जनप्रतिनिधि भएकाले नागरिकको सेवामा तल्लीन हुनुपर्छ : उपप्रमुख डंगोल
वि.सं.२०८१ चैत २१ बिहीवार १३:३३
shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं साढे तीन महिनापछि जिम्मेवारी सम्हाल्न पुगेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौँ महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिनु भन्दै एक महिना अघि पत्र पठाएको थियो । मन्त्रालयको पत्रपछि गुरागाईँ बिहीबार महानगरपालिका पुगेका हुन् ।गुरागाईं कार्यालय पुग्दा उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरू र कर्मचारीले स्वागत गरेका थिए । गुरागाईंलाई अवरोध गर्न मेयर साहले नगर प्रहरी परिचालन गरे पनि अवरोध छिचोल्दै गुरागाईं कार्यालय प्रवेश गरेका हुन् ।कार्यालय प्रवेशपछि गुरागाईं कार्यकक्षमा प्रवेश गर्न खोज्दा मेयर साह भने कार्यकक्षमा चाबी लगाएर बेपत्ता भएका थिए ।
गुरागाईँले कार्यकक्षमा प्रवेश गर्न रोक लगाएपछि बोर्ड बैठक हलमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरू सबैले बैठक बसेका थिए । अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले मेयर साहको चर्को आलोचना गरिन् । उपप्रमुख डंगोलले जनप्रतिनिधि भएकाले नागरिकको सेवामा तल्लीन हुनुपर्ने बताइन् । उनले हरेक घटनाक्रमबारे आफूहरू जानकार रहेको भन्दै मेयर साहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी पनि दिइन् ।‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनु भएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा झडपको अवस्था हुनु राम्रो होइन । कर्मचारी–कर्मचारीबिच लडाइँ हुनु पनि राम्रो होइन ।’उपप्रमुख डंगोलले प्रमुख प्रशासकीय अधिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको पनि बताइन् ।
‘त्यसैले उहाँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्छ । हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले दुःख पाएका छन् । क्यान्सर पीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ । अझै छानबिन गर्नुपर्ने भए गर्ने हो । तर, यो पीडामा राख्नु हुँदैन’, डंगोलको भनाइ छ ।उनले महानगरवासीको हित चाहने सबै एकजुट हुनुपर्ने पनि बताइन् । ‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । पहिला आजको विषय समाधान गर्छौ । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ’, डंगोलको भनाइ छ ।प्रवक्ता नविन मानन्धरलगायत सबै वडाध्यक्षले पनि मेयर साहको चर्को आलोचना गरेका थिए ।
नगर प्रहरी प्रमुख राजु पाण्डेलाई उपप्रमुख डंगोलले ताला किन लगाएको भनेर प्रश्न गर्दा उनले पाण्डेले मेयरको मौखिक आदेशमा लगाएको जवाफ दिएका थिए ।कार्यकारी अधिकृत कार्यालय प्रवेश गरेर कार्यकक्षमा पस्न खोजे पनि मेयर साहले उनको कार्य कक्षमा ताल लगाएर चाबी आफैँ बोकेर बेपत्ता भएका कारण केहीबेर प्रमुख प्रशासकीय अधिकृत बाहिरै बसेका थिए ।मेयर बालेन साहले लामो समयदेखि व्यक्तिगत ‘इगो’ का कारण प्रमुख प्रशासकीय अघिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर कर्मचारीहरूको नियमित तलब समेत रोक्का गरिदिएको भन्दै कर्मचारीहरू पनि असन्तुष्ट छन् ।




































