रास्वपाका जिल्ला सभापति राई भाटभटेनी लुटपाटको आरोपमा पक्राउ
वि.सं.२०८१ चैत २१ बिहीवार ११:२५
shares

काठमाडौं । काठमाडौंमा चैत १५ गते दुर्गा प्रसाई नेतृत्वको राजावादी हिंसात्मक प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक जिल्ला सभापति संलग्न रहेको खुलेको छ । रास्वपाका खोटाङ जिल्ला सभापति डा. राजकुमार राई घटनामा संलग्न भएको पाइएपछि पक्राउ परेका हुन् ।
अमेरिकाबाट पीएचडी गरेका र काठमाडौंको बालकुमारीस्थित सीसीआरसी कलेजका निर्देशक समेत रहेका राईलाई सीसीटीभी फुटेजका आधारमा पहिचान गरिएको थियो ।सार्वजनिक भएको भिडियो फुटेजमा राईले कोटेश्वरको भाटभटेनीबाट ब्ल्याकलेबल र ब्लू लेबल जस्ता महंगा ब्रान्डका मदिरा चोरी गरिरहेको स्पष्ट देखिन्छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको विज्ञप्तिमा खोटाङको राउवाबेसी गाउँपालिका वडा नम्बर १ निवासी ६३ वर्षीय राजकुमार राईलाई पक्राउ गरिएको जानकारी दिइएको छ । प्रहरीका अनुसार, राईले लुटपाट गर्न मात्र नभई भीडलाई उत्तेजित पारेर भाटभटेनीमा लुटपाट गराउने काममा समेत संलग्न भएको देखिन्छ ।भ्रष्टाचार निर्मूल गर्ने शक्तिका रूपमा आफूलाई चिनाउँदै आएको पार्टीका जिल्ला सभापतिकै मदिरा चोरी गरिरहेको भिडियो र फोटो सार्वजनिक भएपछि पार्टीलाई ठूलो धक्का लागेको छ ।



































