विपद्मा सम्वेदनहीन बन्यो सरकार
वि.सं.२०८१ असोज १६ बुधवार १४:४५
shares

राजन कार्की
दुई तिनको अतिवर्षा, बाढी पहिरोले अत्यासलाग्दो जनधनको क्षतिमात्र गरेन, राष्ट्रिय संरचनासमेत ध्वस्त पारिदियो । मौसम विभागको अग्रिम सूचना पाउँदा पाउँदै पनि राज्यले चाहिने पूर्व तैयारी गर्न सकेन । कतिपय ठाउँमा नागरिक बचाउ बचाउ भनेर चिच्याइरहे, गुहार मागिरहे, राज्य संवेदनहीन बनेर तमासा हेरिरह्यो ।
पार्टी, पार्टीनेता, जनप्रतिनिधि, समाजसेवीहरुसमेत समयमा उद्धार, राहतमा जुट्न सकेनन्, जसका कारण झनबढी क्षति हुनपुग्यो ।
अब समस्या के छ भने महाकारीको प्रकोप बढ्ने हो कि भन्ने खतरा बढेर गएको छ । स्वास्थ्यकर्मीहरु आत्तिन थालेका छन् । यद्यपि राज्य चन्दा उठाउने, बजेट छुट्याउने, राहतमा एकद्वार नीति लिनेजस्ता कोठे बैठकमा सिमित छ । जो शोकमा छन्, जो टुहुरा बनेका छन्, जो घाइते छन्, जो अझैपनि उद्धारको प्रतिक्षामा छन्, तिनका लागि सरकार सकृय भइसकेको छैन ।
राष्ट्रिय भाग्यरेखाका रुपमा रहेका सबै जिल्ला बाढीपहिरोले गर्दा बन्द, आंसिक चल्ने भएका छन् । कतिपय राजमार्ग खण्डित हुनपुगेका छन् । भूमाफियाले नदी किनारका जग्गा दर्ता, किनबेच र घर निर्माण गर्दा नदीले फेरि एकपल्ट आफ्नो मार्ग खोजेको छ । अझै पनि राज्य, नागरिक सचेत भएका छैनन् । हरेक दश दश वर्षमा आउने यस्ता प्राकृतिक विपत्तबाट अझे पनि राज्य चेतेको छैन । राज्यले गर्नुपर्नेजति तैयारी अझै थालेको छैन ।
जनआन्दोलनका समयमा राजा फालेपछि स्वर्ग बन्छ देश भन्नेहरुले राजा फाले, हिन्दुराष्ट्र फाले, संघीयता ल्याए, समानुपातिक ल्याए, राष्ट्रलाई भ्रष्टाचार र नैतिकहीनताको रछ्यान बनाइदिए र चरित्रहीन बनेपछि मान्छेमा के गर्न हुने, के नहुने भन्ने सीमा नै नहुने रहेछ र चितवनको ध्रुवे हात्तीले झैं राष्ट्रका विधि व्यवस्था, नीति सिद्धान्त, संविधान भताभङ्ग पार्ने काम भयो र विश्वमा उत्कृष्ठ भनिएको लोकतन्त्र नेपालमा अफाप सिद्ध हुनपुगेको छ ।
लोकतन्त्र बाहुबली, अपराध र नेतातन्त्र बन्यो, मत्स्य न्याय स्थापित गरायो र यो पद्धति रहिरहने हो भने राष्ट्रको अस्तित्व मटियामेट हुन लामो समय लाग्नेछैन । जब नेतृत्वमा मेरो देश, मेरो अस्तित्व भनेर गर्व गर्ने भाव विकास हुँदैन, तब देश नेपाल हाइटी हुनेरहेछ, असफल हुनेरहेछ ।
राजतन्त्रलाई जतिसुकै सत्तोसराप गरे पनि राजा महेन्द्रले बनाइदिएको संरचनासमेत बहुदल र लोकतन्त्रले उचित प्रयोगमा ल्याउन सकेन । राजतन्त्रले बनाएका संरचनालाई भ्रष्टाचार गर्ने साधन बनाइदिए । राजा महेन्द्र बिते, वीपी बिते तर ७५ वर्षको प्रजातान्त्रिक अभ्यासपछि पनि राजा महेन्द्र र वीपी कोइरालामात्र राजनेताका रूपमा चर्चित छन् र सकारात्मक, नकारात्मक जस्तो होस्, चर्चा यी दुईको छ र नेपाल रहेसम्म रहिरहनेछ किनकि आज पनि विश्लेषणको निथार यही छ– यी दुई १० वर्ष मिल्न सकेको भए नेपाल यसरी अस्तव्यस्त हुने थिएन । सधैं अल्पविकसित मुलुक भएर पनि रहनुपर्ने थिएन ।
