बाघको अनुहार परेका बिरालाहरूको रगरगी
वि.सं.२०८१ भदौ २८ शुक्रवार ०९:३०
shares

राजन कार्की
हाइटीका दुभालिएर र नेपालका दुर्नामहरू उस्तै उस्तै छन् । बाघ अनुहार पर्दैमा बिरालो बाघ हुनसक्दैन । ऐन मौकामा बिरालो गर्जदैन, आवाज निकाल्दा म्याउ नै गर्ने हो ।
१९९७ सालमा सहिद भएका थिए शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ । यिनले राष्ट्रका ज्यान दिएका थिए, त्यसैले यिनीहरु असली सहिद हुन् ।
यसपछि एकाध सहिद छन्, जसले देशका लागि ज्यान परित्याग गरे । भीमदत्त पन्त पनि किसान सहिद हुन् । तर लोकतन्त्रले सहिद भन्नासाथ १० लाख दिने नीति बनाएपछि पार्टीहरुले जड्याहलाई पनि सहिद बनाए । अहिले नेपालमा १४ हजारभन्दा बढी सहिद छन् । यत्तिका पनि सहिद हुन्छन् र ? नेपाल छन् । १० लाखे सहिदहरु कति कति ?
९ वर्ष अघि कञ्चनपुरमै गौतम गोविन्द भन्ने युवा भारतीय सीमा अतिक्रमणको खिलाफमा उभिएका थिए, अतिक्रमण गर्न पाइन्न भन्दै थिए, भारतीय सैनिकले मारिदियो । समाजवाद हाम्रो लक्ष्य हो भन्ने शासकले १० लाख क्षतिपूर्ति दिएर भारतीय सैनिक अतिक्रमणको पक्षपोषण गरिदियो । सर्वहारा, किसान बर्गको हितकारी हामी हौं भन्ने कम्युनिष्टहरुले चुँइक्क बोलेनन् । स्वाधीन भए पो बोल्नु, पराधीनहरुसँग आफ्नो बोल्ने कुरै हुँदैन । जिब्रो तालुमा टाँसिएपछि कसरी बोल्नु ?
जो लडे, सुगौली सन्धि अघि लडे । १८१६ को सुगौली सन्धिपछि को लड्यो राष्ट्रका लागि ? को बन्यो देश बोक्ने असली सिपाही ? को देखियो राष्ट्रको बफादार ? सुगौली सन्धिपछि पनि नेपालीहरु अंग्रेजको नोकरी गर्न थाले, तिनलाई सलाम ठोक्न थाले । बहादुर हुन थाले, हस् साब भन्न थाले ।
हस् साब भन्दा भन्दै २३ जिल्लाका ६६ ठाउँमा सीम अतिक्रमण गरेर भारत बिस्तार भयो । ५ वर्षअघि कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतको नक्सामा मिसाइयो, नेपाली बोलेनन् । हो, नक्सासम्म जारी गरे, नक्सा नेपालसित, भूगोल भारतसित ।
संविधान लेखियो, संविधानमा चुच्चे नक्सा नै गायब थियो । त्यो नक्सा पास गर्ने संविधानसभाका २४० निर्वाचित, ३३५ समानुपातिक र २६ जना मनोति गरी ६०१ सांसद थिए, तिनीहरु राष्ट्रघाती थिए, तिनीहरुमाथि कुनै कारवाही भएन । अतिक्रमण गर्न छुट दिएपछि, अतिक्रमण गर्न दिनुहुन्न भन्ने नागरिकलाई मार्न थालेपछि, मारेकोमा मौन बसेपछि भारतले हेप्छ । हेपिरहेको छ ।
नेपालले अतिक्रमित भूमि नेपालको हो भनेर फिर्ता ल्याउन सकेन । सक्नलाई प्रयत्न हुनुप¥यो, नेपालले प्रयत्न नै गरेन । नेपाली एक छन् तर सत्ता र शक्तिमा भएका जो कोही पनि नेपालको पक्षमा बोल्दा भारत बिरोधी भन्छन् भनेर बोल्दैनन् । देशको स्वाभिमान, स्वाधीनताका बारेमा नबोल्ने व्यक्ति कसरी नेपालको नेता हुन्छ ? देश हाँक्ने शासनमा आसन जमाउनेहरु भारतका पाउमा लम्पसार परेपछि, हेप्छ । हेप्नु स्वभाविक हो ।
