एसएसपीको नेतृत्वमा स्पेन प्रकरण छानबिन गर्न बन्यो समिति
वि.सं.२०८२ असार ३१ मंगलवार १४:२५
shares

काठमाडौँ । स्पेनको सेभिल्लामा सम्पन्न संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी गराउन भनेर नेपालबाट असम्बन्धितहरूलाई लगेको भनिएको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा समिति गठन गरिएको हो । समितिमा मानव बेचबिखन ब्युरोका एसपी रुगम कुँवर सहित ६ जना सदस्य छन् ।गृहमन्त्री रमेश लेखकको प्रहरीलाई सो घटना अनुसन्धान गर्ने जिम्मेवारी दिएसँगै समिति गठन गरिएको सीआईबीका एक जना उच्च अधिकृतले बताए ।
प्रधानमन्त्री केपी ओली सहभागी कार्यक्रममा असम्बन्धित व्यक्तिहरूलाई समेत बिचौलियाले कागजात बनाएर पठाएको भन्दै संघीय संसदमा सांसदहरुले प्रश्न उठाइरहेका छन् ।सेभिल्लामा ३० जुनदेखि २ जुलाईसम्म सम्मेलन चलेको थियो । त्यसमा सहभागी गराउन बिचौलियाहरूले रकम असुलेर केही व्यक्तिहरूलाई भिजिट भिसामा विदेश पठाएको आरोप छ ।




