यसरी समय समयमा कोरोना, भूकम्प, अतिवर्षा, बाढी पहिरोका कारण नेपाल अर्को १५ वर्ष अल्पविकसित कै रुपमा रहने देखिन्छ । नेतृत्वमा इच्छाशक्ति र विधिमा चल्ने चरित्र नभएपनि देश असफलताको भीरमा पुग्दो रहेछ, जुनसुकै बेला गुल्टिनसक्ने जोखिममा हुने रहेछ ।
राजतन्त्र फालेपछि राजाका नीतिहरु ओझेलमा परे । वीपी बिते, वीपीका शाश्वत नीतिहरू बिलाए । वीपीका उत्तराधिकारीहरूले वीपी धारणालाई कम्युनिष्टले देखाएको चकलेटी आकर्षणमा सेलाए । कांग्रेस छ, गुट र फुटमा छ र कांग्रेस छ, कम्युनिष्ट र कांग्रेसको अनुहार छुट्याउनै मुस्किल अवस्थामा छ । हरेक पार्टी भ्रष्टाचारमा मुछिएका छन्, बिबादित छन् ।
राजतन्त्र फालियो । त्यसपछि प्रजातन्त्र कति बलियो भयो, कुनै पार्टीले भन्न सक्दैनन् । हिन्दुधर्म किनारा लगाइयो, इसाईकरण बढ्यो, यसमा पनि कसैले जिम्मेवारी लिएनन् । संघीयताले के के न गर्छ भनेर फलाके, पार्टीका नेता कार्यकर्तालाई जागीर दिने थलो बन्यो, जनताका काँधमा करमाथि कर थोपर्ने र राजस्वलाई लूटको धन बनाउने कार्य भइरह्यो, भइरहेको छ । सिस्नो रोपेपछि फल्ने फुल्ने सिस्नो नै थियो, राष्ट्रवाद र प्रजातन्त्र कमजोर भयो । राष्ट्र असफल हुँदै गएको छ ।
राजतन्त्र र हिन्दुवादी, संघीयता बिरोधी एक हुननसक्दा लोकतन्त्र नामधारी लूटतन्त्र चलिरहेको छ । राजतन्त्र मारियो, कांग्रेसको प्रजातन्त्र कम्युनिष्टको चक्रव्यूहको ब्रह्मनालमा घिटीघिटी अवस्थामा पुग्यो । कांग्रेसको मुहारमा कम्युनिष्टको, कम्युनिष्टको मुहारमा कांग्रेसको मुखुण्डो देखिन्छ । ठूला मामाको त यो गति, सानामामाको कुन गति ? राजनीति अवसरवादको पोखरी बन्यो ।
प्रजातन्त्रवादी र राजतन्त्रवादी अझै निन्द्रामा छन् । कम्युनिष्ट भनिरहेकै छन्– ‘पुग्ने एकदलीय शासनमै हो’ भन्ने स्कूलिङ गरिरहेकै छन् र कम्युनिष्ट सत्ताको भाङ्मा लठ्ठिएर प्रजातन्त्रको चीरहरण गरिरहेकै छन् र बरू महाभारतमा कतै कतै दुर्योधन हच्किएको देखियो, लोकतन्त्रलाई नङ्ग्याउन र नाङ्गिन कांग्रेस, कम्युनिष्ट र अन्य दलले कुनै कसर बाँकी राखेनन् र कसैको पनि नीति र अनीतिमा कुनै भिन्नता देखिन्न र राष्ट्रवादको मन्त्र जपेर राष्ट्रमाथि बलात्कार गर्नु लोकतान्त्रिक रामनामी ओढेको राजनीतिको कमाल हो र संसद, सिंहदरवार र शीतल निवास, ओहदावाल र ठूला प्रशासकहरु दोहोरी साँझमा रमाएका छन् र जहाँ नशा छ, बेहोसी छ, चेत छैन, विवेक छैन, त्यहाँ हुने व्यभिचार हो । लोकतन्त्र मधुशालाभन्दा गए गुज्रेको अवस्थामा पुग्यो ।