प्रधानमन्त्री भारत गए, कुरै झिकेनन् । परराष्ट्रमन्त्री भारत गए, बोल्नै सकेनन् । भारतका परराष्ट्रमन्त्री, सचिव नेपाल आए, चाकरी गरेर पठाए । नेपाल भारत दुबै मिलेर प्रवुद्ध समूह गठन गरे, त्यो रिपोर्ट न नेपाल सरकारले बुझ्यो, न भारतले । भारतको आरोप छ, त्यो गोप्य रिपोर्ट कतिपय नेपालीको पहुँचमा पुग्यो, एक सदस्यले चीनलाई समेत बेचिदिएका थिए । यस्तो शंकास्पद रिपोर्ट भारतले कसरी बुझ्छ ? नेपालले कूटनीतिक प्रयास गर्नुपर्ने हो, गर्नैसकेन । नेपाल आफ्नै राजनीतिक रण्डखालमा रमिरहेको छ । त्यसमाथि विश्व शक्तिहरु नेपाललाई खेल मैदान बनाइरहेका छन् ।
अर्थात् नेपालको सामथ्र्य खस्क्यो, कूटनीतिक ताकत समाप्त भयो । नेपाल खोक्रिदै गएको छ ।
अब राष्ट्रसंघको बैठकमा सहभागी हुन प्रधानमन्त्री अमेरिका जानेछन् । हुनसक्छ, भारतका प्रधानमन्त्रीले भेटै नदिउन् । वास्तै नगरुन् ।
राजनेता हुन ढाडमा हाड चाहिन्छ, क्षमता चाहिन्छ । राजनीति र कूटनीतिमा दक्षता चाहिन्छ । त्यस्तो दक्ष नेता भएनन् । चाकरलाई भेट दिएर समय किन खेर फालिरहन्छ र भारतले ?
बाघको अनुहार पर्दैमा बन बिरालो कहिल्यै बाघ हुँदैन भनेको यही हो ।
हाम्रा नेताहरु बाघ होइनन् । जसोतसो चुनाव जित्ने संसदमा गएर लुट्ने, नसक्नेलाई मनोनित गरिदिने, श्रीमती, छोरी, ज्वाई पोस्ने, सांसद बनाउने र बाँकी कार्यकर्ताले देश लुट्ने ? यो बनबिरालो चरित्र हो । जो चुनाव हार्दा पनि प्रधानमन्त्री खान्छन्, जनताले लत्याउँदा पनि जस्केलाबाट सांसद बन्छन्, मूल्य तिरेर सांसद किन्न पान्छन्, पैसामा संवैधानिक पदमा नियुक्ती लिन्छन् । लोकतन्त्र होइन लूटतन्त्र भनेको यही हो ।
सार्वभौमिक अधिकारका लागि दिल्ली सम्झौताको विरुद्ध ००७ सालमा डा. के. आई. सिंहले बिद्रोह गरेका हुन् । मातृकाप्रसाद कोइरालाका अनुसार नेपालको अनुमति नै नलिई दुईपल्ट भारतीय सेना नेपालमा पस्यो । भीमदत्तको हत्या भारतीय सेनाले गरेको हो । तिनै मातृकाले केही गर्न सकेनन् । भीमदत्तलाई मारेपछि भारतले कसैलाई नेपाली राष्ट्रवादको प्रतीक भएर उठ्नै दिएन । भीमदत्तपछि महेन्द्रले राष्ट्रवादी युद्ध लडे, अरु कसैले सकेनन् ।
नालापानीको युध्द लड्दा युध्द मैदानबाट गुञ्जिएको थियो ः ‘यो नेपाली शिर उचाली…’ भन्ने युद्धगीत । यो गीत लोकतन्त्रले प्रतिगामी सूचीमा राखेको छ, रेडियोमा बज्दैन । भारतको दास बनिसकेको नेपाली राजनीतिको मूलनीति भारत भक्ति हो ।
