नेताहरुबाटै गलत भाष्यको प्रयोगले जनतामा निराशा !
वि.सं.२०८२ साउन १ बिहीवार ११:४६
shares

काठमाडौ । राजनीतिक दलहरुले जनतामा आशा जगाउन नसकेका हुनाले जनतामा निराशा छाएको प्रष्ट रुपमै देखिएको छ । राजनीतिक दलका नेताहरुले जनतामा आशा एवं भरोसा जगाउनुको बदला गलत भाष्य प्रयोग गर्ने गरेका हुनाले जनतामा दिनप्रतिदिन निराशा उत्पन्न भएको छ । विगत लामो समयदेखि मुलुक भ्रष्टाचारमा डुबेको र कुशासनको चक्रमा फस्दै गएकाले जनताले पाउनुपर्ने सेवा सुविधा समेत सहज रुपमा पाउन सकेका छैनन् ।
संघीय संसदको प्रमुख विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्राय प्रत्येक दिन दिने अभिव्यक्तिले समेत जनतामा निराशा बढ्दै गएको छ । राजनीतिज्ञहरुले जनतामा आशा एवं भरोसा जगाउने अभिव्यक्ति दिनुको बदला दाहालले आफ्नो नेतृत्वको सरकार गुम्दाको पिडा भुल्न सकेका छैनन् त्यही कारणले गर्दा उनी दिनप्रतिदिन गलत भाष्य प्रयोग गरेर जनतालाई निराशा बढाउने र आफ्नो स्वार्थ पूरा गर्ने कार्यमा व्यस्त रहेका छन् ।
गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीचमा भएको ७ बुँदे सहमति अनुसार नेकपा एमालेका अध्यक्ष रहेका केपी ओलीको नेतृत्वमा संयुक्त सरकार बनेको एकवर्ष पूरा भएको छ । यो एक वर्षको समयमा ओली सरकारले जनतामा आशा जगाउने केही कार्य गरेको भएपनि त्यस्ता कार्यहरुको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेका हुनाले त्यसको फाइदा विपक्षी दलहरुले उठाउँदै आएका छन् । पुष्पकमल दाहाल नेतृत्वको सरकार १८ महिना चलेको थियो ।
दाहालले २०७९ मा भएको निर्वाचनमा नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायतका दलहरुसँग गठबन्धन गरेका थिए । तर माओवादीले सोचेजस्तो परिणाम नआएपछि कांग्रेससँगको गठबन्धन टुटाएर दाहाल नेकपा एमालेका अध्यक्ष ओलीको शरणमा पुगेर प्रधानमन्त्री बन्न सफल भएका थिए । तर तिनै दाहालले एमालेलाई दुई महिना नपुग्दै धोका दिएर पुन नेपाली कांग्रेसकै समर्थनमा प्रधानमन्त्री रहन सफल भएका थिए । यसरी दाहालले निर्वाचनका बेला कांग्रेस लगायतका दलहरुसँग गरेको गठबन्धनलाई टुटाएर अर्को दलको सहयोगमा प्रधानमन्त्री बन्ने जुन रणनीति लिए त्यो अहिले दलहरुको लागि गलपासो सावित भएको छ ।
आफ्नो स्वार्थ पूरा गर्न संसदका दुवै ठुला दललाई धोका दिएका दालहाललाई अहिले नत कांग्रेस, नत एमालेले पत्याउन सकेका छन् । यसैलाई भनिन्छ लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तिन बल्ड्याङ भनेर ।
पछिल्लो समयमा ओली नेतृत्वको सरकारले पनि जनताले सोच अनुसारको कार्य गर्न सकेको छैन । विगतको पुष्पकमल दाहाल सरकारले लथालिङ्ग बनाएको आर्थिक अवस्था र कर्मचारीतन्त्रमा फैलाइएको विकृत्ति रोक्ने कार्यमा नै ओली सरकारको एकवर्षे कार्यकाल वितेको छ ।
ओली नेतृत्वको सरकारका केही मन्त्रीहरु भ्रष्टाचारको मामिलामा जोडिएका हुनाले अब त्यस्ता मन्त्रीहरुलाई तत्काल बर्खास्त गरेर र मुलुकलाई कुशासनको मार्गबाट सुशासनतर्फ लैजानुपर्ने टड्कारो आवश्यकता देखिएको छ । एमालेभित्र पनि पूर्वराष्ट्रपति विद्या भण्डारी पुनः राजनीतिमा सक्रिय हुने सन्देश दिइरहेकी हुनाले विपक्षी दलहरुले त्यसको फाइदा उठाउन सक्ने सम्भावना समेत देखिएकोले गर्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले एमालेलाई एक ढिक्का बनाएर अघि बढाउँदै जनतालाई आशा जगाउने र भरोसा दिने कार्य गर्नुपर्ने आवश्यकता अहिले टड्कारो रुपमा देखिएको छ ।



