२००७ सालमा राणा शासनको अन्त भयो । त्यसपछि अनेक परिवर्तन भए र २०१७ देखि २०२८ वीचमा बाहेक रचनाशील र सिर्जनाशील केही पनि हुन सकेन र राजा वीरेन्द्रले केही प्रयास गरे, ०४६ पछिका ३६ वर्ष भ्रष्टाचारमात्र भएका छन् र लिक्वान यु र महाथिरको सम्झना धेरै पटक गरियो, हरेक नेता बलेको सत्ताको शिखामा पुतली झुम्मिएजसरी झुम्मिरहे, चरित्रहीनता देखाइरहे । अहिले त चरित्रहीनताको पराकाष्ठा नै नाघेको छ ।
भ्रम चिरायु हुँदैन । बहुदल, जनयुद्ध र जनआन्दोलनले छर्नुसम्म भ्रम छ¥यो । लोकतन्त्रको १८ वर्षपछि पनि यी अवसरवादी नेताहरु भ्रमकै खेती गरिरहेका छन् ।
हिजो प्रचण्ड थिए, माओवादीका पछाडि माउरीजसरी लावालस्कर देखिन्थ्यो । ती दिन गए । एमाले र कांग्रेसका दिन पनि अस्ताचल पुगेका छन् । कुनै दलका नेता पनि खुलेआम जनताका सामु उभिन सक्दैनन् । किन ? किनकि नेतृत्व र पद्धतिप्रति जनताको आस्था र विश्वास मरिसक्यो । जनता नेतृत्वप्रति घृणामात्र गर्छन् । नेतृत्व घृणास्पद हुनु भनेको यो पद्धति असफल हुनु हो ।
नेतृत्वले इतिहासको यो घटना पढ्दा राम्रो हुनेछ– मुसोलिनीका प्रशंसकहरूको होस खुलेपछि मुसोलिनी र उनकी प्रेमिकालाई वीच बाटोमा उल्टो झुन्ड्याउने उनलाई देवता मान्नेहरू नै थिए र जो त्यो बाटो हिड्थ्यो, तिनीहरू मुसोलिनीलाई थु थु थुकेर हिड्थे र जसरी १९७५ मा सिक्किम भारतमा मिलाउने राष्ट्रघाती लेण्डुप दोर्जीलाई सिक्किमेहरूले देख्यो कि थु थु थुकेका थिए र यतिसम्मको घृणा सहेर लेण्डुप मरे ।
राजनीति गर्नेका लागि योभन्दा राम्रो उदाहरण के हुनसक्छ र ?
चर्चिलजस्ता बिख्यात नेताको पनि एउटा उदाहरण नेतृत्वले जान्दा राम्रो हुनेछ । गर्जने सिंह अर्थात् बिसौं शताब्दीका युगपुरूष विन्सटन चर्चिलले बोल्ने भनेपछि श्र्रोता र सहभागीहरूको व्यापक र उत्सुकतापूर्ण भीड हुने गथ्र्यो र एक दिनको विशेष कार्यक्रममा चर्चिलले बोल्नु थियो र ठूलो मैदानमा अटाइ नअटाई मान्छेहरू आएको देखेर प्रशंसकले प्रशंसा गरे– तपाईं साह्रै लोकप्रिय नेता हुनुहुन्छ र तपार्इंको भाषण सुन्नका लागि लाखौं मानिसहरू जम्मा भएका छन् ।
चर्चिल खिसिक्क हाँसे र प्रशंसाको प्रत्युत्तर दिए– यो भीडमा थोरै भाषण सुन्न र अत्यधिक मानिसहरू तमासा हेर्न आएका हुन् र यदि भोलि यही स्थानमा मलाई फाँसी दिने घोषणा गरियो भने योभन्दा ठूलो भीड देखेर तपाई अचम्मित नभए हुन्छ ।
नेपालका नेताहरुका लागि यो उदाहरण ठ्याक्कै मिल्छ । किनभने भीडमा हिड्ने नेतृत्वका दिन सकिए, अब भीडले लखेट्न थालिसकेका छन् । हेक्का रहोस् ।


































