linktrix Long Ad
Salt Trading Long Ad

जिबी राई सहित १९ जना व्यक्तिहरू विरुद्ध मुद्धा दर्ता, रवि विरूद्ध आइतवार मुद्धा दर्ता हुने

1.01K
shares

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले बचत राखेको रकम हिनामिना आरोपमा सहकारी संचालकहरूविरूद्ध थप मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार जिल्ला अदालतमा सहकारी ठगीका १९ जना अभियुक्तविरूद्ध थप मुद्दा दायर गरेको हो। सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी राई, उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरूद्ध मुद्दा दर्ता गरिएको छ। पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरूङ विरूद्ध मुद्दा दर्ता भएको हो।

यसअघि सरकारी वकिलको कार्यालयले उनीहरूलाई सहकारी ठगीको अभियोग मात्र लगाएर मुद्दा दायर गरेको थियो।शुक्रबार लगाइएको थप अभियोगमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार बिगो र सजाय माग गरिएको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बताइन्।‘हामीले सहकारी ठगीको मुद्दामा थप अनुसन्धान गर्‍यौं। अनुसन्धान गर्दा फेला परेका प्रमाण र पुष्टि भएका कसुर अनुसार थप मुद्दा दायर गरेका छौं,’ उनले भनिन्।सहकारी ठगी गरेर र अवैध तरिकाले विभिन्न कम्पनीमा सहकारीको बचत रकमान्तर गरेर खर्च गरेकाले उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध ऐन आकर्षित भएको सरकारी वकिलको कार्यालयले जनाएको छ।

सहकारी ठगी अपराध गरेर कमाएको र उक्त अपराध गर्न संगठित रूपमा लागेकाले सम्पत्ति शुद्धीकरण र संगठित अपराध ऐन अनुसार थप मुद्दा लानुपरेको सरकारी वकिलको कार्यालयले जनाएको छ।शुक्रबार दर्ता भएको ऐन अनुसार उक्त कसुरमा जोडिएका सबै जनाबाट एकमुष्ट १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैया बिगो दाबी गरिएको जिल्ला न्यायाधिवक्ता काफ्लेले बताइन्।उनीहरूलाई ८ देखि १० वर्ष कैद सजाय माग दाबी गरेको पनि उनले बताइन्।‘बिगो अनुसार सजाय माग दाबी गरेका छौं, कानुनको दफा प्रयोग गरेर अधिकतम सजाय माग गरेको छौं,’ उनले भनिन् ।यसअघि उनीहरूलाई सहकारी ऐन अनुसार कारबाही गर्न २०८० असोज १९ गते मुद्दा दर्ता भइसकेको छ। अहिले उक्त मुद्दा जिल्ला अदालतमा विचाराधीन छ। त्यतिबेला उनीहरूविरूद्ध १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको भन्दै बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजाय माग गरिएको थियो।

सोही सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर हिनामिना गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, जिबी राइका साझेदार रामप्रसाद खनाल, लिला पछाई र कृष्ण गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐन अनुसार अभियोग पत्र आइतबार अदालतमा पेस गर्ने जिल्ला सरकारी वकिलको कार्यालयको तयारी छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports