प्रतिनिधिसभाको आजको बैठकमा तीन सांसदले भारत–पाकिस्तान बिच भइरहेको गोलाबारीको विषय उठाए
वि.सं.२०८२ वैशाख २५ बिहीवार १२:३८
shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा तीन सांसदले भारत–पाकिस्तानबिच भइरहेको गोलाबारीको विषय उठाएका छन् । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरू रामहरि खतिवडा, मिना तामाङ र मुक्ताकुमारी यादवले भारत–पाकिस्तान तनावको प्रभाव नेपालमा पर्न सक्ने भन्दै बेलैमा ध्यान पुर्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद रामहरि खतिवडाले भारतले अहिले आतंकवादविरुद्ध लडाइ लडिरहेको भन्दै आतंकवादविरुद्धको लडाइमा नेपालले साथ दिनुपर्ने बताए । उनले भने, ‘आतंकवादविरुद्धको लडाइमा जुनसुकै देश लडेको भए पनि त्यसलाई नेपालले साथ दिनुपर्छ ।’सांसद मुक्ताकुमारी यादवले दुई देशबिच भइरहेको गोलाबारीमा त्यहाँ रहेका नेपालीहरू पर्न सक्ने भन्दै त्यसबारे सरकारको ध्यानाकर्षण गराइन् । त्यहाँ रहेका नेपालीलाई सुरक्षित स्थानमा ल्याउने वातावरण निर्माण गर्न कूटनीतिक पहल गर्न पनि उनले सरकारसँग आग्रह गरिन् । ‘भारत–पाकिस्तानबिच अहिले गोलाबारी चलिरहेको छ । त्यहाँ नेपालीहरू विभिन्न काममा गएर बसिरहेका छन् । उनीहरूलाई सुरक्षित स्थानमा ल्याउनेबारे सरकारले हिल गरोस्,’ सांसद यादवले भनिन् ।
त्यस्तै सांसद मिना तामाङले भारत–पाकिस्तान युद्धमा गोरखा सेना पहिलो चरणमा प्रयोग नगर्ने वातावरण निर्माण गर्न पहल गर्न सरकारसँग माग गरिन् । सांसद तामाङले पहिलो चरणमै र पहिला घेरामा गोरखा सैनिकको प्रयोग हुने सम्भावना रहेकाले प्रयोग नहुने वातावरण निर्माण गर्न कूटनीतिक पहल गर्न सरकारसँग उनले माग गरिन् । उनले भारत र पाकिस्तानबिच द्वन्द्व हुँदा त्यहाँ रहेका नेपालीको अवस्था के हुन्छ ? त्यसबारे सचेत रहन सरकारको ध्यानाकर्षण गराइन् ।



