२०६३ सालदेखि क्यावात् प्रचण्ड, देश र जनताको ठूलो नेता भनेर प्रशंसा गरिन्थ्यो । उनले पनि नेपालको झण्डा छाडेर उही तिरङ्गा रङ्ग देखाए । कहिले उत्तर त कहिले पश्चिमतिर लहसिए । कुनै पनि पार्टीभित्र नेपालवाद बलियो देखिन्न । जो नेपालवादी छ, उसलाई मदन भण्डारी अथवा राजा वीरेन्द्रको नियतिमा पु¥याईन्छ भनेर पटक–पटक प्रचण्डले आफै अभिव्यक्ति दिएको सुनियो । यस्ता कायर पनि होनहार नेता भए, अहिले सडकछापे अवस्थामा पुगेका छन् ।
राष्ट्रका लागि स्वाभिमान भएको चारजना नेता पाउन गाह्रो भयो । नेता स्वाभिमानी नभएपछि राष्ट्र पराधीन हुनेरहेछ । बिस्तारवाद र साम्राज्यवाद सबैभन्दा बढी बिरोध हुने देश विश्वमै नेपाल होला । तिनै शक्तिको पोखरीमा बिहानीको मुख धुने र रातिको मुख चुठ्ने नेता भएको देश पनि नेपाल नै पहिलो हो । कस्तो दर्भाग्य ।
१८ वर्षमा प्रष्ट भयो– जनक्रान्ति, जनआन्दोलन यी सबै परिवर्तनहरु भारतकै उचाल्ने र पछार्ने रणनीति अन्तर्गतका परिघटना रहेछन् । नेपालमा भुँडीबादमात्र छ । खन्चुवाहरु खानकै लागि राजनीति गरिरहेका रहेछन् ।
२०१७ सालमा राजा महेन्द्र माटोमाथि उभिएका थिए, उनलाई पनि २०२८ सालमा भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले टेलिफोनबाट धम्क्याएर तर्साइयो र हर्टएटेकको सिकार हुनुप¥यो । यो रहस्य कीर्तिनिधि बिष्टले पनि नखोली गए । त्यसपछि राजा वीरेन्द्रले फुकी फुकी कदम चालेर स्वाभिमान जगाउँदै थिए, अन्ततः २०४६ सालमा एक झट्का खाएर पनि बाँचेका वीरेन्द्रलाई २०५८ सालमा दरवार हत्याकाण्ड मच्चाएर बंशै समाप्त पारियो । दोष नलागोस् भनेर खामोस खाएको भारतले जनयुद्धलाई जनआन्दोलनमा मिसाएर छुरा र चुपीबाट तरवार बनायो र २०६५ साल जेठ १५ गते राजतन्त्रलाई बली चढाइदियो ।
जनआन्दोलनबाट जन्मेका जति नेता छन्, सबै भिजेको परालखुट्टे लाग्छन् । जो छन्, देखिने भारतवादी छन्, नदेखिने भारतवादी छन् । वीपी छँदै जयप्रकाश नारायण भन्ने गर्थे– नेपाली नेताहरु किन दिल्ली धाउँछन्, दिल्लीलाई चाकरी गरेर दिल्लीमुखी बन्न लालायित हुन्छन् ? आश्चर्य लाग्छ ।
यस सम्बन्धमा बिजय जोली भन्ने भारतीय नेताले भनेका थिए– नेपालका नेताहरु नै गुहार माँग्छन् त हामीले के गर्ने ? सधैँ स्वतन्त्र रहेको नेपालका नेताहरुमा स्वतन्त्रता र स्वाधीनताको गौरव कहिल्यै देखिएन ।
यसकारण नेपाली माटो संकटमा छ । माटो बाँचे, नेपाली जाति बाँच्ने हो । नेपाली माटोले स्वाधीन नेता मागिरहेको छ । नेपाली माटोमाथि स्वदेशी सर्प र बिदेशी गोमनले डसेको धेरै भयो, देशलाई स्वाधीनता दिन कोही त भूमिपुत्र भएर जन्म ।


































