थिए ।
भेटमा सत्तारुढ दलले ल्याउने भनेको साझा न्यूनतम कार्यक्रमबारे समेत कुराकानी भएको बुझिएको छ । साझा न्यूनतम कार्यक्रमका आधारमा सरकार सञ्चालन गर्ने कांग्रेस एमालेको सात बुँदे सहमतिमा उल्लेख भएपनि अहिलेसम्म न्यूनतम साझा कार्यक्रम आउन सकेको छैन ।




































