अदालतको दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
वि.सं.२०८१ मंसिर ९ आइतवार १८:१४
shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन् ।
केन्द्रीय साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अनुसन्धान गर्न उनलाई थप १० दिन हिरासतमा राख्न अनुमति मागेको थियो । मंसिर ४ मा भक्तपुरबाट पक्राउ परेका प्रसाईँ विरुद्ध कम्तीमा ५ वटा कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ र संगठित अपराध मुद्दामा उनलाई अभियोजन गर्ने सरकारी तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको कसुरमा उनीविरुद्ध प्रहरीले लिखत किर्ते सम्बन्धी मुद्दा अगाडि बढाउने भएको छ । प्रधानमन्त्री ओलीले कम्बोडियाको एक टेलीकम कम्पनीमा लगानी गरेको भनेर फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
सो कागजात भुवन भुषालले अपलोड गरेका थिए । कम्बोडियामा बस्ने ईश्वर पोखरेल ‘सफल’सँग प्रसाईँले भिडियो कुराकानी गर्दै सो कागजात देखाएका थिए । प्रसाईँले अपलोड गरेको नागरिकताको फोटोकपी र प्रधानमन्त्रीको सक्कली नागरिकता मेल नखाएको अनुसन्धानमा संलग्न सीआईबीका अधिकृतहरू बताउँछन् ।भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा उनीविरुद्ध ‘आपराधिक लाभ लिन नहुने’ कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । धम्की दिनेहरूले प्रसाईँ नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानलाई चन्दा माग्ने गरेका छन् । सीआईबीले गरेको प्रारम्भिक अनुसन्धानमा भारतबाट मात्रै १४१ वटा कल आएको भेटिएको छ ।
त्यसरी फोन गर्नेहरूले भन्छन्, ‘म लरेन्स ग्याँङबाट हुँ, दुर्गा प्रसाईँले हिन्दु धर्म जोगाउन लडेको हुनाले उहाँलाई आर्थिक सहयोग गर्नुस् ।’ धम्की दिने समूह र दुर्गा प्रसाईंकाे बिचमा प्रहरीले ‘कनेक्सन’ खोजिरहेको छ ।प्रसाईँ नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको बैंक खाता र उनको आफ्नो व्यक्तिगत खातामा पनि शंकास्पद रकम जम्मा भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।राष्ट्रबैंकको फाइनान्सियल इन्फर्मेसन युनिट (एफआईयु)ले प्रसाईँ र उनका केही आफन्तहरूको खातामा शंकास्पद कारोबार भएको भन्दै अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको छ । सीआईबीका एसपी बोगटी भन्छन्, ‘राष्ट्र बैंकबाट पत्र आएको छ, हामी त्यसबारे पनि अनुसन्धान गर्दै छौँ ।’
प्रसाईँले विभिन्न बैंकबाट ६ अर्ब ऋण लिएको भेटिएको छ । तर, त्यस्तो ऋण सदुपयोग भएको वा नभएको बारेमा पनि प्रहरीले अनुसन्धान थालेको छ । ऋण रकम सदुपयोग नगरेको भेटिएमा राष्ट्रबैंक ऐन पनि आकर्षित हुने एसपी बोगटीले बताए । उनले भने, ‘प्रसाईंबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’यसअघि असोज ६ मा पनि प्रसाईँलाई प्रहरीले पक्राउ गरेको थियो । साइबर अपराध मुद्दामा त्यसबेला उनी धरौटीमा रिहा भए । करिब दुई महिनाको बिचमा उनी दोस्रो पटक पक्राउ परेका हुन् ।































